१२ माघ २०८२ सोमबार
image/svg+xml
समाज

नारी दिवस: नारी अधिकार, समानता र सशक्तीकरण

विश्व महिला मुक्ति आन्दोलनमा बेलायती महिला मेरी उत्सटिनिक्याप्टले सन् १७७९ मा सर्वप्रथम महिला अधिकारको कुरा उठाउँदै शासनसत्तामा सहभागिताको माग राखिन्। तत्पश्चात् पेरिसका गरिब श्रमिक महिलाहरूले सन् १७८७ मा गरिबीविरुद्धको जुलुस प्रदर्शन गरेर लुई सोह्रौंको दरबार घेरे।

सन् १८३० मा हल्यान्डमा कपडा उद्योगका महिला मजदुरहरूले महिला भेदभावको अन्त्य तथा समान ज्यालाका लागि संघर्ष गरे। फ्रान्सकी महिला नेतृ प्ल्वरा टिएटनले सन् १८४४ मा अन्तर्राष्ट्रिय श्रमिक संगठन कम्युनिस्ट लिगको गठन गरिन्। सन् १४४८ मा माक्र्स एगेंल्सद्वारा कम्युनिस्ट पार्टीको घोषणापत्र जारी गरेपश्चात् विश्व मजदुर आन्दोलनले गुणात्मक फड्को मार्‍यो।

उक्त मजदुर आन्दोलनले विश्व श्रमिक महिला वर्गलाई पनि स्वभावैले व्यापक प्रभाव पार्‍यो। त्यसपछि सन् १८४९ मा पाँच जना अमेरिकी महिलाहरूको नेतृत्वमा भएको गोष्ठीले पुरुषद्वारा हुने शोषणको अन्त्य, समान शिक्षा तथा समान मताधिकारको घोषणापत्र जारी गर्‍यो।

सन् १८५७ मा अमेरिकी सुती कपडा कारखानामा काम गर्ने श्रमिक महिलाहरूले क्लारा जेटकिनको नेतृत्वमा आठ घण्टे कार्य दिनका लागि हडताल गरेर पुँजीवादी सरकारलाई चुनौती दिए। सन् १८६५ मा मेन चेस्टरमा सर्वप्रथम महिला मताधिकार समिति गठन गरेपश्चात् सन् १८७६ मा जोनमिलले पन्ध्र सय महिलाहरूको हस्ताक्षरसहितको बिल पेस गरेर आन्दोलनलाई जारी राखे।

उक्त आन्दोलनले क्रमशः सशक्त रूप ग्रहण गर्दै जाँदा सन् १८९३ मा मात्र सर्वप्रथम न्युजल्यान्डका महिलाले मताधिकार प्राप्त गरे। ८ मार्च १८९७ मा श्रमिक महिलाहरूले उचित ज्याला र कार्यदिवसबारे न्युयोर्कमा भीषण आन्दोलन प्रदर्शन गरे। उपर्युक्त सबै आन्दोलनलाई तत्कालीन पुँजीवादी व्यवस्थाले तीव्र दमन गरेको थियो। तर पनि श्रमिक महिलाहरूले ८ मार्च १९०६ मा सर्वप्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलन गरेर श्रमिक महिला संघको स्थापना गरे। त्यसले पुँजीवादी पुरुषप्रधान समाजलाई अर्काे ठाडो चुनौती दियो।

 सर्वहारावादी महिला नेतृ क्लारा जेटकिनको नेतृत्वमा गठन भएको उक्त श्रमिक महिला संघले अन्तर्राष्ट्रिय स्तरमै महिला मताधिकारका लागि आन्दोलन गर्ने तथा महिला मुक्ति आन्दोलनलाई मात्र पुरुष वर्ग वा जातिविरुद्ध नलिएर समाजवादी आन्दोलनको एक महत्त्वपूर्ण र अभिन्न अंगका रूपमा लिई प्रतिक्रियावादी राज्यसत्ताविरुद्ध आन्दोलनलाई अघि बढाउनुपर्ने प्रस्ताव पारित गर्‍यो।

संयुक्त राज्य अमेरिको सिकागो सहरमा सन् १९०९ मा यिनै लक्ष्य बोकेर समाजवादी दिशातिर लम्केको आन्दोलन ऐतिहासिक आन्दोलन भयो। जसले तत्कालीन पितृसत्तामा आधारित शोषणयुक्त वर्गीय पुँजीवादी अमेरिकी सरकार नराम्रोसँग थर्कियो र चरम दमनमा उत्रियो। महिलाहरूले भने उक्त आन्दोलनमा सक्रिय सहभागी बनेर बलिदानीपूर्ण अथक साहसले दमनको प्रतिरोध गरिरहे। सन् १९१० मा दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलन भयो।

 उक्त सम्मेलनले आठ घण्टे कार्य दिवस, आर्थिक तथा राजनीतिक कार्यमा महिलाहरूको व्यापक सहभागिताको माग गर्नुका साथै सिकागो आन्दोलनमा दमन प्रतिरोधको ऐतिहासिकतालाई कायम राख्दै अघि बढाउने क्रममा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा सधैंभरि मनाउने निर्णय गर्‍यो।

आज विश्वभरिका श्रमिक महिलाले संघर्ष र बलिदानको ऐतिहासिक कथा बोकेर मनाउने ८ मार्चरूपी यो उत्सवले विश्वभरिका श्रमिक महिलालाई सर्वहारा वर्गको पक्षमा ल्याउने मुख्य कडीको काम गर्‍यो। यो दिन मजदुर वर्ग तथा श्रमिक महिला मुक्ति आन्दोलनको अपराजयता एवं सम्भावनाको प्रतीक बनेर आजसम्म पनि उत्तिकै सान्दर्भिक र औचित्यपूर्ण छ।

अन्तर्राष्ट्रिय स्तरमै महिला आन्दोलनलाई ८ मार्चको मर्म र भावनाअनुरूप अघि बढाउने क्रममा सन् १९१७ को समाजवादी अक्टोबर क्रान्तिमा रुसी महिलाहरूको व्यापक एवं सक्रिय सहभागिता रह्यो। यही दिन चिनियाँ महिलाहरूले पनि सन् १९३८ मा जापानी साम्राज्यवादविरुद्ध सीमा क्षेत्रीय महिला संघको गठन गरेर सुरु गरेको संघर्ष तथा ८ मार्च १९४३ मा श्रमिक महिलाहरूले तानाशाही मुसोलिनीविरुद्ध गरेको भव्य प्रदर्शनजस्ता महिला मुक्ति आन्दोलनले आफैंमा ऐतिहासिक महत्त्व राख्नुका साथै मुक्तिका लागि संघर्षको अपरिहार्य र त्यसको दिशा निर्दिष्ट पनि गर्छ।

यस वर्ष पनि ‘सबै महिला र किशोरीका लागि अधिकार, समानता र सशक्तीकरण’ नारा लिएर आएको २०२५ को अन्तर्राष्ट्रिय महिला दिवशले लैङ्गिक समानता र महिला सशक्तीकरणको महत्त्वपूर्ण सन्देश बोकेको छ। यसले समाजमा रहेका सबै महिला र किशोरीलाई समान अवसर, अधिकार र न्याय सुनिश्चित गर्नुपर्ने आवश्यकतालाई उजागर गरेको छ।

महिला र किशोरीहरूलाई शिक्षा, स्वास्थ्य सेवा, सम्पत्ति अधिकार, राजनीतिक सहभागिता र कानुनी सुरक्षाको ग्यारेन्टीजस्ता मानवीय अधिकार प्राप्त हुनुपर्छ। महिला अधिकार भनेको केवल कानुनी मान्यता मात्र होइन, व्यावहारिक रूपमा कार्यान्वयन गर्ने विषय पनि हो।  

लैङ्गिक समानता प्राप्त गर्न समाजका हरेक क्षेत्रमा महिलालाई पुरुषसरह अवसर प्रदान गर्नुपर्छ। शिक्षा, रोजगारी, पारिश्रमिक, नेतृत्व र समाजका अन्य संरचनामा समान पहुँच र सहभागिता सुनिश्चित गर्नु आवश्यक छ।

लैङ्गिक भेदभावको अन्त्य गरेर मात्र समतामूलक समाज निर्माण गर्न सकिन्छ। महिला र किशोरीहरूलाई सशक्त बनाउनु भनेको उनीहरूको आत्मनिर्भरता, निर्णय क्षमताको वृद्धि, आत्मविश्वास विकास र सामाजिक तथा आर्थिक रूपमा सबल बनाउनु हो।

महिला सशक्तीकरणले परिवार, समाज र राष्ट्रलाई समेत आर्थिक तथा सामाजिक रूपमा बलियो बनाउँछ। यस नाराले न्यायपूर्ण र समतामूलक भविष्य निर्माणका लागि सबैलाई जागरुक बनाउने उद्देश्य राख्छ।

यदि सबै महिला र किशोरीलाई अधिकार, समानता र सशक्तीकरणका साथ अघि बढ्न सक्ने वातावरण मिल्यो भने समग्र समाज नै समृद्ध बन्नेछ। यसप्रकार महिलामाथिको भेदभाव हटाउन तथा समानताका लागि महिलाले नै निरन्तर सामाजिक, सांस्कृतिक आन्दोलन जारी राख्नुपर्छ। आफ्नो हकका लागि नारी वर्ग स्वयं जागा भई अँध्यारो पाटो हटाउनैपर्छ। अहिलेको परिस्थितिको समाप्तिको दिशामा पनि नारीचेतना र अग्रगामिता अपरिहार्य छ।  

प्रकाशित: २४ फाल्गुन २०८१ ०८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App