सिंजा गाउँपालिकाको जोडुका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू आज पनि टिनको टहरामुनि सुकिला सपनाहरू बुनिरहेका छन्। घाम चर्कँदा तात्ने, चिसो बढ्दा ओस भित्रिने, हावाहुरी चल्दा उड्ने डर- यस्तो कक्षाकोठामा विद्यार्थीले कति राम्ररी पढ्न सक्लान् ?
विद्यालयमा प्रयाप्त भवन अभाव हुँदा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरू अस्थायी टहरामै पढ्न बाध्य छन्। हाल ६ वटा टहरामा १ सय १७ विद्यार्थी अध्ययन गरिरहेका छन्।

कक्षा ४ मा २४, कक्षा ५ मा २४, कक्षा ६ मा १५, कक्षा ७ मा १५, कक्षा ८ मा ३१ र कक्षा ९ मा १३ जना विद्यार्थी छन्। सुविधा सम्पन्न भवनमा भने नर्सरीदेखि कक्षा ३ र कक्षा १० का विद्यार्थी मात्र अध्ययनरत छन्।
गर्मी बढ्दै जाँदा टहरामा बस्न सकस भइरहेको शिक्षक तुलाराम बुढा बताउँछन्। ‘हिउँदमा त समस्या भएन, किनकि जाडो विदा हुन्छ। तर अहिले घामले टिन तातेर भित्र बस्नै मुस्किल छ,’ उनले भने, ‘हावाहुरी चल्दा टिन उड्ने डर हुन्छ, बालबालिकालाई चोट लाग्न सक्छ।’
विद्यालय व्यवस्थापन समितिले आफ्नै स्रोतसाधन प्रयोग गरी अस्थायी टहरा निर्माण गरेर पठनपाठनलाई निरन्तरता दिएको छ। तर, अध्यक्ष दलबहादुर बुढा भन्छन्, ‘टहराले समस्या समाधान गरेको छैन, बरु पढाइ झन् प्रभावित भएको छ।’
‘पढाउँदा होहल्ला, बुझ्न मुस्किल’
टहरामा एउटै ठाउँमा ६ वटा कक्षा सञ्चालन हुँदा सिकाइ प्रभावकारी हुन सकेको छैन। कक्षा ८ मा अध्ययनरत फुलमाया बुढाले भनिन्, ‘एउटा कक्षामा पढाएको अर्को कक्षामा ठ्याक्कै सुनिन्छ। दुई ठाउँमा एकसाथ पढाउँदा के हो, के होइन बुझ्न गाह्रो छ।’
विद्यालयमा कुल ३ सय विद्यार्थी अध्ययनरत छन्। गाउँपालिकाले चालु आर्थिक वर्षमा चार कोठे नयाँ भवन निर्माणका लागि २० लाख रुपैयाँ विनियोजन गरिसकेको वडाध्यक्ष लालबहादुर बुढाले जानकारी दिए।
‘तत्कालै भवन निर्माण सुरु भइसकेको छ,’ उनले भने, ‘छिट्टै विद्यार्थीहरूले सुविधा सम्पन्न कक्षामा पढ्न पाउनेछन्।’

विद्यालयमा खानेपानी र शौचालयको उचित व्यवस्था छ, तर घेरबारको अभावमा चौपाया सिधै कक्षासम्म पस्ने समस्या रहेको छ। अध्यक्ष बुढाले गुनासो गरे, ‘जाडोमा टिनबाट शीत चुहिन्छ, गर्मीमा जस्ता तातेर प्रचण्ड घाम लाग्छ। यस्तो अवस्थामा विद्यार्थीलाई पढाउन कति कठिन होला, सोच्नुस् त!’
प्लान नेपाल र पेस नेपाल जुम्लाको सहयोगमा विद्यालयमा चार कोठे भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको छ। अपांगमैत्री शौचालय र बालमैत्री खानेपानीको सुविधा पनि छ। तर, भवन अपुग हुँदा विद्यार्थीहरू अझै टहरामै पढ्न बाध्य छन्।
०७९ असोजमा अविरल वर्षाले पुरानो विद्यालय भवन ध्वस्त बनाएपछि विद्यालयलाई नयाँ स्थानमा सारिएको थियो। तर, अझै पर्याप्त संरचना बन्न नसक्दा विद्यार्थीको भविष्य टिनको टहरामै सीमित छ।
प्रकाशित: १९ फाल्गुन २०८१ २२:१९ सोमबार





