१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

विश्वयुद्ध लडेका १०२ वर्षीय दिलबहादुर राई सम्मानित

वीर गोर्खा वृद्ध राईलाई सम्मान गर्दै जयमानशेर राईलगायत। तस्बिर: महेश्वर/नागरिक

उदयपुरका १०२ वर्षीय पूर्वगोर्खा सैनिक सम्मानित भएका छन्। ‘गोर्खा सेमिट्रिज ट्रस्ट नेपाल’ले चौदण्डीगढी नगरपालिका–६ बेलटारमा बस्दै आएका विश्वयुद्धका लडाकु दिलबहादुर राईलाई सम्मान गरेको हो।

दोस्रो विश्वयुद्ध लडेका दिलबहादुरलाई प्रजातन्त्र दिवसको अवसर पारेर मंगलबार चौदण्डीगढी–६ स्थित पारुहाङ एकेडेमीको प्रांगणमा आयोजित एक कार्यक्रमबिच सम्मान गरिएको हो।

योद्धा राईलाई दोसल्ला, ताम्रपत्र र भोजपुरे खुकुरी प्रदान गर्दै सम्मान गरिएको हो। राईलाई ट्रस्टका अध्यक्ष महेन्द्र राई र स्थानीय समाजसेवी तथा पूर्वजिल्ला सदस्य जयमानशेर राईले दोसल्ला ओढाउनुका साथै कदरपत्र र मायाको चिनोका रूपमा भोजपुरे खुकुरी प्रदान गरेका थिए।

पूर्वबेलायती सेना गोर्खा पल्टन नं १–तजष्कचतथाष्खभ ४४/३ आरडी ७–४७५२ का जिउँदा योद्धा राई खोटाङको जन्तेढुंगा गाउँपालिका–६ निगालबासमा जन्मिएका हुन्। हाल उनी उदयपुरको चौदण्डीगढी–६ बेल्टारस्थित पुमा लाइनमा स्थायी बसोबास बस्दै आएका छन्।

सेमिट्रिज ट्रस्ट नेपालले प्रथम र दोस्रो विश्वयुद्ध लडेका तथा विभिन्न युद्धमा सहादत प्राप्त गर्ने सहिद तथा जीवितै रहेका वीर गोर्खालीहरूलाई बेलाबेलामा सम्मान गर्दै आएको छ। संस्थाले उनीहरूको सम्झनामा हरेक अप्रिल ५ का दिन पुर्खा दिवस पनि मनाउँदै आएको छ। सोही अवसर पारेर वीर योद्धा राईलाई संस्थाले सम्मान गरेको संस्थाका सदस्य मणि बान्तावा राईले बताए।

ट्रस्टका अध्यक्ष महेन्द्र राईका अनुसार सन् २०१८ मा स्थापना भएको संस्थाले झापा दमकका रामबहादुर लिम्बूसहित १० जनालाई सम्मान गरिसकेको छ। ट्रस्टले विश्व शान्ति, वीर गोर्खालीहरूको सम्मान र पुर्खा दिवसको अवसर पारेर वीर गोर्खाहरूलाई सम्मान गर्नुका साथै विभिन्न खेलकुदका कार्यक्रमहरू गर्दै आएको छ। जसअनुसार यस वर्ष खेलकुद प्रतियोगिता आयोजना गर्ने कार्यक्रमअन्तर्गत सुनसरीको धरानमा ‘गोर्खा ट्रेल लेजर रन’को तेस्रो संस्करण आयोजना गरिनेछ। सो प्रतियोगिता आगामी चैत २ गतेका लागि तय भएको पनि उनले बताए।  

प्रकाशित: १५ फाल्गुन २०८१ ०६:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App