काठमाडौं महानगरपालिका– १५ का ३३ विद्यालयका ६० विद्यार्थीहरु आज स्वयम्भूमा चित्र कोर्न भेला भए ।
उनीहरुलाई स्वयम्भू महोत्सव आयोजक समितिले ‘विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भू क्षेत्र’ शीर्षकमा प्रतियोगितात्मक चित्रकलामा सहभागी गराएको थियो । विद्यार्थीहरुले स्वयम्भूसहित उपत्यकाका दृश्य चित्रमा उतारे । चित्रमा उनीहरुले आफ्ना भावनासमेत पोखे । स्कुले विद्यार्थीहरुले आँखाले देखिरहेको दृश्य दुरुस्त चित्रमा कोरेको देखेर आगन्तुहरुलेसमेत चाख दिएर हेरे ।
बोधिसत्व स्कुल स्वयम्भूका विद्यार्थी सूर्यमान तामाङले स्वयम्भूको चित्र कोरे। कला सिर्जनामा रुचि राख्ने तामाङले स्वयम्भूमा आएर कला सिर्जना गर्न पाउँदा खुसी महसुस भएको बताए। कामना इन्टरनेशनल स्कुलकी आरोही प्रसाईं पनि चित्र बनाउने प्रतियोगितामा भाग लिन पाउँदा खुसी भए। उनले स्वयम्भूसहित धरहरालाई एउटै क्यान्भासमा उतारे।
आफ्नो चित्रकलामा धरहरा जोडेर उपत्यकाको मौलिकता देखाउन खोजेको उनले बताए। उपत्यकाका सम्पदा जोगाउन कलाको भूमिका महत्त्वपूर्ण हुने उनको बुझाइ छ ।
स्वयम्भू महोत्सवमा आयोजित उक्त चित्रकला प्रतियोगितालाई स्वर्णिम स्कुलका भगवान श्रेष्ठ र काठमाडौँ महानगरपालिका वडा नं १५ ले सहयोग गरेको हो । चित्रकला प्रतियोगितामा कक्षा ३ देखि ५ र कक्षा ६ देखि ८ गरी दुई समूहमा राखेर कला सिर्जना गराइएको थियो ।
प्रतियोगिताको संयोजन गर्नुभएका कलाकार दिवेश प्रधानले स्वयम्भू क्षेत्रभित्रका सभ्यता, संस्कृति र चाडपर्वलाई समावेश गर्ने गरी विषय दिएको र त्यही विषयमा विद्यार्थीले चित्र कोरेका बताए।
स्वयम्भू महोत्सव मूल आयोजक समितिका संयोजक तथा महानगरको वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोलले कला संस्कृतिको जगेर्नाका लागि विद्यालयस्तरीय प्रतियोगितात्मक कला सिर्जना कार्यक्रम गरिएको बताए।
आजको प्रतियोगितामा कक्षा ६ देखि ८ का विद्यार्थीको समूहतर्फ मोर्डन नेपाल स्कुलकी ग्रिन्ता पण्डित प्रथम, यूरो स्कुलकी अश्रेया शाक्य द्वितीय र डल्लु आवासीय स्कुलका स्वनिग श्रेष्ठ तृतीय भए। मैत्री स्कुल र शाङ्करी स्कुलका सियविन महर्जन र सौभित महर्जनले सान्त्वना स्थान प्राप्त गरे ।
त्यसैगरी कक्षा ३ देखि ५का विद्यार्थीतर्फ डल्लु आवासीय विद्यालयकी सरिना महर्जन प्रथम, ईश्वर आधारभूत विद्यालयकी अनिशा परियार द्वितीय र दिव्यज्ञान माविका जष्टिन कार्की तृतीय भए । त्यसैगरी फ्यूचर स्टार स्कुल र विजेश्वर ज्ञान मन्दिर सैनिक विद्यालयका जोवा तामाङ र युनिका भुजेलले सान्त्वना स्थान प्राप्त गरे ।
यसअघि महोत्सवकै अवसरमा यहाँ २० भन्दा बढी कलाकार सहभागी भएर कला कार्यशाला आयोजना गरिएको थियो । ती कार्यशालामा बनाइएका सम्पदाका कलाहरु अहिले पनि महोत्सवमा प्रदर्शन जारी छ । यही फागुन १७ गतेसम्म महोत्सव चल्ने छ ।
प्रकाशित: १४ फाल्गुन २०८१ १७:५८ बुधबार





