इलाम नगरपालिका–४, जस्बिरेस्थित जस्बिरे चिया उद्योगमा आगलागी हुँदा आठ करोड मूल्य बराबरको क्षति भएको छ । पीडितका अनुसार चार करोडको अर्ग्यानिक अर्थाेडक्स तयारी चिया र त्यति नै मूल्यको भौतिक संरचना आगोले नष्ट गरेको हो ।
नेपालकै ‘बेस्ट टि मेकर’ सरद सुब्बा र व्यवसायी गृष्म सुब्बाले सञ्चालन गरिरहेको उद्योगमा गए राति साढे ९ बजेतिर विद्युत् सर्ट भई आगो लागेको थियो । बिहान साढे ४ बजेतिरमात्र आगो नियन्त्रणमा आउँदा उद्योग पूर्ण रूपमा जलेको पीडित सरदले बताए ।
तेस्रो मुलुक निर्यात हुने गरेको उच्च गुणस्तरको अर्ग्यानिक चियासमेत यही उद्योगको एक भागमा भण्डारण गरिएको थियो । ‘चियाको सुइरो मात्रबाट बनेको धेरै तयारी चिया बेच्न बाँकी नै थियो,’ सञ्चालक सरदले भने, ‘चार करोड मूल्य पर्ने तयारी चिया नै खरानी भएको छ ।’ त्यसबाहेक उद्योगका मेसिन, फर्निचर, कम्प्युटरलगायत सबै खाले बहुमूल्य उपकरण जलेका छन् ।
सरद साँझसम्म उद्योगमै थिए । उनी घर फर्किने बेला एक्कासि ठूलो आवाज आयो । पल्लोपट्टि गएर हेर्दा आगो निकै फैलिइसकेको आफूले देखेको उनले सुनाए । ‘मैले देख्दा आगो निकै ठूलो भइसकेको रहेछ, नजिकै रहेको बाल्टीको पानी खन्याएँ, हारगुहार गरेँ,’ उनले भने, ‘सहयोगीहरू आउँदा निकै क्षति भइसकेको थियो ।’ आगो नियन्त्रण गर्नेक्रममा सरदको अनुहार आधा जलेको छ । उनी घाइते छन् ।

आगो निभाउन करिब सात किलोमिटरको इलाम बजार र देउमाई नगरपालिकाबाट वारुणयन्त्र घटनास्थल पुगेका थिए । तर, पुग्नेबेलामा बाटो साँघुरो भएका कारण वारुणयन्त्रले समयमै काम गर्न सकेको थिएन । ‘वारुणयन्त्र त सदरमुकामबाट समयमै आएको हो तर क्षति निकै भइसकेको थियो,’ पीडित गृष्मले भने, ‘स्थानीयले पनि निकै ठूलो सहयोग गर्दागर्दै क्षतिबाट जोगाउन नसकिएको हो ।’
बिहान घटनास्थल पुगेका इलाम नगरपालिकाका मेयर केदार थापाले विश्वमा नेपालकै नाम कमाएको यहाँको करोडौँ मूल्यको अर्ग्यानिक तयारी चिया सखाप भएको बताए । ‘यो क्षति एउटा उद्योगको मात्रै क्षति होइन,’ उनले नागरिकन्युजसँग भने, ‘यो उद्योगसँग सयौँ किसानको रोजीरोटी गाँसिएको थियो, धेरै कामदारले प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी पाएका थिए ।’ मेयर थापाले स्थानीय सरकारले पीडित उद्यमीलाई पुनः पहिलेकै अवस्थामा फर्किन प्रोत्साहनका लागि नगरले साथ दिने बताए ।
उद्यमी सरद सुब्बा निकै अनुभवी र सिपालु चिया प्राविधिक मानिन्छन् । केही महिनाअघि काठमाडौंमा आयोजित ‘नेपाल टी च्यालेन्ज–२०२४’ मा नेपालकै ‘बेस्ट टि मेकर’समेत घोषित भएका थिए । उद्योगमा ‘स्पेसल टी’मात्रै उत्पादन हुन्थ्यो । यहाँ सुनकेसरी, रेडपान्डा, कोठीडाँडा ब्युटीलगायत नामका ३५ भन्दा बढी प्रकारका अर्ग्यानिक अर्थाेडक्स चिया उत्पादन हुने गरेका थिए । यहाँ उत्पादित चिया नेदरल्यान्ड, अमेरिका, डेनमार्क, फ्रान्सलगायत देशमा निर्यात हुन्थ्यो भने माग धान्न नसकिएको सुब्बाले बताएका थिए । उद्योगले वार्षिक ३० हजार किलोसम्म तयारी चिया उत्पादन गर्ने गरेको थियो ।
प्रकाशित: १४ फाल्गुन २०८१ १३:१३ बुधबार





