१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ७:५२ पूर्वाह्न
समाज

आज महाशिवरात्रि

यस वर्षको महाशिवरात्रिका अवसरमा अराध्यदेव भगवान् पशुपतिनाथको मन्दिर परिसरमा साधुसन्त र भक्तजनको चहलपहल बढेको छ। बुधबार (आज) परेको महाशिवरात्रि पर्व मनाउन विशेष गरी भारतबाट दर्शनार्थी आउने क्रम सोमबारदेखि नै सुरु भएको थियो।

नागरिककर्मी पशुपतिनाथ मन्दिरपरिसर पुग्दा भारतीय दर्शनार्थी प्रयागराज महाकुम्भ स्नान गरी जल चढाउन पशुपतिनाथ आएका भेटिए। उनीहरू भारतका विभिन्न प्रान्तबाट पशुपतिमा महाशिवरात्रिको अवसर पारी मंगलबारै पूजा र दर्शन गर्न आएका थिए। मन्दिर परिसरको भित्र र बाहिर साधुसन्त पनि थरीथरीका भेटिए। कोही भक्तजनसँग दक्षिणा माग्न रस्साकस्सी गरिरहेका थिए भने नागा बाबाहरू आफूले पाएको भोजन तथा फलफूललगायत आफूसँग भएका चिजबिज भक्तजनलाई प्रसादका रूपमा बाँडिरहेका थिए।

कोलकाताकी सुनिता अधिकारी परिवारसहित पशुपतिमा जल चढाउन मंगलबारै आइपुगेकी थिइन्। ‘हामी परिवारसहित प्रयागराज महाकुम्भ स्नान गरी पशुपतिनाथमा गंगाजल अर्पण गर्न आएका हौं,’ सुनिताले भनिन्, ‘पशुपतिनाथ मन्दिरमा प्रयागराजको जल चढाए मात्र धार्मिक कर्म पूरा हुने विश्वास रहेकाले हामी पशुपतिनाथमा जल अर्पण गर्न आएका हौं।’

पटनाका बाबुलाल यादव पनि मंगलबार नै पत्नी र आमाबुवासहित पशुपतिमा दर्शन गर्न आएका भेटिए। ‘आमाले महाकुम्भमा डुबुल्की मारेपछि काठमाडौंको पशुपतिनाथको दर्शन नगरी धार्मिक यात्रा पूरा नहुने भन्नुभयो,’ बाबुलालले नागरिसँग भने, ‘मलाई त थाहा थिएन। आमाको जिद्दीले पनि पशुपतिनाथमा जल चढाउन आएका हौं।

यता कोषले साधुसन्त र नागाबाबाहरूका लागि मन्दिरभित्रै खानेबस्ने र धुनी ताप्ने व्यवस्था गरिदिएको छ। भोजनको व्यवस्थामा अन्नपूर्ण भण्डार सरिक भएको छ भने मन्दिरबाहिर रहेका साधुसन्त र भक्तजनका लागि निःशुल्क भोजनको व्यवस्थापन विभिन्न संघसंस्थाले गरिदिएको कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताए।

उनले यसपटक पशुपतिमा एक दशकयताकै सबैभन्दा धेरै दर्शनार्थी आउने अनुमान गरिएको दाबी गरे। ‘वैदिक सनातन रीतिथिति, संस्कार, संस्कृति तथा परम्पराका रूपमा मनाइने विभिन्न पर्वमध्ये महाशिवरात्रिले विशेष महत्त्व बोकेको छ,’ सदस्य सचिव थापाले भने, ‘यसकारण नेपालका मात्र नभएर विश्वका सनातनी हिन्दुहरू महाशिवरात्रिमा पशुपतिनाथ पूजा गर्न आउने हुन्। यसपटक भारतको प्रयागराज महाकुम्भका कारण संख्या बढ्छ। लगभग १० लाखमाथि दर्शनार्थी आउने अनुमान छ भने चार हजार बढी साधुसन्त आउनेछन्,’ उनले भने, ‘दर्शनलाई सहज बनाउन मंगलबार राति २ बजेदेखि मन्दिर दर्शन गर्ने व्यवस्था गरिएको छ भने भुवनेश्वरी चोक र दक्षिण गेटमा अस्थायी पुलको व्यवस्था गरिएको छ।’

पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा फूलमाला र बत्ती सजावटको कार्य मंगलबार साँझदेखि सुरु गरेको छ। बत्ती र फूलमालाको सजावट दाता परिचालनबाट मंगलबार रात्रिको समयमा मात्र गरिने उनले जनाए। ‘यसपटक भारतबाहेक भुटान, बाङ्लादेश, मलेसिया, म्यानमार र बंगलादेशबाट हिन्दु दर्शनार्थी पशुपतिनाथको दर्शन गर्न आउने निश्चित गरेका छन्,’ सदस्य सचिव थापाले भने, ‘पर्वलाई थप सुरक्षित र व्यवस्थित गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र अनुसन्धान ब्युरो विभागका प्रहरी टोली सुरक्षाका लागि परिचालन गरिएको छ।’

भगवान् पशुपतिनाथको शिरमालाको महत्त्व

श्री राजराजेश्वरी निर्मल अखडाका महन्थ स्वामी गोकुल आनन्दका अनुसार भगवान् पशुपतिनाथको मूल शिरमाला एवं श्रीयन्त्रको रूपमा दैनिक चढाइने फूलको शिरमाला पाँच सय आठ वर्षदेखि श्री राजराजेश्वरी निर्मल अखडाबाट पारम्परिक रूपमा बनाएर पठाउने गरिन्छ।

यसैगरी दैनिक २२ तोला चन्दन घोटेर विशेष रूपमा पशुपतिनाथमा मूल भट्टले श्रीयन्त्र तयार गर्छन्। ‘यो सेवा विगत ३० पुस्तादेखि उदासिन सम्प्रदायका साधुहरूले दिँदै आउनुभएको छ,’ महन्थ आनन्दले भने, ‘राजराजेश्वरी निर्मल अखडा भूमिसुधार मन्त्रालयअन्तर्गत गुठी संस्थानअन्तर्गत महन्थ नियुक्ति हुने व्यवस्था छ। म ३०औं पुस्ताको रूपमा नियुक्त भएको हुँ। पाँच वर्षको कार्यकालका लागि नियुक्त भएका महन्थले दैनिक फूलको शिरमाला तयार गरी साढे नौ बजे पशुपतिनाथको चरणमा अर्पण गर्ने परम्परा नै छ।’

‘त्यहाँको पूजाको क्रम सकेपछि साढे १२ बजे पशुपतिनाथको शिरमा उक्त शिरमाला चढाइन्छ। यो श्रीयन्त्रको फूलको माला २१ घण्टा भगवान् पशुपतिनाथको शिरमा शोभायमान हुन्छ। दोस्रो दिन जलाभिषेक हुुनुभन्दा पहिला श्री मूल भट्टले शिवलिङ्गबाट शिरमाला निकाल्नुहुन्छ। हरहर महादेव भन्दै जल छर्किनुहुन्छ। यसको यही महिमा हो। यसको ठूलो इतिहास छ।’

श्री भनेको सम्पाद ऐश्वर्य चराचर जगतको भैरव पशुपतिनाथको शिरमा हुन्छ। श्रीयन्त्रको पुजाको क्रममा सबै पशुपतिनाथमा चढाइने सबै फूलहरू श्री निर्मल अखडाबाटै आउँछ।

प्रधानमन्त्री पशुपतिमा

प्रधानमन्त्री केपी शर्मा ओलीले महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा मंगलबार साँझ पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गरेका छन्। प्रधानमन्त्री ओलीले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रिको व्यवस्थापन तयारीबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिई पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाई सहज रूपमा भक्तजनको दर्शनको व्यवस्था मिलाउन निर्देशन दिए।

प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुपतिनाथ मन्दिर पुगेका थिए।

हिन्दु धर्मावलम्बीका आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा दर्शनार्थीका रूपमा प्रधानमन्त्री ओलीलाई पाउँदा मन्दिरपरिसरमा रहेका सर्वसाधारण भक्तजनले प्रशन्नता र उत्सुकता व्यक्त गरेका थिए। काठमाडौं जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी यही फागुन १२ गतेदेखि १५ गतेसम्म पशुपतिनाथ मन्दिरको चार किल्लाभित्र माछामासु, मदिरा तथा नसालुपदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न निषेध गरेको छ।

प्रकाशित: १४ फाल्गुन २०८१ ०६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App