भारतको प्रयागराजमा चलिरहेको ४५ दिने महाकुम्भको सकारात्मक प्रभाव महाशिवरात्रि पर्वमा देखिने भएको छ। सनातनी हिन्दुहरूको महान् पर्व महाशिवरात्रिको रौनक विगतका वर्षभन्दा यस वर्ष पशुपति मन्दिर क्षेत्रमा देखिन थालेको छ। भारतमा चलिरहेको महाकुम्भका दर्शनार्थी नेपालमा महाशिवरात्रि पर्वको अवसर पारेर अराध्यदेव भगवान् पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने भएकाले यस पटकको महाशिवरात्रिमा भक्तजन मात्र होइन, साधुसन्त पनि अत्यधिक बढ्ने अनुमान गरिएको छ।
पशुपति क्षेत्र विकास कोषले गरेको परिषद् सदस्य एवं प्रचारप्रसार तथा साजसज्जा व्यवस्था उपसमितिका संयोजक राजुकुमार खत्रीले भने, ‘सोमबार एकादशीका दिन पारेर नागा बाबाहरूको प्रवेश देखेर हामी अचम्ममा पर्यौं। किनभने गत वर्षको तुलनामा यसपटक धेरै संख्यामा साधुसन्त आउनुभएको छ।’
नागाबाबा मात्र करिब सात सय बढी पशुपति क्षेत्रमा आइसकेको सदस्य खत्रीले बताए। ‘अन्य साधुसन्त गरी सोमबारसम्ममा मन्दिर परिसरमा करिब २५ सय साधुसन्त आइपुग्नुभएको छ भने थप १५ सय आउने अनुमान छ,’ उनले भने। महाशिवरात्रि पर्वको अवसरमा करिब चार हजार साधुसन्त आउने कोषको अनुमान छ। ‘यति मात्र होइन,
प्रयागराजको महाकुम्भमा डुबुल्की मारेका भक्तजन उतैबाट जल बोकेर पशुपतिनाथ मन्दिरमा चढाउन आउनेको लाइनै लागेको छ। प्रयागमा स्नान गरी त्यहाँको जल पशुपतिमा चढाए तीर्थयात्राको पूर्ण फल प्राप्त हुने जनविश्वास रहेको पाइयो,’ उनले भने, ‘यसकारण पनि यसपटक पशुपति क्षेत्रमा मेला भर्न आउनेको संख्या प्रयागराज महाकुम्भले उल्लेख्य बढाउने कोषको अनुमान हो। यस पटक करिब १० लाख दर्शनार्थी मेला भर्न आउने हाम्रो अनुमान छ।’
अहिले पनि प्रयागराज महाकुम्भबाट स्नान गरी नेपालको पशुपति क्षेत्रमा जल चढाउन आउने भारतीय भक्तजन बढेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए। पर्वको रौनक अन्य वर्षको भन्दा थप बढ्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ। फागुन १४ गते बुधबारको दिन परेको यस पर्वका लागि अन्य वर्षको भन्दा साधुसन्त पनि बढ्ने अनुमान सोमबारको साधुसन्तको मन्दिर परिसरमा भएको प्रवेशले देखाएको उनको भनाइ छ।
१८ वर्ष उमेरमाथिका मात्र स्वयंसेवक
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्व सभ्य र मर्यादित बनाउन यस पटक विशेष गरी स्वयंसेवकको व्यवस्थापनको सवालमा जोड दिएको छ। किनभने मन्दिरमा भक्तजनलाई सहज र सरल रूपमा दर्शन गर्न सक्ने वातावरण तयार पार्न स्वयंसेवकको मुख्य भूमिका हुने भएकाले विगतको भन्दा केही फरक गर्न खोजिएको प्रवक्ता अधिकारीले बताए।
यस पटक स्वयंसेवकको व्यवस्थापनमा १८ वर्ष उमेर हद कायम गरिएको छ। ‘गत वर्षसम्म स्काउटले विद्यालय स्तरका बालबालिकालाई स्वयंसेवक बनाउँदा मेला अव्यवस्थित भएको अनुभव गरिएको छ,’ प्रवक्ता अधिकारीले भने, ‘बालबालिका उमेरका स्वयंसेवकले भक्तजनहरूसँग गर्ने अभद्र व्यवहारबारे गुनासो पनि धेरै आएकाले कोषले यस पटक शिवरात्रिमा १८ वर्ष उमेर पुगेका र सोभन्दा माथिका उमेरकालाई मात्र स्वयंसेवक बनाउने निर्देशिका जारी गरिसकेको छ। यसैअनुसार संघसंस्थालाई सूचना प्रवाह पनि गरिएको छ।’
यस पटक मलेसियाबाट २० हिन्दु भक्तजनले महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिरमा पूजा गराउने भएको कोषले जानकारी दिएको छ। कोषका अनुसार यस पटक चार हजार स्वयंसेवकले मेला व्यवस्थापना गर्नेछन्। मेलालाई सुरक्षित गर्न मेला अवधिभर नेपाल प्रहरी, सशास्त्र प्रहरी र अनुसन्धान ब्युरोका प्रहरी गरी कुल सात हजार सुरक्षाकर्मी खटिनेछन्।
पर्व व्यवस्थापन खर्च डेढ करोड
यस वर्ष पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्व व्यवस्थापनपका लागि डेढ करोड रकम छुट्याएको कोषाध्यक्ष नारायण सुवेदीले बताए। उनका अनुसार पर्व अवधिभरि पर्व व्यवस्थापनका लागि गठन गरिएका १० विभिन्न उपसमिति र कोषका पाँच महाशाखाले गरेको खर्चको विवरण पर्व सकिएको १५ दिनभित्र सार्वजनिक गरिनेछ। ‘महाशिवरात्रि पर्व व्यवस्थापनको खर्च १५ दिनभित्र सार्वजनिक गरिनेछ। आम्दानी पनि तत्काल सार्वजनिक गर्ने योजना तय गरिएको छ,’ कोषाध्यक्ष सुवेदीले भने।
मानका लागि जम्बो मूल समारोह समिति
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा यसपटक २५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। गत वर्ष ५० सदस्यीय मूल समारोह समिति गठन गरेर पनि व्यवस्थित रूपमा महाशिवरात्रि पर्व सम्पन्न गरेको उदाहारण छ। तर पनि यस पटक मूल समारोह समितिवको कार्ड भिर्ने र आफ्नो मानका लागि मूल समारोह समितिले बस्नेहरू देशका उच्च ओहोदाकै बढी रहेको कोष स्रोतले बतायो। ‘महाशिवरात्रि व्यवस्थापनमा कहिल्यै मूलसमारोह समितिका कुनै सदस्यले काम गर्नुहुन्न तर मूलसमारोह समितिको कार्ड भिरेर मान देखाएर हिँड्नुहुन्छ। हामीले यो रोक्न खोज्दा पनि उच्च निकायले मानेन,’ स्रोतले भन्यो, ‘काम गर्नेले गरिहाल्छ। मूल समारोहमा सम्बन्धित मन्त्री, राज्यमन्त्री अनिवार्य हुने नै भयो। यसबाहेक पनि अन्य सरकारी निकायका पदाधिकारी, सेवा प्रदायक संस्थाका पहुँचवाला प्रनितिधिलगायत अनावश्यक जम्बो मूल समारोह समिति बनाइएको छ। यसले पासको दुरूपयोग हुन्छ।’
सम्भावित सवारीसाधन चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकमा समेत ट्राफिक प्रहरी परिचालन गरिएको छ तर आफ्नो सवारीसाधन सुरक्षित स्थानमा राखिदिन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
शिवरात्रि पर्वको अवधिभर भक्तजनलाई सरल एवं सह जरूपमा आवागमनको व्यवस्था मिलाउन प्रहरी नायब उपरीक्षकको कमान्डमा कमान्ड सेन्टर राखिएको छ। जसमा ८९० जना ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिएको प्रवक्ता अधिकारीले बताए। उनका अुनसार आवश्यकताअनुसार ट्राफिक चापलाई ध्यानमा राख्दै थप प्रहरीसमेत खटाउने ट्राफिक कार्यलयसँग सहमति भएको छ।
माहाशिवरात्रिको तयारी गर्न कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। जसमा मूल समितिअन्तर्गत रहने गरी महाशिवरात्रिको तयारीका लागि १० वटा उपसमिति पनि गठन गरिएको छ।
परिषद् सदस्य खत्रीका अनुसार स्वयंसेवक परिचालन नेपाल स्काउट, लायन्स क्लब, विश्वहिन्दु युवा परिषद् आदि स्वयंसेवी संस्थामार्फत पर्याप्त संख्यामा परिचालित हुनेछन्।
काँच र प्लास्टिक प्रतिबन्ध
मेला अवधिभर भोजन वितरण गर्ने संघसंस्थालाई काँच र प्लास्टिकका गिलास, कप तथा प्लेट प्रयोगमा कोषले प्रतिबन्ध लगाएको छ। यस्ता संस्थाले कागज र पात आदिबाट बनेका कप, प्लेट मात्रै प्रयोग गर्न पाउनेछन्। वनकाली, तिलगंगा तथा उत्तरी भागमा विविध २५ वटा संघसंस्थामार्फत निःशुल्क आवास, सात्विक भोजन, चिया, पानी वितरणको व्यवस्था मिलाइएको छ भने मेला अवधिभर भक्तजनहरूको शौचका लागि पर्याप्त मात्रामा घुम्ती र अस्थायी शौचालयको व्यवस्था गरेको कोषले जनाएको छ।
मांस, मदिरा, गाँजा र भाङ बन्देज
पर्व अवधिभर पवित्र पाशुपत क्षेत्रमा कानुनद्वारा निषेधित क्रियाकलाप नगर्न/नगराउन सबैमा कोषले आग्रह गरेको छ। मांस, मदिरा, गाँजा, भाङ, चरेस आदिको भण्डारण तथा विक्रीवितरण तथा ओसारपसारमा कडा निर्देशन दिएको छ।
प्रकाशित: १३ फाल्गुन २०८१ १०:४५ मंगलबार