१० माघ २०८२ शनिबार
image/svg+xml
समाज

मामाङ्खे–याङपाङ सडक कालोपत्रेको काम सुरु

ताप्लेजुङका ६१ वटा वडामध्ये सडक सञ्जालले सबैभन्दा पछि जोडिएको सिरिजङ्गा गाउँपालिका वडा नं ६ मामाङ्खे क्षेत्रमा सडक पक्की हुन थालेको छ ।  

मामाङ्खेको खाक्सेवादेखि पेदाङको याङपाङसम्म आइपुग्ने साढेसात किलोमिटर सडक कालोपत्रे हुन थालेको हो । सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूले मामाङ्खेको खाक्सेवादेखि सडक कालोपत्रे गर्ने कार्य सुरु भएको जानकारी दिए । उनका अनुसार अहिले करिव ६ सय मिटर सडक कालोपत्रे भइसकेको छ ।

सिरिजङ्गा गाउँपालिकाको पेदाङ याङपाङबाट मामाङ्खे सम्म पुग्ने सडक कालोपत्रे गर्ने योजना रहेको छ । ‘मामाङ्खेबाट काम सुरु भएको छ, पहिलो चरणमा खाक्सेवादेखि फुम्फेडाँडा सम्मको सडक कालोपत्रे गर्ने योजना रहेछ,’ उपाध्यक्ष मावोले भने ।  

रौताहा–सेवालुङ जेभीले भ्याट र पिएस सहित करिव ५६ करोड रुपैयाँमा उक्त सडक निर्माणको जिम्मेवारी पाएको हो । रौताहा–सेवालुङ जेभीका कम्पनी प्रतिनिधि तथा सेवालुङ निर्माण सेवाका प्रोपाइटर जसबहादुर चेम्जोङ लिम्बूले ढल निकास सहितका सबै काम पूरा भएकोले करिव एक किलोमिटर कालोपत्रे गरिसक्दा कुल कामको झण्डै ८५ प्रतिशत काम पूरा हुने जानकारी दिए ।  

‘हिउँदे पानीसम्मले काममा असर ग¥यो तर, काममा तीव्रता छ’ निर्माण व्यवसायी लिम्बूले भने । ताप्लेजुङका ६१ वटा वडामध्ये मामाङ्खे सबैभन्दा पछि सडक सञ्जालले जोडिएको थियो । अहिले ताप्लेजुङ सदरमुकाम बाहिरका कुनैपनि सडक कालोपत्रे छैनन् । आठराई त्रिबेणी गाउँपालिकाले पालिका आसपासको करिव ५ सय मिटर सडक कालोपत्रे गर्ने तयारी गरेको छ भने मेरिङदेन गाउँपालिकाले दोभानबाट पालिकाको केन्द्र सुलुम्फी सम्मको सडक कालोपत्रे गर्नेगरि प्रकृया अघि बढाईरहेको छ । 

प्रकाशित: १२ फाल्गुन २०८१ १७:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App