२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
समाज

स्याउ रोप्न जुम्ला आइपुगे विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रिम चन्द ‘विप्लव’ स्याउका बिरुवा रोप्न जुम्ला पुगेका छन्।

पार्टीले स्थापना गरेको बगैंचामा बिरुवा रोप्न उनी जुम्ला आइपुगेका हुन्। शुक्रबार उनी जुम्ला पुगे पनि आज बगैंचा स्थापना भएको घोषणा गर्ने कार्यक्रम रहेको छ। चार दिनदेखि सुरु भएको पार्टी प्रशिक्षण कार्यक्रमलाई उनले शनिबार सम्बोधन गरेका थिए।

सम्बोधनका क्रममा विप्लवले उत्पादनका क्रियाकलापमा जोडिन कार्यकर्तालाई निर्देशन दिए। उनी दुई दिनदेखि जुम्लाको हिमा गाउँपालिका-७ धाँचु गाउँमा छन्। विप्लवलाई नेकपा जुम्लाका नेता कार्यकर्ता र जनताले बाजागाजा र फूलमाला लगाइदिएर स्वागत गरेका थिए।

नेपाल कम्युनिष्ट पार्टी जुम्लाका इन्चार्ज बिर्खबहादुर शाहीले स्याउका बिरुवा रोप्न महासचिव विप्लव जुम्ला आइपुगेको बताए। उनका अनुसार महासचिव चन्दसँगै स्थायी समिति सदस्य सन्तोष बुढामगर, महासचिव विप्लवकी पत्नीसहितको टोली जुम्ला आइपुगेको हो। उनले धाँचु गाउँवासीलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन जुम्लामा स्याउ बगैंचा स्थापना गर्न थालिएको बताए। उनले भने, ‘पहिले नेता कार्यकर्ता प्रत्यक्ष उत्पादनमा जोडिन आवश्यक छ। अनि मात्र जनतालाई उत्पादनसँग जोडर आत्मनिर्भरताको दिशामा अग्रसर बनाउन सकिन्छ।’

यसअघि हिमा गाउँपालिकाको हाडुल्यामा झण्डै १० हजार स्याउका बिरुवा रोपिएको थियो। जसमध्ये ७० प्रतिशत स्याउका बिरुवा हुर्किसकेको इन्चार्ज शाहीले बताए। उतिबेला पनि स्याउ रोप्न महासचिव विप्लव जुम्ला पुगेका थिए।विप्लवले कृषि उत्पादनले मात्र देशलाई आत्मनिर्भर बनाउन सकिने प्रतिक्रिया दिए।

आइतबार विप्लवको नेतृत्वमा झण्डै एक हजार स्याउका बिरुवा रोप्ने कार्यक्रम छ। जुम्लाको स्याउ निकै स्वादिलो र पोटिलो हुने भएकोले स्याउको पहिचान जोगाउने र जुम्लालाई स्याउको जिल्लाका रूपमा स्थापित गर्ने लक्ष्य रहेको नेकपाले जनाएको छ।

आगामी वर्षदेखि जुम्लामा उत्पादित स्याउ, सिमी, ओखर लगायतका रैथाने बालीहरू खरिद गरेर ठूला सहरहरूमा पुर्‍याउने नेकपाको योजना रहेको इन्चार्ज शाहीले बताए।

प्रकाशित: ११ फाल्गुन २०८१ ११:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App