जनवादी गीत र नृत्यमा कहलिएको ‘सामना सांस्कृतिक परिवार’ ले बुधबार उदयपुरमा बृहत् सांस्कृतिक प्रस्तुति दिने तयारी गरेको छ। सदरमुकाम गाईघाट बजारको लोकतान्त्रिक चोक (पिपल चोक) मा हुन गइरहेको कार्यक्रम बिहानदेखि साँझसम्म गीत तथा नृत्य पस्कने आयोजकले जनाएको छ।
नेत्रविक्रम चन्द (विप्लव) सी नेतृत्वको नेकपाको भ्रातृ संगठन सामनाले आफ्नै आयोजनामा कार्यक्रम गर्न लागेको स्थानीय आयोजक विप्लव पार्टीका जिल्ला सहसेक्रेटरी दुर्गा सीले बताए।
उनका अनुसार कार्यक्रममा ख्यातिप्राप्त दर्जन बढी राष्ट्रिय जनवादी कलाकारले गीत तथा नृत्य प्रस्तुत गर्नेछन्। दुर्गा सीका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको र कलाकार मंगलबार साँझ नै गाईघाट आइसकेका छन्।
सामना परिवारका संस्थापक अध्यक्ष कलाकार मणि थापा, जनयुद्धताकाका चर्चित कलाकार माइला लामा, केबी सिंह ठकुरी र आरोह सीलगायत दर्जन बढी कलाकारको प्रस्तुति हुने कार्यक्रम बिहान १० देखि साँझ पाँच बजेसम्म हुने बताइएको छ। सामना परिवार प्रमुख आरोहले जनवादी गीत नृत्यको माध्यमबाट जनतामा राजनीतिक तथा सामाजिक चेतना भर्न कार्यक्रम आयोजना गरिएको बताए।
सामना परिवार त्यही सांस्कृतिक समूह हो, जो तत्कालीन नेकपा (माओवादी) को दसबर्से जनयुद्धताका देशव्यापी गीत–संगीतको अभियानमार्फत देशमा व्याप्त अन्याय, अत्याचार, शोषण, दमन र सामाजिक विकृति–विसंगतिविरुद्ध आगो ओकलेको थियो।
समाजमा रहेको उचनीचको विभेद, शोषण–दमन र अन्धविश्वासविरुद्ध विद्यार्थी, युवा, महिला, किसान, मजदुर र व्यापारी व्यवसायीलाई गीत–संगीतका माध्यमबाट आकर्षित गर्दै जनयुद्धलाई उत्कर्षमा पुर्याउन सामनाको भूमिका अहम् थियो।
गीत–संगीतका माध्यमबाट समाजमा चेतना फैलाउन सजिलो हुने भएको निष्कर्ष निकाल्दै माओवादीले जनयुद्ध सफल बनाउन जनवादी कलाकारको संलग्नतामा सामना परिवार गठन गरेर अभियान खटाएको थियो, तर देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै सांस्कृतिक परिवार ओइलाउँदै गएको थियो।
खासगरी माओवादी शान्तिपूर्ण राजनीतिक मूलधारमा आएसँगै टुटफुट र विभाजनको सिकार भएपछि शिथिल भएका कलाकार प्रचण्ड, मोहन वैद्य र विप्लब गुटमा विभाजित भएका थिए।
जनयुद्धताका चर्चित कहलिएका कलाकार माइला लामा पनि पछिल्लो दशकयता विप्लव नेतृत्वको नेकपानिकट रहेर सांस्कृतिक अभियानमा लाग्दै आएका छन्। केही वर्षयता पूर्व माओवादी एकजुट हुने पहल भइरहेको छ। यसअघि ०६४ को संविधानसभा हुनुअघि गाईघाटमा सामनाले प्रस्तुति दिएको थियो। त्यसपछि हुन लागेको कार्यक्रम सामनाको यो नै भएको दुर्गा सीले बताए।
प्रकाशित: ७ फाल्गुन २०८१ १०:२५ बुधबार





