मंगलबार काठमाडौंमा क्यानडा दूतावास र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालबीच हेरचाह अर्थतन्त्र प्रवर्द्धनका लागि संवाद आयोजना गरिएकाे छ। कार्यक्रमले हेरचाह अर्थतन्त्रको अवधारणा बुझाउनुका साथै सरकारी निकाय, विकास एजेन्सी र निजी क्षेत्रबीच सहकार्य बढाउन जोड दियो।
आईएलओ नेपालका निर्देशक नुमान ओज्कानले सरकार, रोजगारदाता र कामदारबीचको साझा जिम्मेवारीमा जोड दिँदै हेरचाह कार्यको महत्त्व उजागर गरे। जुन २०२४ मा अन्तर्राष्ट्रिय श्रम सम्मेलनले हेरचाह अर्थतन्त्र सम्बन्धी प्रस्ताव पारित गरिसकेको छ।
हेरचाह कार्य मानव, सामाजिक र आर्थिक कल्याणको केन्द्रबिन्दु हो, जसले बालबालिका, वृद्धवृद्धा र आवश्यकतामा परेका व्यक्तिहरूलाई सहयोग गर्छ। यसले स्वस्थ, रोजगारी र उत्पादकत्व वृद्धि गर्छ, तर हेरचाहकर्मीहरू, विशेष गरी महिलाहरू, कम ज्याला, कमजोर अवस्था र सामाजिक सुरक्षाको अभावसँग जुध्नुपर्छ।
नेपालको १६ औं राष्ट्रिय विकास योजनाले मर्यादित काम, रोजगारी र लैङ्गिक समानतालाई प्राथमिकता दिएको छ। क्यानडा दूतावासका इयान ट्राइट्स र युएन वुमनकी प्याट्रिसिया फर्नान्डेजले हेरचाह अर्थतन्त्रमा लगानी र समानताको महत्त्वमा जोड दिए।
संवादले नीति, सीप विकास र सामाजिक सुरक्षामा ध्यान केन्द्रित गर्यो। क्यानडा र आईएलओले नेपालमा हेरचाह अर्थतन्त्रलाई सुदृढ पार्न सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएका छन्।
प्रकाशित: ७ फाल्गुन २०८१ १०:०४ बुधबार





