१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

भुवनेश्वर प्रहरीले भन्यो: आरोपितलाई न्यायिक हिरासतमा पठाएका छाैं, निष्पक्ष छानबिन गर्छाैं

नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्या प्रकरणमा संलग्न आरोपितलाई पक्राउ गरी अनुसन्धान जारी रहेको भारतको भुवनेश्वर–कटक प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आत्महत्या दुरुत्साहनको आरोपमा बीटेक तेस्रो वर्षमा अध्ययनरत अद्विक श्रीवास्तवलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाइएको छ।

भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको छात्रावासमा आइतबार राति २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेकी थिइन्। उनी कम्प्युटर विज्ञान संकायको तेस्रो वर्षमा अध्ययनरत थिइन्।

प्रहरीका अनुसार सोही विश्वविद्यालयमा अध्ययनरत सिद्धान्त सिग्देलले इनफोसिटी प्रहरी चौकीमा उजुरी दर्ता गराएका थिए। उजुरीमा बीटेक मेकानिकल तेस्रो वर्षमा अध्ययनरत २१ वर्षीय अद्विक श्रीवास्तवले लम्साललाई मानसिक यातना तथा दुर्व्यवहार गरेपछि आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाइएको छ।

उजुरीका आधारमा इनफोसिटी प्रहरी चौकीमा आत्महत्या दुरुत्साहनसम्बन्धी एफआईआर दर्ता गरिएको छ। प्रहरीले सोमबार श्रीवास्तवलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाएको जनाएको छ। साथै, घटनासँग सम्बन्धित महत्त्वपूर्ण दस्तावेज तथा विद्युतीय प्रमाणहरू संकलन गरी अनुसन्धान अघि बढाइएको छ।

आइतबारको घटनापछि नेपाली विद्यार्थीहरूले किट युनिभर्सिटीमा विरोध प्रदर्शन गरेका थिए। त्यसपछि विश्वविद्यालय प्रशासनले सोमबार बिहान ‘साइन डाइ’ आदेश जारी गर्दै सबै नेपाली विद्यार्थीलाई छात्रावास खाली गर्न निर्देशन दिएको थियो। तर, सोही दिन बेलुका उक्त आदेश फिर्ता लिँदै नेपाली विद्यार्थीहरूलाई पुनः फर्कन अपिल गरिएको छ।

यसैबीच, विश्वविद्यालय सुरक्षाकर्मीले नेपाली विद्यार्थीहरूमाथि गरेको दुर्व्यवहारबारे पनि अनुसन्धान अघि बढाइएको छ। सोही आधारमा दुई सुरक्षागार्डविरुद्ध मुद्दा दर्ता गरी प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ।

भुवनेश्वर–कटक प्रहरी प्रशासनले यस घटनामा निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली विद्यार्थीहरूको सुरक्षामा कुनै असर नपर्ने जनाएको छ।

साथै, कुनै समस्या परेमा विद्यार्थीहरूले प्रहरीको २४/७ सहायता नम्बर ८२८०३३८३०१ मा सम्पर्क गर्न सक्ने जनाइएको छ।

प्रकाशित: ६ फाल्गुन २०८१ १४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App