१३ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

कर्णालीमा ‘स्वाइनीका स्वर’

खस भाषामा स्वाइनीको अर्थ हो, महिला । स्वाइनीहरु लक्ष्मीकुमारी बस्नेत, दिलमाया शाही र पुना कामी आफ्ना संघर्षका कथा सुनाउन एउटै मञ्चमा उपस्थित थिए । लक्ष्मी सुर्खेतकी स्थायी बासिन्दा हुन् । उनी कर्णाली प्रदेशबाट निजामति सेवातर्फ पहिलो महिला सचिव हुन् । उनी हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सचिव छिन् । जुम्लाकी दिलमाया पत्रकारिता गर्छिन् । कालीकोटकी पुना स्थानीयस्तरमा अभियन्ताका रुपमा चिनिएकी छिन् ।

हाल नेपाल सरकारकी सचिव बस्नेत २०६३ सालमा ११७ पदमध्ये ३६ जना महिला अधिकृतमा पास हुँदा उनी कर्णालीकी एक्ली थिइन् । ‘त्यतिबेला छोरी घरबाट धेरै टाढा जानु हुँदैन भन्ने मान्यता थियो, म काठमाडौंमा बसेँ, २०६७ मा एकैपटक सहसचिव पास भएँ,’ सहसचिव भएपछि विभिन्न मन्त्रालयमा बसेर काम गर्ने अवसर पाएँ,’ उनी भन्छन्, ‘शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा काम गर्दा द्वन्द्वपीडित महिलाहरुसँग नजिक रहेर काम गर्ने, उनीहरुका दुःख बुझ्ने मौका पाएँ ।’ पछिल्लो समय हरेक क्षेत्रमा क्षेत्रमा महिला नेतृत्व अघि बढेको देख्दा खुसी छिन् । 

जुम्लामा दिलमायाले निर्भिक पत्रकारको पहिचान बनाएकी छन् । जुम्ली समाजमा महिला विशेषगरी बालिकाहरुले भोग्नुपरेका विभिन्न खाले दुर्व्यवहारविरुद्ध उनी कलम मात्र चलाउँदिनन् तिनको न्यायका लागि प्रहरी प्रशासनसमक्ष दबाव दिन पुग्छिन् । उनको साहसिक पत्रकारितालाई कदर गर्दै नेजा पुरस्कार प्रदान गरिएको थियो । पछ्यौटेपनमा व्याप्त समाजमा बसेर पत्रकारिता गर्नुका संघर्ष सुनाइन् । उनको १४ वर्षको उमेरमा बिहे भयो ।

‘महिला तथा बालबालिका कार्यालयले पारालिगल कमिटी बनाएर मलाई अध्यक्ष बनायो, यो कमिटीले घरेलु हिंसाको विषयमा सचेतना दिइन्थ्यो,’ दिलमाया भन्छिन्, ‘मैंले काम गर्दा मसँग आउने घरेलु हिंसामा परेका आमाहरुले हिंसा भएको लुकाउनुहुन्थ्यो, काम गर्दा चोट लागेको भन्थे, उहाँहरुले परिवारको लाज हुन्छ भनेर लुकाएको पाएँ, विस्तारै आफ्नै जीवनमा पनि हिंसा खेपेँ ।’ दिलमायाका बुझाइमा अन्यायमा परेका महिला र बालबालिकालाई न्याय दिन र सशक्त बनाउन राज्यले जति काम गर्नुपर्दथ्यो, त्यति राज्यबाट भएकै छैन् । उनी भन्छिन्, ‘पत्रकारिताबाट समाजलाई धेरै योगदान पु¥याउन सकिन्छ, महिलाहरु घरभित्रै बस्नुपर्छ,’ उनले भनिन्, ‘लजाउनुपर्छ भन्ने मान्यता समाजमा अहिले पनि छ, यसले महिलालाई सामाजिक क्षेत्रमा काम गर्न केही चुनौती छ ।’

अभियन्ता पुना कामीले सशस्त्र द्वन्द्वका बेला महिलामाथि हुने ज्यादतीविरुद्ध कालीकोटमा बसेर काम गरेको अनुभव सुनाइन् । ‘घरभित्र गोली आउन थालेपछि हामीले राज्य पक्षको बन्दुक खोस्यौं,’ उनले भनिन्, ‘महिलाहरुले द्वन्द्वमा धेरै पीडा भोगे, तर अझैं न्याय पाएका छैनन् ।’

प्रकाशित: ५ फाल्गुन २०८१ १९:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App