५ चैत्र २०८१ मंगलबार
image/svg+xml
समाज

विराटनगर महानगरले सुरु गर्‍यो ढुङ्गाको ढक–तराजु नियन्त्रण

विराटनगर महानगरपालिकाले हटियामा प्रयोग गरिने ढुङ्गाको ढक विस्थापन अभियान सुरु गरेको छ।

बिहीबार महानगरका प्रहरी प्रमुख राजन पौडेलको नेतृत्व टोलीले विराटनगर–५ स्थित पृथ्वी चोकबाट एक दर्जनभन्दा बढी ढुङ्गाको ढक र तराजु नियन्त्रणमा लिएको हो।

अबदेखि महानगर क्षेत्रभित्र लाग्ने हाटबजारमा ढुङ्गाको ढक र तराजुलाई विस्थापन गरिने विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निरला कार्कीले जानकारी दिइन्।

‘हाटबजारमा नापतौल गर्ने ढक ढुङ्गाको तथा अन्य वस्तुबाट मापन गरिरहेको पाइएको हुँदा अनिवार्य रुपमा मापदण्डबमोजिम ढक प्रयोग गर्न/गराउन नगर प्रहरीमार्फत प्रचारप्रसार गर्ने निर्णय गरिएको छ,’ उपमेयर कार्कीले भनिन्।

उपमेयर कार्कीको अध्यक्षतामा बसेको ‘बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति’ को बुधबार बसेको बैठकले अनुगमनलाई तीव्र पारेर ढुङ्गाको ढक प्रयोगलाई विस्थापन गर्ने निर्णय गरेको थियो।

विशेष गरी साप्ताहिक रुपमा लाग्ने हाटबजारमा नापतौलका लागि ढुङ्गाको ढक प्रयोग गर्ने गरेको पाइन्छ। जसबाट उपभोक्ता ठगिने क्रम बढेको भन्दै महानगरले अबदेखि ढुङ्गाको ढकलाई पूर्ण रुपमा विस्थापन गर्ने भएको छ।

त्यस्तै, समितिको बैठकले माछा र तरकारीको बिक्रीस्थल छुट्टाछुट्टै स्थानमा रहने व्यवस्था गर्ने निर्णय गरेको छ। महानगरको नियमन क्षेत्राधिकारभित्र सञ्चालनमा रहेका सम्पूर्ण मासु पसललाई महानगरको मापदण्डबमोजिम व्यापार गर्ने विषयमा प्रतिबद्ध गराउन १५ दिनको म्याद दिने बैठकले निर्णय गरेको छ।

साथै, आफूले मापदण्डबमोजिम मासु पसल सञ्चालन गरेको स्वघोषणापत्रसमेत सङ्कलन गर्ने निर्णय गरिएको उपमेयर कार्कीले बताइन्।

बैठकले बजारमा विषादीयुक्त तरकारी तथा फलफूल बिक्री भइरहेको जनगुनासो आएको भन्दै महानगरले तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँग समन्वय तथा सहकार्य गर्ने निर्णय गरेको छ।

अबदेखि हरेक हप्ताको शुक्रबार सरोकारवाला निकायका प्रतिनिधिसमेतको सहभागितामा संयुक्त रुपमा बजार अनुगमन गर्ने निर्णय गरिएको कार्कीले जानकारी दिइन्।

प्रकाशित: १ फाल्गुन २०८१ २०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App