दार्चुलाको नौगाड गाउँपालिकामा भारत सरकारको आर्थिक सहयोगमा निर्मित इयरकोट स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत २ करोड ५३ लाख ६० हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी भवनको उद्घाटन नौगाड गाउँपालिकाका अध्यक्ष दलजीत सिंह धामी र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंह ले संयुक्त रूपमा गरे।
उद्घाटन समारोहमा स्थानीय राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा सामाजिक कार्यकर्ताहरूको उपस्थिति थियो।
भारत सरकारको अनुदानमा निर्मित स्वास्थ्य चौकी भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण भएको हो। दार्चुलाको दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सुलभ गराउने उद्देश्यले यस परियोजना नौगाड गाउँपालिकामार्फत कार्यान्वयन गरिएको थियो।
स्वास्थ्य चौकी भवन निर्माण भएपछि स्थानीय बासिन्दाहरूले गुणस्तरीय स्वास्थ्य सेवा पाउने आशा गरिएको छ। यसबाट १५ हजारभन्दा बढी स्थानीयवासी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। नौगाड गाउँपालिकाका अध्यक्ष धामीसहित स्थानीय सरोकारवालाहरूले नेपालका दुर्गम भेगमा भारत सरकारको निरन्तर विकास सहयोगको प्रशंसा गरेका छन्।
भारत र नेपालबीचको सुदृढ छिमेकी सम्बन्ध र बहुपक्षीय सहकार्यलाई थप बलियो बनाउने उद्देश्यले भारत सरकार स्वास्थ्य, शिक्षा तथा पूर्वाधार विकासजस्ता प्राथमिकताका क्षेत्रमा नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको भारतीय पक्षले जनाएको छ।
प्रकाशित: २६ माघ २०८१ २२:२२ शनिबार





