मानव मस्तिष्कमा माइक्रोप्लास्टिकको उपस्थिति बढ्दो क्रममा रहेको र दिमागले गर्ने नियमित कार्यलाई समेत यसले प्रभावित गरेको एक वैज्ञानिक अध्ययनले देखाएको छ। वैज्ञानिक जर्नल ‘नेचरमेडिसिन’ मा सोमबार प्रकाशित तथा २१ जना वैज्ञानिकले गरेको उक्त अध्ययनले माइक्रोप्लास्टिक प्रदूषण लगातार वृद्धि भएको र कलेजो र मिर्गौलाको तुलनामा यसको उपस्थिति मस्तिष्कमा कैयौं गुणाले बढी हुने गरेको पाइएको छ।
विश्वमा प्लास्टिकको प्रयोग बढ्दै जाँदा ५ मिलिमिटरभन्दा कम व्यासका प्लास्टिक कण अर्थात् माइक्रोप्लास्टिक वातावरणमा डरलाग्दो हिसाबले बढेको कैयौं अध्ययनले देखाएको सन्दर्भमा सन् १९९७ देखि २०२४ बिच मृत्यु भएका मानिसको पोस्टमार्टम गरेर मानव मस्तिष्कका तन्तुमा यो अध्ययन गरिएको थियो।
त्यसो त हाल विश्वमा वार्षिक रूपमा ३० करोड टनभन्दा बढी प्लास्टिक उत्पादन भइरहेको छ भने सन् २०२३ सम्मको तथ्यांकअनुसार समुन्द्रमा झन्डै २५ लाख टन प्लास्टिक तैरिरहेका छन्। समुद्रमा प्लास्टिकको यो प्रदूषण सन् २००५ को तुलनामा हाल १० गुणाले बढेको छ ।
नयाँ अध्ययनले सन् २०१६ मा हेरिएका नमुनाको तुलनामा सन् २०२४ का नमुनामा माइक्रोप्लास्टिक र त्योभन्दा पनि अझ साना व्यास भएका न्यानो प्लास्टिकको उपस्थिति उल्लेखनीय रहेको देखाएको छ। अध्ययनअन्तर्गत सन् २०१६ मा मृत्यु भएका २८ जना र सन् २०२४ मा मृत्यु भएका २४ जनाको मस्तिष्क, कलेजो र मिर्गौलाका नमुनाहरूको विश्लेषण गरिएको थियो। यसैगरी, बिर्सने रोग (डिमेन्सिया) भएका व्यक्तिको दिमागमा बढी मात्रामा माइक्रोप्लास्टिकका कण देखिएको छ। डिमेन्सियाका बिरामीको मस्तिष्क नमुनामा अन्यको भन्दा ६ गुणा बढी माइक्रोप्लास्टिक रहेको अनुसन्धानले देखाएको छ।
यसअघिका अध्ययनले मानिसको रगत, स्तन (दूध), साल (प्लेसेन्टा) र हड्डीको मासी (म्यारो)मा यी कण फेला परेका छन्। यो अदृश्य चुनौतीले मानव स्वास्थ्यमा केकति प्रभाव पारेको छ भन्ने विषयमा अझै धेरै अध्ययन हुन बाँकी छ। तर यिनको प्रत्यक्ष सम्बन्ध मस्तिष्कघात र हृदयाघातसँग समेत पाइएको वैज्ञानिक मत छ।
‘माइक्रो र न्यानो प्लास्टिकको वातावरणमा रहेको तीव्र उपस्थितिले स्नायु विकार र मानव स्वास्थ्यमा पर्ने अन्य प्रभावबारे थप अध्ययन गर्न आवश्यक देखिएको छ,’ अध्ययनको नेतृत्व गरेका अमेरिकाको न्युमेक्सिको विश्वविद्यालयका प्राध्यापक म्याथ्यु क्याम्पेनको नेतृत्वमा भएको उक्त अध्ययनमा सहभागी अनुसन्धानकर्ताले भनेका छन्।
सामान्यतया, दैनिक जीवनमा प्रयोग हुने प्लास्टिकको झोला, प्याकेजलगायत प्लास्टिकजन्य वस्तुहरू टुक्रिएर माइक्रो प्लास्टिकमा बदलिन्छन्। यसैगरी सडकमा निस्किने टायरको धुलो, रङरोगन र सामुद्रिक माछा माइक्रो प्लास्टिकका स्रोत हुन्।
वैज्ञानिक अध्ययनले सगरमाथाको चुचुरोदेखि समुद्रको सर्वाधिक गहिरो बिन्दु अर्थात् मेरियाना ट्रेन्चसम्म माइक्रोप्लास्टिकको प्रदूषण रहेको देखाएका छन्। खाना र पानी तथा सास फेर्दा यी विषाक्त कण शरीरमा प्रवेश गर्ने र रगतमार्फत विभिन्न भागमा पुग्ने मानिएको छ।
अध्ययनको दायरा फराकिलो पार्न वैज्ञानिकले अमेरिकाको इस्ट कोस्ट (पूर्वी तट) मा सन् १९९७ देखि २०१३ को बिच मृत्यु भएका मानिसको मस्तिष्कको तन्तुका नमुनाहरू लिएर विश्लेषण गरेका थिए र यो अवधिमा मस्तिष्कको माइक्रोप्लास्टिक प्रदूषणमा बढ्दो प्रवृत्ति देखिएको हो।
अध्ययनमा सबैभन्दा बढी भेटिएको माइक्रोप्लास्टिकको स्रोत पोलिथिन थियो, यो प्लास्टिकको झोला, खाना र पेय पदार्थको प्याकेजिङमा अत्यधिक रूपमा प्रयोग गरिन्छ। गत साता प्रकाशित अर्काे वैज्ञानिक अध्ययनले महिना नपुगी जन्मेका शिशुको साल(प्लासेन्टा)मा माइक्रोप्लास्टिकको उल्लेख्य उपस्थिति रहेको देखाएको थियो।
यसैगरी मुसाको मस्तिष्कमा गरिएको अर्काे अध्ययनले माइक्रोप्लास्टिकले रक्तनलीको प्रवाहलाई रोक्ने र यसले स्नायुप्रणालीलाई क्षति गरेको पाइएको थियो। तर मुसाको तुलनामा मानव कोषिका ठुलो आकारको हुने भएकाले मानव मस्तिष्कको रक्तनलीमा माइक्रोप्लास्टिकको प्रभाव समान नहुनसक्ने वैज्ञानिक तर्क छ।
वैज्ञानिकका अनुसार पछिल्लो अध्ययनमा मानव अंगहरूमा देखिएको माइक्रो प्लास्टिकको उपस्थिति मृत्युको समयमा ती व्यक्तिको उमेर, मृत्युको कारण, लिंग अथवा उनीहरूको जातीयतासँग कुनै सम्बन्ध थिएन।
अध्ययनको दायरा र नमुना न्युमेक्सिको र अमेरिकाका पूर्वी तटमा सीमित रहेकाले यसलाई अझ बढी व्यापक गर्नुपर्ने अध्ययनमा सहभागी नरहेका अन्य वैज्ञानिकको राय छ।
‘गत ८ वर्षमा मानव मस्तिष्कमा माइक्रोप्लास्टिक ५० प्रतिशतले बढेको देखिनु प्लास्टिकको बढ्दो उत्पादन र प्रयोगलाई इंगित गर्दछ। त्यसैले वातावरणीय प्रदूषण रोक्न र मानव जोखिम घटाउन प्रविधिगत नवीनताको खोजी गर्नुपर्ने देखिन्छ,’ बेलायतको एक्सेटर विश्वविद्यालयका प्राध्यापक तमारा ग्यालोवेले बेलायती पत्रिका गार्जियनलाई भनेका छन् ।
प्रकाशित: २४ माघ २०८१ ०६:१९ बिहीबार