३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

अंग्रेजी माध्यमका पाठ्यपुस्तक अपुरो

खोटाङ– नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि खोटाङमा अंग्रेजी माध्यमका पाठ्यपुस्तकको पूर्ण सेट आउन सकेको छैन।

जिल्लामा नेपाली माध्यमका नयाँ पाठ्यपुस्तक आइसके पनि छपाइमा ढिलाइ हुँदा अंग्रेजी माध्यमका गणित र विज्ञान विषयका पाठ्यपुस्तक आउन बाँकी रहेको पाइएको छ । गणित र विज्ञान विषयका पाठ्यपुस्तक नआउँदा अंग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएका विद्यालयलाई समस्या परेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका शिक्षा समितिका संयोजक पञ्चुकुमार राईले बताए।

अंग्रेजी माध्यमका अन्य पाठ्यपुस्तक आइपुगे पनि गणित र विज्ञान विषयका पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रमा छपाइकै क्रममा रहेकाले हालसम्म आउन नसकेको हो । ‘नेपाली माध्यमका सबै पाठ्यपुस्तक आएको छ, अंग्रेजी माध्यमका भने दुई विषय आउन बाँकी देखिएको छ,’ राईले भने, ‘गणित र विज्ञान विषयका पाठ्यपुस्तक छपाइकै क्रममा रहेको जानकारी आएको छ ।’

जनक शिक्षा सामग्री केन्द्रको ढिलाइले समयमा विद्यार्थीलाई पुस्तकको पूर्ण सेट प्रदान गर्न नसकिएको विद्यालयले जनाएको छ । पुस्तकको सेट अपुरो हुँदा जिल्ला शिक्षा कार्यालयको भर्नासँगै विद्यार्थीको हातहातमा नयाँ पाठ्यपुस्तक पु¥याउने अभियान प्रभावित भएको छ।

नेपाली पाठ्यपुस्तकलाई अंग्रेजीमा अनुवाद गरिएका पाठ्यपुस्तकको अभाव देखिएपछि केही समयअघि जनक शिक्षा सामग्री केन्द्रमा लिखित जानकारी गराइएको जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठले बताए । ‘नेपाली माध्यमका पाठ्यपुस्तक वितरणमा कुनै समस्या छैन,’ श्रेष्ठले भने, ‘पुस्तक बिक्रेताका अनुसार अंग्रेजीमा ट्रान्सलेट गरिएका पाठ्यपुस्तक पाउन गाह्रो रहेको पाइएपछि समस्या हल गर्न जनक शिक्षामा पत्राचार गरेका थियौं।’

जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लामा २५ विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएको छ । जिल्लामा ज्योति मावि जालपा, निरौले प्रावि नेर्पा, सरस्वती मावि दिक्तेल, विश्वज्योति मावि लामीडाँडा, त्रिभुवन आधारभूत विद्यालय ऐसेलुखर्कलगायत विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन गराइरहेका छन् ।

ज्योति माविले जिल्लामै पहिलोपल्ट १५ वर्षअघिदेखि नै अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको हो । अंग्रेजी मोहका कारण विद्यार्थी घट्न थालेपछि पछिल्लो समय अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने विद्यालय बढ्दो छ।

प्रकाशित: ५ वैशाख २०७५ ०२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App