राजधानी काठमाडौंमा बिहानीपख वायु प्रदूषण जनस्वास्थ्यको हिसाबले अत्यन्त अस्वस्थकर तहमा उक्लने र दिउँसो केही कम हुने देखिएको छ।
आइतबार भक्तपुर, पाटन र काठमाडौंका कतिपय वायुप्रदूषण मापन यन्त्रले वायु गुणस्तर सूचकांक (एक्युआई) २०० को हाराहारीमा रहेको देखाएका थिए। वायुमा २०० भन्दा बढी एक्युआई हुनुलाई जनस्वास्थ्यका हिसाबले अत्यन्त अस्वस्थकर मानिन्छ। तर दिउँसो र साँझपख भने धेरैजसो वायु प्रदूषण मापन यन्त्रले एक्युआई १०० को हाराहारीमा झरेको देखाएका थिए।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सजीव अधिकारीका अनुसार हिउँद याम सकिन लागेको र प्री–मनसुन सिजन सुरु हुन लागेको अहिलेको अवस्थामा वायुमण्डल अस्थिर हुने गरेको छ। दिउँसो बढी हावा चल्ने हुँदा प्रदूषण कम देखिएको हो। ‘अहिले वायुमण्डल स्थिरताबाट अस्थिरतातर्फ उन्मुख छ। दिउँसो बढी हावा चल्ने भएकाले वायु प्रदूषणको प्रभाव कम हुन्छ र बिहान कम हावा चल्दा यो बढी हुन्छ,’ उनले भने।
वायु प्रदूषणका लागि सबैभन्दा खतरनाक मानिएको पिएम २.५ सूक्ष्म कण मानिसको फोक्सोसम्म सिधै पुग्न सक्ने र त्यसले रक्तसञ्चार प्रणालीमा बाधा पारी दम, मुटुरोग तथा श्वासप्रश्वाससम्बन्धी अन्य रोग निम्त्याउन सक्ने मानिन्छ।
गत वर्षको अगस्टमा सार्वजनिक गरिएको एयर क्वालिटी लाइफ इन्डेक्स–२०२४ (एक्युएलआई) नामक एक अन्तर्राष्ट्रिय प्रतिवेदनका अनुसार विषाक्त वायुका कारण नेपालीको सरदर आयु ३.४ वर्षले घटेको छ।
विश्व स्वास्थ्य संगठनको मापदण्डका आधारमा नेपालको सम्पूर्ण जनसंख्या विषाक्त हावामा सास फेर्न बाध्य छन्। वायु प्रदूषणका अभियन्ता तथा वैज्ञानिकहरू नेपालमा वायु प्रदूषणको भयावहता बढ्दै जाँदा यसको नियन्त्रण गर्न राज्य तथा सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिन्छन्। ‘यसपटकको हिउँदमा धेरै चिसो नहुँदा र अन्य मौसमी कारणले प्रदूषण कम भएको हुन सक्छ तर समग्रमा वायु प्रदूषण नियन्त्रणमा ठोस प्रयास भएको छैन,’ वायु प्रदूषण विज्ञ भूपेन्द्र दास भन्छन्। ‘जनस्वास्थ्यमा गम्भीर प्रभाव पार्ने यो विषयमा छलफल र बहस त हुने गरेको छ तर यसलाई रोक्न ठोस कार्ययोजना ल्याइएको छैन,’ उनी भन्छन्।
आगामी महिनामा सुक्खा बढ्दा वन ढडेलोको प्रकोप बढ्न सक्ने बताउँदै उनले समयमै सजगता अपाउनुपर्नेमा जोड दिए।
प्रकाशित: २१ माघ २०८१ ०७:२९ सोमबार