‘कैलो वनकाग’ नेपालमा पाइने काग परिवारको सुन्दर र चतुर चरामध्ये एक हो। यो मध्यम आकारको, हल्का गुलाबी–खैरो शरीर र पखेटामा सेतो, निलो र कालो रङको संयोजनात्मक रेखा भएको रंगीन हुन्छ। आँखा तिखो र गाढा हुन्छ। यो काग परिवारको सदस्य भए तापनि सामान्य कागभन्दा तुलनात्मक रूपमा बढी लजालु प्रकृतिको हुन्छ र झाडीभित्र लुकेर बस्न रुचाउँछ।

यो चतुर चरा हो। यो यति चतुर हुन्छ कि तलाउमा पानी पिउन आउँदा पनि ३–४ वटा रुखका हाँगामा ओर्लंदै बस्दै यताउता हेर्दै आउँछ, जब कि यो सिधै उडेर एकै पटकमा आउन पनि सक्थ्यो। आफूलाई कुनै खतरा नहोस् भनेर यसले यस्तो सावधानी अपनाएको हो भन्ने बुझियो। यसको प्रत्यक्षदर्शी म आफैं हुँ।

‘कैलो वनकाग’ हामीले दैनिक देख्ने कालो कागजस्तो हुन्न र जताततै पाइँदैन पनि। विशेषगरी उच्च पहाडी र उपहिमाली जंगलमा यसको वासस्थान हुन्छ। ओखरका रुख भएका क्षेत्रमा यसको उपस्थिति बढी देखिन्छ। फूलचोकी, चन्द्रागिरि, चम्पादेवी, शिवपुरी, लाङटाङजस्ता ठाउँमा यो चरा बढी पाइन्छ।

कठोर र चर्को आवाजको ‘स्क्रेक–स्क्रेक’ गर्ने ध्वनि निकाल्छ साथै अन्य चराको आवाज पनि नक्कल गर्न सक्छ। यसले बिउबिजन, फलफूल, ससाना किरा, ओखर आदि खान्छ र कहिलेकाहीं चराका साना अन्डा वा बच्चा पनि खाने गर्छ। यसले चैतदेखि असारसम्म प्रजनन गर्छ। यो तस्बिर ललितपुरको फूलचोकीस्थित २७ सय मिटर उचाइमा खिचिएको हो।
प्रकाशित: १९ माघ २०८१ ०९:३१ शनिबार