बिहीबार बिहान बिरामीसहित एकै परिवारका ३ जनाको ज्यान जाने गरी दुर्घटना गराई फरार रहेका सुमो जिप चालक शुक्रबार भक्तपुरबाट पक्राउ परेका छन्। बुधबार साँझ जलनकी बिरामीलाई लिएर उनको परिवारसहित खोटाङको दिक्तेलबाट उपचारार्थ काठमाडौँ जाँदै गरेको जिप दुर्घटनापछि उनी फरार थिए ।
दिक्तेलदेखि जाँदै गरेको ना १ ज ६४२१ नम्बरको जिप पुष्पलाल मध्ये पहाडी लोकमार्ग अन्तर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङमा दुर्घटना हुँदा खोटाङको केपिलाशगढी ३ की बिरामी ५६ वर्षीया माया गुरुङ, उनका २८ वर्षीय छोरा पुजन गुरुङ र बहिनी दिक्तेल रुपाकोट मझुवागढी १२ जालपाकी ४५ वर्षीया तारा गुरुङको ज्यान गएको थियो । दुर्घटनामा परेको जिप त्यहीँ छाडेर फरार भएका चालक सुनसरीका २२ वर्षीय अनिल पण्डित शुक्रबार बिहान भक्तपुरमा फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा जिप र मृतक ३ जना मात्र रहेको र चालक नभेटिएपछि प्रहरीले खोजीको क्रममा भक्तपुरस्थित ईन्टरनेशनल अस्पतालमा उपचार गराइरहेको अवस्थामा फेला पारेको प्रहरी भनाई छ । पण्डितको हात, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेर उपचार गराइरहेको अवस्थामा फेला पारेको बताइएको छ।
अस्पतालमा फेला परेपछि उनलाई प्रहरी निगरानीमा राखेर उपचार भइरहेको छ । निको भएपछि उनलाई घट्नाबारे अनुसन्धान गर्ने प्रहरी भनाई छ ।
प्रकाशित: १८ माघ २०८१ १८:४७ शुक्रबार




