७ फाल्गुन २०८१ बुधबार
image/svg+xml २३:१८ अपराह्न
समाज

तीन वटा पोखरीबाट १५ लाख बराबरको माछा चोरी

फाइल तस्बिर

यहाँको एक व्यवसायिक कृषि फार्मबाट १५ लाख रुपैँया बराबरको माछा चोरी भएको छ । त्रियुगा नगरपालिका १ जोगीदहस्थित जागृति सामुदायिक वन उपभोक्ता समूहको जङ्गलमा सञ्चालित फार्मको माछा पोखरीबाट ठूलो परिमाणको माछा चोरी भएको हो ।

वन समूहको जग्गा भाडामा लिएर स्थानीय लिलबहादुर राईले सञ्चालन गरेको ‘चामलिङ कृषि फार्म’बाट केही दिनअघि माछा चोरी भएपछि प्रहरीमा उजुरी दिएका छन् । उजुरीका आधारमा प्रहरीले स्थानीय ३ जनामाथि सोधपुछ गरेको जनाएको छ । जोगिदहस्थित मैनाहा केन्द्रीय टोलकी ५६ वर्षीया कलावती चौधरी, ५० वर्षीय रामकिसुन चौधरी र नवज्योति टोलका ४० वर्षीय शिवशङ्कर चौधरीलाई प्रहरीले सोधपुछ गरेको जनाएको छ ।

राईका अनुसार फार्मका ३ वटा पोखरीबाट गत पुस २८ गते दिउँसो माछा चोरी भएको हो । दिउँसो १ः०० बजेजस्तो समयमा फार्ममा कोही नभएको मौका छोपी माछा चोरेको आशङ्काका आधारमा दोषीलाई पक्राउ गरी कारबाही गर्न उनले प्रहरी गुहारेको बताएका छन् । वन समूहसँग भाडामा लिएको जग्गामा ठूलो लगानी गरेर व्यवसायिक कृषि फार्म सञ्चालन गर्दै आएको पोखरीबाट कोमल, विकेट, रहु, ग्रासकार र भाकुर जातका माछा चोरी भएको उनको भनाई छ ।

धेरै लगानी र मेहनत गरेर हुर्काउँदै गरेको माछा प्रति गोटा ४ किलोग्रामसम्म तौलका भइसकेका बेला चोरी भएको राईको गुनासो छ । ३ वटा पोखरी रित्तो हुने गरी चोरी हुँदा आफूलाई १५ लाखभन्दा बढी क्षति भएको भन्दै राईले संलग्नहरूलाई पक्राउ गरी असुलउपर गरिपाऊँ भन्ने उनको उजुरीमा उल्लेख छ ।

विदेश नगएर आफ्नै देशमा उद्यम व्यवसाय गरौँ भनेर लगानी गरेको बताउने राईले चोरीको घट्नाले स्तब्ध भएको गुनासो गरे । ‘आफ्नै गाउँघरमा उद्यम व्यवसाय गरौँ भनेर यत्ति धेरै लगानी र मेहनत गरियो, अहिले यस्तो हुँदा मन रोएको छ’ राईले गुनासो गरे ‘समाजलाई गरेर देखाउन उदाहरण बन्न खोज्दा डाहा र ईश्र्या गर्नेहरू मात्र भेटिँदो रहेछ ।’

चोरीमा संलग्नहरू ठूलै सङ्ख्यामा रहेको तर, ती ३ जना मुख्य दोषी भएको अनुमान गर्दै किटानी जाहेरी दिन आए पनि गाउँ ठाउँको घटना भएकाले मिलेर जान पनि तयार रहेको उनले बताए । उनका अनुसार घट्नामा ८–९ जनाभन्दा ठूलो सङ्ख्या संलग्न हुनसक्ने अनुमान छ । गाउँघरमै मिल्नका लागि छलफल गर्न चाहे पनि आरोपी पक्ष उल्टै धम्की दिने गरेको पनि राईको गुनासो छ ।

प्रहरीले भने केही व्यक्तिलाई सोधपुछ गरेको तर, आफूआफू मिल्ने सहमति भएको जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले किटानी जाहेर आएपछि केही व्यक्तिलाई सामान्य सोधपुछ गर्दै गर्दा दुवै पक्ष मिलेर आउने भनेर फर्केको बताए । ‘आफै मिलेर आउँछौँ भन्दै गएका छन्’ एसपी योगीले भने ‘मिलेर आउलान्, नआए कारबाही गर्ने त छदै छ ।’

प्रकाशित: १७ माघ २०८१ १४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App