२७ वैशाख २०८३ आइतबार
image/svg+xml
समाज

विराटनगरमा साहित्यिक तीन राष्ट्रिय पुरस्कार स्थापना

साहित्य क्षेत्रमा प्रदान गर्ने गरी विराटनगरमा तीन राष्ट्रिय पुरस्कारको स्थापना गरिएको छ। मुक्तक दिवसको अवसरमा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश विराटनगरबाट आयोजित पुरस्कार स्थापनाको घोषणा तथा मुक्तक वाचन कार्यक्रममा उक्त साहित्यिक पुरस्कारहरू स्थापना गरेकाे घोषणा गरिएको हो।

आयोजक संस्थाका अध्यक्ष कवि एवम् समालोचक बाबुराम पोखरेलका अनुसार अक्षय कोषमा जम्मा गरिएको ब्याज रकमबाट बर्सेनि समर्पण गर्ने गरी मनमाया दाहाल तथा उनका छोराछोरीहरूबाट स्थापित नन्दलाल स्मृति साहित्य पुरस्कारको राशि ११ हजार १११, मनोहरि पोखरेल र बाबुराम पोखरेलबाट स्थापित माधव - नर्वदा पोखरेल स्मृति साहित्य पुरस्कारको राशि ११ हजार १११ र नेपाल सरकारका सेवा निवृत्त सहसचिव एवं साहित्यकार सीताराम पोखरेलबाट स्थापित नन्दकुमारी पोखरेल स्मृति साहित्य पुरस्कारको राशि १५ हजार रूपैयाँ छ।

कार्यक्रममा अक्षयकोष दाताहरूको तर्फबाट समाजसेवी विश्वकान्त दाहालले अक्षयकोष स्थापनाबारे सारगर्भित मन्तव्य राखेका थिए। उनले समाज विकासमा साहित्यको महत्त्वपूर्ण भूमिका रहेकाले साहित्य क्षेत्रमा लागेका अग्रजहरूको सम्मान तथा अनुजहरूलाई प्रेरणा र सहयोगका लागि पुरस्कारहरूको स्थापना गरिएको बताए।

त्यस्तै संस्थापक परिवारकी सदस्य  तथा साहित्यकार नानुमैया दाहालले साहित्य समाजको अग्रगामी रूपान्तरणको सशक्त हतियार भएकाले नेपाली समाजलाई सकरात्मक मार्गबाट अगाडि बढाउन तथा नेपाली साहित्यको श्रीवृद्धि र विकासमा योगदान पुगोस् भन्ने उद्देश्यले यी पुरस्कारहरूको स्थापना गरिएको बताइन्।

कार्यक्रममा प्रमुख अतिथि पुर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले पुरस्कारले साहित्य सिर्जनामा उत्प्रेरणा प्राप्त हुने विचार राख्दै संस्थापकहरूप्रति धन्यवाद र आयोजक संस्थालाई शुभकामना व्यक्त गरेका थिए।

विशेष अतिथि तथा चेतना प्रतिष्ठान नेपालकी अध्यक्ष प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली, अग्रज साहित्यकार बलराम पोखरेल, प्राडा हरिहर भण्डारी, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाई लगायतले दाताहरूप्रति सम्मान व्यक्त गर्दै प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए।

अक्षय कोषका संस्थापकहरू मनमाया दाहाल, मनोहरि पोखरेल, सीताराम पोखरेल लगायतलाई सम्मान गरिएको सो कार्यक्रममा भूषण ढुङ्गेल, हरि कट्टेल, गोकुल अधिकारी, प्रयाग न्यौपाने, नानुमैया दाहाल, मञ्जु घिमिरे दाहाल, राधा भट्टराई, नवराज पोखरेल `नवशिल´ लगायत मुक्तककारहरूले मुक्तक वाचन गरेका थिए।

आयोजक संस्थाका सदस्य सचिव मदन भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा सदस्य रोहिणी रसिकले स्वागत मन्तव्य राखेका थिए।

प्रकाशित: १७ माघ २०८१ ०९:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App