१२ माघ २०८१ शनिबार
image/svg+xml
समाज

काठमाडौंमा दक्षिण एसियाली नारीवाद प्रदर्शनी हुँदै

तारागाउँ सांस्कृतिक केन्द्रले सर्राफ फाउन्डेसनको सहकार्यमा राजधानीको बौद्धस्थित तारागाउँ नेक्स्टमा बृहत् कला प्रदर्शनी आयोजना गर्ने भएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा आयोजक सर्राफ फाउन्डेसन तथा तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता सर्राफले डा. अर्सिया लोखन्डवालाको परिकल्पनामा ‘फेमिनिस्ट फ्युचर्स:  आर्ट, एक्टिभिजम र साउथ एसियन वुमनहुड’ शीर्षकको कला प्रदर्शनी हुन लागेको जानकारी दिइन्।

आगामी माघ १२ देखि सुरु हुने ‘फेमिनिस्ट फ्युचर्स: आर्ट, एक्टिभिजम र साउथ एसियन वुमनहुड’ प्रदर्शनीमा दक्षिण एसियाका १० जना महिला कलाकारले आफ्ना सिर्जना प्रस्तुत गर्दैछन्।

दुई दिनसम्म चल्ने प्रदर्शनीमा भारतका चार, नेपालका तीन र श्रीलंका, पाकिस्तान र बाङ्लादेशका एकएकजना महिला कलाकारका सिर्जना समावेश गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार भारतबाट अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला एन, नेपालका अस्मिना रञ्जित, विधाता केसी र उमा विष्ट, श्रीलंकाकी अनोली परेरा, पाकिस्तानकी नाइजा खान र बंगलादेशकी तायबा बेगम लिपिका कलाहरू प्रदर्शनीमा राखिनेछन्।

‘नेपालको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एसियाली देशका महिला अधिकारका विषयसँग सम्बन्धित संघर्षसँग जोड्ने प्रयासस्वरूप प्रदर्शनी आयोजना गरिएको हो’, सर्राफ फाउन्डेसन तथा तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक सर्राफले भनिन्, ‘प्रदर्शनीले पितृसत्तात्मक संरचना, उपनिवेशकालीन धरोहर र लैंगिक राजनीति जस्ता विषयलाई समेत सम्बोधन गर्ने छ।’

प्रदर्शनीसहित ‘डिकोलोनाइजिङ द फेमिन: आर्ट, एजेन्सी एन्ड जेन्डर्ड पोलिटिक्स इन साउथ एसिया’ शीर्षकमा छलफलसमेत आयोजना हुनेछ।

‘प्रदर्शनीले दक्षिण एसियाली महिला कलाकारहरूको लचिलोपन र शक्तिलाई उजागर गर्ने प्रयास गरेको छ’, प्रदर्शनीको परिकल्पनाकार डा. लोखन्डवालाले भनिन्, ‘यसले दक्षिण एसियाको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एसियाली देशका महिला अधिकारका विषयसँग सम्बन्धित संघर्षहरूसँग जोड्ने प्रयास गरेको छ। महिलाको सम्मान र दमन गर्ने दक्षिण एसियाली समाजको गहिरो र जटिल संरचनाहरूको विश्लेषण प्रदर्शनीले गर्ने छ।’

प्रकाशित: ११ माघ २०८१ ०९:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App