काठमाडौं उपत्यकामा गम्भीर प्रकृतिका अपराधमा संलग्न आठ सय जनाभन्दा बढी व्यक्ति आठ महिनाको अन्तरालमा पक्राउ परी कारबाहीको दायरामा आएको नेपाल प्रहरी उपत्यका अपराध अनुसन्धान कार्यालयको तथ्यांकले देखाएको छ।
उक्त कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार गम्भीर प्रकृतिका अनुसन्धानमा सक्रिय रहँदा विभिन्न अपराधमा संलग्न आठ सय जनालाई नियन्त्रण लिइएको थियो। ती मध्ये ६ सय २१ जनालाई कारबाहीकै दायरामा पठाइएको छ भने कतिपय व्यक्तिहरू अहिले पनि अनुसन्धानका क्रममा निगरानीमा छन्।
‘पक्राउ परेकामध्ये कतिपय अपराधमा संलग्न थिए, कतिपय फरार थिए भने कतिपय कानुनलाई अटेर गरिरहेका थिए,’ एसएसपी भट्टराईले भने, ‘उनीहरू पनि कानुनको दायरामा आएका छन्, उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी अधिकृतहरूको सफल अनुसन्धानको परिणाम हो।
पछिल्लो पटक अपराध अनुसन्धान कार्यालयले भारतीय नागरिकले चिनियाँ नागरिक अपहरण गरेर भीमफेदी पुर्याएपछि त्यहाँबाट उद्धार गरेको विषय निकै चर्चामा रह्यो। भारतीयको अपहरणमा परेका चिनियाँ नागरिकले नेपालमा बसेर भारतीयसँग ‘स्क्याम’ गरी करिब पाँच करोड रूपैयाँ ठगी गरेपछि अपहरण परेको र कार्यालयको टोली पुगेर भीमफेदीबाट उद्धार गरेको थियो। अपहरणमा पर्ने चिनियाँ नागरिक वु हुवान हुवान थिए भने अपहरणमा संलग्न भारतीय नागरिकहरू सत्रक महाराष्ट्रका ३३ वर्षीय आशुतोष दत्तात्रय थोरट र ४० वर्षीय अफसर युनुस सेख तथा अहमद नगर पुनेका ३० वर्षीय अमोल खार्माटे र वर्ष ३० कै अम्बादस सिर्सत रहेका थिए।
एसएसपी भट्टराईका अनुसार अपहरित हुने र अपहरण गर्ने दुवैतर्फ प्रहरीलाई छल्न चाहन्थे तर उनीहरू पक्राउ परे। एसएसपी भट्टराईले दिएको जानकारीअनुसार चिनियाँहरूले आफूहरूमाथि स्क्याम गरी ठगी गरेपछि रकम उठाउने प्रयोजनका लागि मात्रै नियन्त्रणमा लिइएको भारतीयले बताएका छन्।
उनीहरूलाई प्रहरीले मकवानपुरको भीमफेदीको जंगलबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो। भारतीय नागरिकले प्रयोग गरेको गाडी पछ्याउँदै गएर प्रहरीले भीमफेदीबाट उनीहरूलाई पक्राउ गरेको थियो। उनीहरू प्रहरीले चेकजाँच गर्न थालेपछि गाडी नै छाडेर जंगलतिर भागेका थिए।
अपराध अनुसन्धान कार्यालयले अर्को रोचक अनुसन्धान गरेको छ। बौद्ध क्षेत्रमा नयाँ शैलीको जुवा खेलाउने गरिएको ठाउँमा पक्राउ परेका एक तिब्बती नागरिकसँग नक्कली नेपाली नागरिकता भेटिएके थियो। बौद्धको फूलबारीमार्गस्थित पुष्पा लामाको घरको दोस्रो तलामा ‘गेम जोइन’लेखिएको सटरको ‘फिस सट गेम’मा छापा मारेपछि यस्तो रहस्य खुलेको थियो। त्यहाँ जुवा खेलिरहेका सात जनालाई प्रहरीले नियन्त्रणमा लियो।
प्रहरीले उनीहरूका साथबाट १२ लाख नेपाली रूपैयाँ, चिनियाँ येन तीन हजार एक सय, अमेरिकी डलर दुई हजार र मोबाइलसमेत बरामद गरेको थियो। तिब्बती मूलका सोनाम तामाङ भनिने सोनाम, भारतको बिहार घर भई बौद्धको टुसालमा बस्दै आएका जाम्पा खेदुप, चीनको ल्हासा घर भई बौद्धकै तीनचुलीमा बस्दै आएका नार्बु साम्देन, चिनियाँ नागरिक दासाङ पक्राउ परेका थिए।
चिनियाँ नागरिक विई चुङलिङ, बौद्धको सिमलटारका तेन्जिङ नोर्बु शेर्पा र सिन्धुपाल्चोकको पाँचपोखरीका लोप्साङ लामालाई प्रहरीले पक्राउ गरेको थियो। त्यसक्रममा तिब्बती मूलका सोनाम तामाङ भनिने सोनामको नागरिकता धादिङबाट जारी गरिएको देखियो।
सोनाममाथि थप अनुसन्धान गर्दै जाँदा उनले किर्ते नागरिकता लिएको रहस्य खुलेको थियो। त्यसपछि डिएसपी खड्काको टोली सोनामको किर्ते नागरिकता बनाउने गिरोहसम्म पुगेर पक्राउ गर्न सफल भएको थियो।
सोनामको किर्ते नागरिकता बनाउने गिरोहका चारजनालाई समेत पक्राउ परेकाथिए। पक्राउ पर्नेमा धादिङको खनियाबास गाउँपालिका–५ का रामेश्वर रिजाल, धादिङकै नेत्रावती डबजोङ गाउँपालिका–१ का मदन तामाङ, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ का छिरिङ वाङदिङ शेर्पा र बौद्धमा बस्दै आएका तिब्बती मूलका छिरिङ ढुङडुप थिए।
तिब्बती नागरिक सोनामले चार लाख रूपैयाँ दिँदा गिरोहका सदस्यले नेपाली नागरिकता उनको कोठासम्मै पुर्याइदिएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको थियो। चिनियाँ नागरिक दासाङले खोलेको उक्त जुवाघर सञ्चालनको जिम्मा सोनामले पाएका थिए। सोही जुवाघर सञ्चालन गर्दा सोनामको भेट तिब्बती मूलका छिरिङ ढुङडुपसँग भएको थियो। सोनामले आफूलाई नेपालमा थप व्यवसाय गर्न नेपाली नागरिकता आवश्यक रहेको ढुङडुपलाई सुनाएपछि यसको प्रबन्ध भएको थियो।
एसएसपी भट्टराईका अनुसार वैदेशिक रोजगारीका नाममा ठगी भएको विषयमा पनि अनुसन्धान भएको थियो। एक हजार जनाभन्दा बढी पीडितहरूलाई वैदेशिक रोजगारीमा पोल्यान्ड, पोर्चुगललगायत देशमा आकर्षक तलब, भत्ता, सेवा, सुविधामा कामदारहरूको माग आएको भन्दै सामाजिक सञ्जालमा विज्ञापन पोस्ट गरी दुई करोड ५० लाख भन्दा बढी रकम ठगी गर्ने कार्यमा रेशम रावल, प्रेमबहादुर रावल, सुरेन्द्र तामाङ, सन्तवीर घिमिरे, राजेश साउद र टंकराज खनाललाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो।
तीन सय जनाभन्दा बढी पीडितलाई वैदेशिक रोजगारका लागि लिथुनियालगायत देशमा पठाइदिन्छु भन्दै १५ करोड रूपैयाँबराबरको रकम ठगी गर्ने राजकुमार भट्ट, पवन पन्त र नवीन विकलाई पक्राउ गरी ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान गरिएको थियो। यसैगरी १९ पीडितहरूलाई वैदेशिक रोजगारको लागि लिथुनिया, न्युजिल्यान्डलगायत देशमा पठाउने भनी एक करोड १८ लाख ८५ हजार रकम ठगी गर्ने कृष्णबहादुर बस्नेत र कमल ज्ञवालीलाई पक्राउ गरी ठगीसम्बन्धी कसुर मुद्दामा आवश्यक कारबाहीका लागि पठाइएको थियो।
केही दिनअघि अपराध अनुसन्धान कार्यालयको टोलीले रक्तचन्दन पनि बरामद ग¥यो। लामो समयदेखि गुमनाम कारोबार र तस्करी भइरहेको रक्त चन्दन बरामद गरेको हो। त्यसक्रममा रक्त चन्दनको अवैध कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका आठ घर भई हाल काठमाडौंस्थित पेप्सीकोला बस्ने वर्ष ४० का ज्ञानबहादुर तिमल्सिना र काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने वर्ष ४१ का रमेश थापा थिए। काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला क्षेत्रमा छापा मारेर ४३१ केजी रक्त चन्दन बरामद गरेको थियो। गत माघ १ गते बेलुकी उक्त क्षेत्रमा रहेको एक कोठामा लुकाइराखेको अवस्थामा रक्त चन्दन फेला परेको थियो। बरामद सामग्री २९ थान गोलिया स्वरूपको रहेको एसएसपी भट्टराईले बताए।
अपराध नियन्त्रणको दर बढ्यो: एसएसपी भट्टराई
काठमाडौं उपत्यकामा अपराध दर बढेको हो कि पक्राउ दर?
दुवै बढेका छन्। केही मात्रामा अपराध दर बढी देखिएको हो। त्योभन्दा पनि बढी अपराध नियन्त्रणका लागि प्रहरी अनुसन्धान दर बढेको तथा फरार अपराधी र आरोपी कानुनी दायरामा आएका हुन्।
काठमाडौं उपत्यकामा कस्ताकस्ता किसिमका अपराध हुने गरेका रहेछन्?
अहिले प्रविधिको विकाससँगै अपराध गर्ने प्रवृत्ति फेरिएको छ। खासगरी प्रविधिको विकासले ल्याएको सामाजिक सञ्जाल त्यसमा आएका सूचनाले गर्दा झुक्यानमा पारी अपराध गर्ने क्रम बढ्दो छ। यसको सहज निराकरण देखिँदैन। साथै बेरोजगारी समस्याले निम्त्याएको अर्को समस्या पनि देखिन्छ।
वैदेशिक रोजगारीका लागि आकर्षक तलब देखाएर हजारौं युवा ठगिएका छन्। कोही प्रहरीको सम्पर्कमा आउँछन्, कोही आउँदैनन्। तर अपराध अनुसन्धान कार्यालयमा आएका उजुरी र हाम्रो कार्यालयले पाएको सूचनाका आधारमा ठगी गर्ने ठुलो समूहलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ। साथै अर्कातर्फ सहकारी ठगीको विषय पनि छ। सहकारी ठगीसम्बन्धी उजुरी र ठगी गरी फरारहरू पनि पक्राउ गरी कानुनी कारबाहीको दायरामा पठाइएको छ।
अनलाइन ठगीका समस्या कस्ताकस्ता छन्?
फेसबुक ह्वाट्सएप, भाइबरलगायत च्याट ग्रुपबाट पार्सल आएको र त्यसका लागि केही रकम जम्मा गर्नुर्पो भनेपछि प्रलोभनमा परी सर्वसाधारण धेरै फसेको पाइयो। हाम्रो कार्यालयबाटै अनुसन्धान गरिएको एउटा उदाहरणलाई हेरौं न, पीडितलाई फेसबुकमा सम्पर्क गरी थाइल्यान्डमा सुनको व्यवसाय गर्ने कार दुर्घटनामा मृत्यु भएका एलेन अरबी श्रेष्ठको साइम कमर्सियल बैकको खातामा रहेको ८५ हजार (अमेरिकी डलर) दाबी गरी उत्तराधिकारी बनाई उक्त रकम आधीआधी बाँडेर लिनुपर्छ भनी विश्वास दिलाई पीडितको विवरण माग गरी विभिन्न प्रयोजनका लागि भनी विभिन्न व्यक्तिको खातामा रकम पठाउन लगाई जम्मा ९९ लाख ६४ हजार सात सय रकम ठगी गर्ने रोहित रन्जन यादवलाई पक्राउ गरेका थियौं। यस्ता उदाहरण धेरै छन्।
प्रकाशित: ११ माघ २०८१ ०६:२४ शुक्रबार