१० माघ २०८१ बिहीबार
image/svg+xml
समाज

ओलीको ‘लाइफलाइन’ सडक, यात्रुको ‘स्ट्रगल लाइन’ बन्यो !

छ वर्षदेखि निर्माणाधीन बुटवल-नारायणघाट सडक खण्डले स्थानीय र यात्रुलाई सास्ती मात्र थपिरहेको छ।

सवारी साधन घण्टौँ जाममा फस्नु, यात्रा कष्टकर हुनु, पुल भत्किनु, डाइर्भसन बग्नु, खाल्डाखुल्डीले गाडी र यात्रु दुवैलाई पीडित पार्नु र सडक किनारका बस्ती धुलोले भरिनु अब सामान्य दृश्य जस्तै भइसकेको छ।

यो आयोजना ६ वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। बुटवलको राजमार्ग चौराहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘चार वर्षभित्र बुटवलदेखि नारायणघाटसम्म चार लेनको फराकिलो सडकमा सलल गाडी गुड्नेछन्।’ तर चार वर्षमा सकिनुपर्ने भनिएको सडक निर्माण अहिले ६ वर्षमा पनि ५४ प्रतिशत मात्र सम्पन्न भएको छ।

सडक निर्माणमा ठेकेदारको चरम लापरबाही र सरकारको उदासीनताले गर्दा सर्वसाधारणले ठूलो दुःख पाएका छन्। अधिकांश स्थानमा सडक भत्काएर असरल्ल छोडिएको छ। कतै खाल्डाखुल्डी छन्, कतै निर्माण सामग्री बिच्छाइएको छ। वर्षामा हिलाम्मे हुने यो सडक सुख्खा मौसममा धुलाम्मे बन्छ। तीन घण्टामा पार हुने बुटवल-नारायणघाट यात्रा अहिले ६ देखि १० घण्टा लाग्ने गरेको छ।

पछिल्लो पुषको अन्तिम साता शीतलहरका कारण दाउन्ने क्षेत्रमा सडक चिप्लो भएपछि सवारी साधन रातभर जंगलमै रोकिएको थियो। यात्रुहरूले जाडोमा चिसो सहेर रात बिताउनुपरेको थियो भने केही यात्रु बिरामीसमेत परेका थिए।

सडक निर्माणमा न्यूनतम मापदण्डको पालना नगर्दा दुर्घटनाको जोखिम बढेको छ। एक प्रहरी अधिकारीका अनुसार अत्यधिक धुलो र चिप्लो सडकले दुर्घटना निम्त्याइरहेको छ। ‘निर्माणाधीन सडकको खाल्डाखुल्डी पुर्नु र ग्राभेल राख्नाले सडक सजिलो हुन्थ्यो, तर त्यसो गरिएको छैन,’ डिभिजन सडक कार्यालय बुटवलका एक अधिकारीले बताए।

सडक निर्माण सम्झौताअनुसार सवारी आवागमन सहज बनाउन आवश्यक मापदण्ड अपनाउनुपर्ने प्रावधान भए पनि ठेकेदारले सुरुदेखि नै लापरबाही गरेको स्थानीय प्रशासनको गुनासो छ।

ठेकेदारको काममा ढिलाइ

२०७५ साल माघमा ठेक्का सम्झौता भएको यो आयोजनाले २०७९ साल साउनसम्म निर्माण पूरा गर्ने लक्ष्य राखेको थियो। तर ठेकेदार चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले विभिन्न बहानामा म्याद थप्दै आएको छ। हालसम्म तीन पटक म्याद थपिएकोमा तेस्रो पटक थपिएको म्याद सकिन अब ६ महिना मात्र बाँकी छ।

ठेकेदारले म्याद थप गरेपछि ६ महिना काम नगरी बसेर पुष महिनाको अन्तिमदेखि मात्र काम थालेको हो। ‘यही गतिमा काम भए पनि आगामी ६ महिनामा सबै काम नसकिने भए पनि एकतर्फी कालोपत्रे सकिन्छ,’ आयोजनाका सूचना अधिकारी बेचन कुमार भण्डारीले जानकारी दिए।

हाल आयोजनाको पश्चिम र पूर्व खण्डमा कालोपत्रे गर्ने, पुल र कल्भर्ट बनाउने, दाउन्ने क्षेत्रमा पहाड काट्ने लगायतका काम तीव्र गतिमा भइरहेको निर्माण कम्पनीले जनाएको छ। तर ठेकदारको विगत हेर्दा यस पटकको काम पनि अधुरै रहने आशंका भने कायम छ।

प्रकाशित: १० माघ २०८१ १८:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App