सामान्य वादविवादको क्रममा साथीलाई गम्भीर घाइते बनाई फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नुवाकोट पञ्चकन्या गाउँपालिका–४ निवासी ४५ वर्षीय दीपक पण्डितलाई प्रहरीले पक्राउ गरेको हो। उनी हाल तारकेश्वर नगरपालिका–११, नेपालटारमा बस्दै आएका थिए।
तारकेश्वर नगरपालिका–१, साँग्लास्थित खाजा घरमा माघ २९ गते राति दीपकले नुवाकोट दुप्चेश्वर गाउँपालिका–५ निवासी रोशन पण्डितलाई सिसाको बोतल र गिलासले टाउको तथा शरीरका विभिन्न भागमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
घटनापछि फरार भएका दीपकलाई खोजी गर्ने क्रममा २०८१ माघ ९ गते अपराह्न ३:२० बजे बालाजु बाइपासस्थित प्रहरीले पक्राउ गरेको हो। उनलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ।
प्रहरी अभिलेखअनुसार दीपक पण्डित यसअघि पनि अभद्र व्यवहार, जुवा, र लागु औषध कसुरमा संलग्न रहेको पाइएको छ।
प्रकाशित: ९ माघ २०८१ २०:०६ बुधबार