सांस्कृतिक नगरी भक्तपुरमा बाँसुरीको धुन कुनै नौलो होइन । विभिन्न जात्रा तथा पर्वमा यहाँका गली बाँसुरीको धुनले गुन्जिने गर्छन् । तर विगत तीन दशकदेखि बज्दै आएको रमेश पाण्डेको बाँसुरीको आफ्नै कथा छ ।
बाल्यकालमै पितासँग भक्तपुर आएका महोत्तरीका त्यति बेला देखिनै बाँसुरी बजाउन थालेका हुन् । भक्तपुर घुम्न आएका पर्यटकलाई बाँसुरी बेच्दै आएका उनले बेच्नु अगाडी बजाउनु पर्ने बाध्यता सुनाउँछन् ।
‘बाँसुरी बेच्न पहिला राम्रो धुन सुनाउनु जरुरी हुन्छ,’ ४६ वर्षीय उनले भने, त्यसैले पर्यटकलाई मन पर्ने धुन बजाउन थाले ।’
प्रतिगोटा बाँसुरी ७ सय देखि १ हजारसम्म बेच्दै आएका उनले यसैको आम्दानीबाट सन्तानको पढाई तथा घर खर्च जुट्ने गरेको सुनाए । ‘बाच्नको लागि निस्केको आवाज हो यो,’ उनले भने, ‘सास फेर्नलाई सास फुक्दै छु ।’
भक्तपुरको दरवार स्क्वायर क्षेत्र, टौमडी तथा दत्तात्रय क्षेत्रमा बाँसुरी बजाउँदै हिँड्ने उनी पर्यटकलाई आफ्नो धुनले लोभ्याउने गर्छन् ।कहिले नेपाली लोक धुन त कहिले हिन्दी सिनेमा सङ्गीत बजाउँदै आएका उनले धुनको कुनै सीमा र धर्म नहुने सुनाउँछन् ।
‘मलाई सबै धुन प्यारो लाग्छ,’ उनी भन्छन्, ‘धुनको कुनै जात हुँदैन ।’ तर उनको केही गुनासो पनि छ । सानै उमेरदेखि भक्तपुरमा बस्दै आए पनि अझै पनि कतिपयले जातको आधारमा विभेद गर्ने गरेको पनि सुनाए । ‘सबैले त हैन अझै पनि केहीले जात र भूगोलको आधारमा विभेद गर्ने गरेको पाएको छु,’ उनी भन्छन्, ‘सङ्गीतको धुनजस्तै मानिसलाई पनि मन पराइदिए कति राम्रो हुन्थ्यो ।’
प्रकाशित: ९ माघ २०८१ १८:४४ बुधबार