९ माघ २०८१ बुधबार
image/svg+xml
समाज

लगैईय पछिया हावा जानलए क छोड्तै

सिरहाको गोलबजार नगरपालिकाले सडकको धुलो छोप्ने नाममा करोडौं रकम खर्चिसकेको छ । तर नगरपालिकाभित्रका विपन्नको शरीर ढाक्न न्यानो लुगा उपलब्ध गराउन सकेको छैन । जसका कारण वर्षैपिच्छेको शीतलहर उनीहरूका लागि कहर साबित भइरहेको छ ।

गोलबजार–११ बलकवानजिक मैनावती पुलमुनि लहरै सुकुमवासी मुसहरका ४० छाप्रा छन् । एउटामा बस्छिन् सुमित्रा सदा । चिथ्रा परेको सारीले छाप्रो बेरेर पश्चिमी हावाको सिरेटो छेक्दै दिनरात काटिरहेकी सुमित्रा भन्छिन्, ‘लगैईय पछिया हावा जानलए क छोड्तै (यो पछिया हावाले ज्यान लिएरै छोड्छ जस्तो छ) ।’ 

राति पर्ने शीतले परालले छाएको छाप्रो भिज्छ । बिहान त्यो शीतको थोपा ओछ्यानमा चुहिन्छ । ज्यान तताउने लुगाजति सबै भिज्छन् । सुत्ने परालको ओछ्यान चिसिन्छ । ‘जेनतेन भगवान् भरोसे जान बचल छै (जसोतसो भगवान् भरोसा ज्यान जोगिएको छ)’ उनी भन्छिन्, ‘हमर सबके सहारा भगवानबाहेक कोई नै भेल (भगवान् बाहेक हाम्रो सहारा कोहीभएन्) ।’ गोलबजार–१० मुसहरी टोलकी ४० वर्षीया कुन्ती सदाको व्यथा पनि सुमित्राको भन्दा कम दर्दनाक छैन । घाम लागेपछि ओछ्यानमुनि ओछ्याएको पराल बाहिर सुकाउँछिन् । राति चिसो भुइँले ओसिएको ओछ्यानको पराल दिनभरि घाममा न्यानो पारेर राति फेरि बिछ्याउनु उनको हिउँदको दैनिकी हो ।

‘घरमे सरकार एला पर जाड स गरिबके नै कठुवाई परतै कहैछेलै, सब झुठेके प्रचार छेलै (दैलोमै सरकार आएपछि गरिबले कठ्यांग्रिएर सास्ती खेप्नुपर्दैन भन्थे, सब झुटो प्रचार रहेछ),’ कुन्तीले भनिन्, ‘गरिबके सहारा दैबाला सरकार कतौने छै, घरमे सरकार एलो पर हमरा सबके देह आ बिछौना गरम नै भैलै (गरिबलाई सहारा दिने सरकार कतै छैन, दैलोमै सरकार आए पनि गरिबका लागि न्यायो आएन) ।’ सिरहाकै मिर्चैया नगरपालिका–७ स्थित तात्रीबारीकी शोभा सदाका लागि पनि शीतलहर कम्ता कष्टकर छैन ।

शरीर न्यानो पार्न न उनीसँग कम्बल छ न न्यानो कपडा नै । वर्षौं पहिले राहतमा पाएको कम्बलमा समेत भ्वाङ परिसकेको छ । त्यसमै उनको परिवार बेरिएर शीतलहर काट्दै छन् । शोभाजस्तै यहाँका १५ परिवार सुकुमवासीको बेहाल छ । मधेसका गाउँमा तीन दिनदेखि पुनः शीतलहर चल्न थालेको छ । चिसो हावा र शीतलहरले शरीर कठ्यांग्रिन थालेको छ । हुनेखानेलाई यसले असर नपारे पनि हुँदा खाने सुकुमवासी र विपन्न समुदाय मारमा परेका छन् । बनिबुतो गरेर दुई छाक जेनतेन टार्ने सुकुमवासीलाई चिसो छल्ने न्यानो कपडा र सिरक–डसना किन्न हैसियत हुँदैन । चिसो बढेपछि बस्तीका अभावपीडितहरू निदाउन सक्दैनन् । 

‘जाड बढ्ला पर राइतमे निन नै होइछै, लार पजाइर क आइगतापु त भँइयामे बिछाउब कथी (शरीर कठ्यांग्रिँदा राति निद्रा लाग्दैन, पराल बालेर आगो तापौं भने चिसो भुइँमा के बिछ्याउने) ?’ यही पिरलोमा दिनरात कटिरहेकी लक्ष्मिनियाँ सदा बताउँछिन् । जाडो छल्न उनले परालसँगै घरका पुराना कपडा बेरेर ओढ्ने र ओछ्याउने बनाएका छन् । सुकुमबासी टोलकी ६० वर्षीया सुदामा सदायले शरीर न्यानो बनाउन घुर (आगो) तापेरै रात बिताउने गरेको सुनाइन् । चिसो बढेपछि अति विपन्न र गरिब बस्तीमा परालकै सिरक–डसना र गुइँठा बालेर जीवनयापन गर्नु बाध्यता बनेको छ ।

गरिबलाई काल
मधेस प्रदेशका आठवटै जिल्लामा वैशाख–जेठको उखरमाउलो गर्मीभन्दा चिसो मौसम ज्यादै कष्टकर हुने विपन्नहरूको अनुभूति छ । गर्मी महिनाको टन्टलापुर घाममा काम गर्न सजिलो मान्ने विपन्न समुदायलाई जाडोले भने असाध्यै सताउँछ । ‘शीतलहर चलेका बेला काममा समेत जान नसक्ने अवस्था हुन्छ,’ दुखनी सदा भन्छिन्, ‘दिनभर आगो तापेर जिउ तताउनुपर्छ । न्यानो ओढ्ने नभएर रातभरि जिउ नतातेपछि भोलिपल्ट काम गर्न सकिँदैन ।’ गर्मीको तुलनामा जाडो मौसममा रोगव्याधि नलाग्ने भनिए पनि पोसिलो खाना र न्यानो कपडा अभावमा मुसहर समुदाय भने जाडोकै बेला बढी बिरामी पर्छन् ।

मधेसमा हरेक हिउँदमा बाक्लो हुस्सु लागेर शीतलहर चल्छ । शीतलहर सुरु भएपछि चोकचोकमा बाल्न दाउरा दिने र केही थान कम्बल बाँडेर स्थानीय सरकार आफ्नो जिम्मेदारी पूरा भएको ठान्छ । जबकि नागरिकको सबैभन्दा नजिकको सरकारले त शीतलहर र हुस्सुको सम्भावित विपत्को आकलन गरी समयमै गरिब तथा विपन्न घरपरिवार पहिचान गरी आपतकालीन कोष बनाउने र प्रतिकार्यमा आफूलाई तयारी अवस्थामा राख्नुपथ्र्यो । बेला छँदै प्रकृतिको यो चक्रसँग जुध्न प्रतिकार्यको योजना बनाउनुपर्नेमा तिनै तहका सरकार चुकेका छन् ।

नागरिकलाई शीतलहरबाट जोगाउन स्थानीय सरकार के गर्छ भन्ने दृष्टान्त खोज्न सिरहाकै लहान नगरपालिकाले गरेको काम हेरे पुग्छ । शीतलहरले पिरोलिएका लहान–४ को इस्लामपुरका ६० परिवारलाई नगरपालिकाले आइतबार न्यानो कम्बल, तकिया, ग्यास चुलो, सिलिन्डललगायत राहत सामग्री वितरण गरेको छ । शीतलहर र बाक्लो हुस्सुले जनजीवन प्रभावित भएपछि यहाँ स्थानीय प्रहरीसँगको सहकार्यमा नगरपालिकाले सार्वजनिक ठाउँमा आगो ताप्न दाउरा वितरण गरेको छ । न्यानो पाएपछि शीतलहरबाट पीडित विपन्नको मुहार उज्यालिएको देख्दा आफूलाई सन्तुष्ट महसुस भएको मेयर महेशप्रसाद चौधरीले बताए । यो क्रम निरन्तर चलिरहने उनको भनाइ छ ।

घुर नै सहारा
सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ सीतापुरकी सुनीतादेवी पासवान साँझबिहान परालको घुरमा ज्यान तताउँछिन् । एकसरो लुगाका भरमा शीतलहर कटाउनुपर्ने उनको बाध्यता छ । उनले जोडोसँग जिन्दगी जोड्दै भनिन्, ‘हाम्रो जाडोको सहारा नै घुर हो ।’ हावासँगै चलेको शीतलहरका कारण मुसहरलगायत विपन्न परिवार पीडामा परेका छन् । ‘बाँसको टाटीले बारेको घरमा चिसो हावा पसेर निदाउन सकिँदैन,’ स्थानीय जहरी देवीले कष्ट पोखिन, ‘दैनिक मजदुरी गरेर खानुपर्ने हामीलाई शीतलहर काल हो ।’ पराल ओछ्याई रात काट्ने गरेको उनले बताइन् ।

ऐलानी जग्गामा ७८ विपन्न परिवारको बसोबास रहेको यो सुकुमवासी पासवान बस्तीमा शीतलहरसँग चलेको पछिया हावाले कष्ट थपिदिएको छ । बस्तीकाप्रायः सबैको जीवनशैली उस्तै छ । सुत्ने, ओढ्ने, ओछ्याउनेदेखि खानपान पनि मिल्दोजुल्दो । जीवन धान्ने सहारा पनि उही अर्थात् मजदुरी । न्यानो लुगा जोड्ने आर्थिक हैसियत नभएको यो बस्तीका महिला–पुरुष पातलो कपडा ओढेर थरथर काम्दै घरधन्दा गर्छन् । असह्य जाडो भए उनीहरू परालको आगोमा जिउ तताउने गर्छन् । तर परालको आगो धेरै बेर टिक्दैन, निभिहाल्छ अनि फेरि उस्तै कँपाइ । ‘दाउरा कहाँबाट ल्याउनु हजुर,’ स्थानीय दुःखी पासवानले भने, ‘खाना पकाउन, सुत्नदेखि ताप्न परालकै सहारा छ ।’ गिरहत (जमिनदार) को खेतमा धान काटेबापतउ नीहरू पराल पाउँछन् ।

हुस्सुसँगै बिहान सिरसिर हावा चल्छक। त्यस्तो बेला विपन्न गरिब बस्तीका बुढापाका र साना बालबालिकालाई चिसोबाट जोगाउन हम्महम्मे पर्छ । मधेसको विपन्न बस्तीमा जाडो बढ्दै गएपछि दैनिकी कष्टकर हुन थाल्छक। विपन्न बस्तीमा ओढ्ने र ओछ्याउने न्यानो लुगा हुँदैन । चिसोबाट बच्न ओछ्याउने डस्नाका रूपमा घरभित्र पराल ओछ्याइन्छ । त्यसमाथि पुरानो फाटेका झुत्रे लुगाहरू सिलाएर घरमै बनाइएको भोटिया (डसना) ओढ्ने चलन छ । मधेसमा जाडोबाट बच्ने प्रमुख उपाय घुर ताप्नु (आगो ताप्नु) नै हो । विपन्न बस्तीमा ओढ्ने, ओछ्याउनेसहित लगाउने लुगासमेत न्यानो र गतिलो हुँदैन । घाम लागे त ठिकै हुन्छ तर जब हप्तौं र कहिलेकाहीँ महिनौं लाग्ने हुस्सुले गाउँ घेरिरहन्छ ।

घुर ताप्न दाउरा पर्याप्त हुँदैन । त्यस्तो अवस्थामा गुहाली (गोठ) भित्र र भान्साकोठामा सानो खाल्टो खनिन्छ । सुकेको पातपतिंगर, गुइँठा र केही दाउरा खाल्टोभित्र हालिन्छ । त्यसपछि आगो बालिन्छ । ओसिलो पातपतिंगरले आगो बल्दैन, धुवाँ मात्रै पुतपुताइरहन्छ । त्यही धुवाँको न्यानोमा बुढापाका, महिला र केटाकेटी जम्मा हुन्छन् । कतिपय ठाउँमा बुढापाकाहरू रातभरि त्यहीँ बस्छन् । हल्का न्यानोमा बस्दा बुढापाका त्यहीँ निदाउँछन् र कहिलेकाहीँ साडी÷धोतीमा आगो सल्किन्छ । मधेसमा घुर ताप्दा कपडामा आगो सल्केर जलेर मृत्यु भएको खबर नौलो होइन। घुर ताप्दाताप्दै चिसोको कारण बिरामीहुने र कठ्यांग्रिएर मर्ने घटना पनि अनौठा होइनन्, मधेसमा। घुरको आगोले मान्छे मात्रै होइन, पशु चौपाया समेत जल्ने गर्छन्।

प्रकाशित: ९ माघ २०८१ १२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App