ललितपुर महानगरपालिकाको शिक्षा महाशाखाका तत्कालीन अधिकृत शेषकान्त पौडेललाई विशेष अदालतले सफाइ दिएको निर्णयको विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ।
पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको दफा ३ को उपदफा (१) बमोजिम घुस लिएको आरोपमा एक लाख रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको थियो, तर विशेष अदालतले उक्त आरोपमा सफाइ दिएको हो।
विशेष अदालतले पौडेललाई २०८० फागुन ४ गते सफाइ दिएको निर्णयमा आयोगको चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
विशेष अदालतको निर्णयमा पौडेलले उजुरकर्तासँग घुस मागेको भन्ने आरोपमा पेस भएको श्रव्य दृश्य र सोको स्क्रिप्टले पुष्टि गर्न नसकेको र उजुरकर्ताले काम सम्पन्न भएपछि कृत्रिम रूपमा फोन सम्वाद र भिडियोका प्रमाण तयार गरिएको देखिएको दावी गरिएको थियो।
अख्तियारका अनुसार, पौडेलले ललितपुर महानगरपालिका-१२ स्थित मीननाथ आदर्श आधारभूत विद्यालयमा सरुवा हुने निवेदकलाई सरुवा सहमतिको चिठ्ठी बनाइदिने सर्तमा एक लाख रूपैयाँ माग गरेका थिए।
अख्तियारको दाबी अनुसार, पौडेलले एक लाख रूपैयाँ माग गर्दा उक्त रकम निवेदकले आफैंले व्यवस्था गरेर घुस माग गर्दाको अडियो रेकर्ड पनि आयोगमा पेश गरेको छ।
पौडेलले उक्त रकम माग गर्दा फोन कॉल र कल डिटेल्स रेकर्ड (सीडीआर) समेत प्रमाणको रूपमा प्रस्तुत गरिएको थियो।
प्रकाशित: ८ माघ २०८१ १७:१८ मंगलबार