नजिकमा रहेको सिप्लक खोला। अनि छाँगाबाट झरेको पानीबाट सिर्जित छाँगा खोला। यही बीचमा रहेको सुन्दर झरनाको नाम हो-मेरिङदेन झरना। मेरिङदेन गाउँपालिका-१ थिङ्लाबुलाई मुख्य आवरणमा राखी मैवाखोला गाउँपालिका– ६ फाकुम्बा साम्तुङको सीमा क्षेत्रमा रहेको मेरिङदेन झरनाबाट माघ महिनाको पहिलो साता पनि अटुट र छङछङ पानी झरिरहेको छ।
वारिपट्टि थिङलाबु तथा छाँगाखोला र सिप्लक खोला पार गरेपछि पारिपट्टि पुगिने ठाउँ मैवाखोलाको साम्तुङ झरना अवलोकनका लागि पुगेका पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य पानी नपरेको समय र सुख्खा महिना माघमा समेत झरनामा देखिएको पानीको मात्राले मेरिङदेन झरना सुन्दर र आकर्षक रहेको पुष्टि हुने बताउँछन्। ‘झरना त यस्तो पो त भन्ने नै अवस्था नै देखियो’, फुङलिङबाट झरना अवलोकनका लागि पुगेका डिल्लीरमण पौडेलले यस्तो प्रतिक्रिया दिए।
मेरिङदेन झरनाको अर्को विशेषता पनि छ। एक काम दुई पन्थ भनेझैं मेरिङदेन झरना दुईवटा झरनाको संगम बनेको छ। माथितिर एउटा र तलतिर अर्को। एउटै गन्तव्यबाट दुईवटा झरनाको अवलोकन हुने भएपछि मेरिङदेन झरना अवलोकनकर्ताका लागि भने आकर्षणको केन्द्र बन्दै गएको छ।
मेरिङदेन गाउँपालिका-१ थिङलाबुका शिशिर लिम्बु झरना अवलोकन गर्न जाने पाहुनाका साथमा लागेर धेरैपटक मेरिङदेन झरना पुगें। ‘पहिला त त्यति मान्छे आउँदैनथे, अहिले त झरना हेर्न आउनेहरू थुप्रै हुन्छन्’, शिशिरले आफ्नै शैलीमा भने।
झरना स्थल पुग्न करिब दुई घन्टाको पैदल मार्ग प्रयोग गर्नुपर्छ। थिङलाबुको लेचुवा र मैवाखोलाको सामतुङ दुवैतर्फबाट झरना स्थल पुग्न सकिन्छ। पैदलमार्ग केही मर्मत–सम्भार गर्नुपर्ने अवस्था भए पनि छोटो मार्ग भएकाले थिङलाबुको लेचुवाबाट अवलोकनकर्ता ठूलो संख्यामा झरना हेर्न जाने गरेको थिङलाबु लेचुवाका गजेन्द्र एभेङ बताउँछन्। यो साल मात्र समूहमा निकै मानिस मेरिङदेन झरना पुगिसकेको उनले जानकारी दिए।
झरना स्थल जानेहरू प्रायः लेचुवामा बास बसेर भोलिपल्ट बिहान अवलोकनका लागि जाने गरेको उनको भनाइ छ। झरनाको अवस्था र अवलोकनकर्तालाई झरनाप्रतिको आकर्षण बताउन लागिपरेका स्थानीय सूर्यमान ओख्राबु मेरिङदेन झरना अर्गानिक स्थल र मनोरमको केन्द्र रहेको जिकिर गरे। लेचुवातर्फबाट झरनास्थल लाग्दा देखिने प्राकृतिक बनावट, भेडीगोठ तथा वस्तुभाउ खर्क, स्थानीय गाउँले परिवेश त्यहाँका विशेषता रहेको ओख्राबुले बताए।
एउटा डाँडो काटेर माथिबाट हेर्दा देखिने जोरढुङ्गा, लुम्बासुम्बा हिमाल, भीरमा मौरीको गोदामस्थलझैं देखिने भीर मौरीको घार, बहुमूल्य वन्य जीवहरूको क्रीडास्थलको बीचबाट पुगिने झरनास्थल साँच्चै आकर्षक र मनमोहक रहेको अनुभव बटुले पत्रकार आनन्द गौतमले बताए। उनी भन्छन्, ‘पूर्वाधार र घरवास केन्द्र व्यवस्थापन गर्न सके मेरिङदेन झरनाको भविष्य सुन्दर छ।’
मेरिङदेन गाउँपालिका-१ थिङलाबुका वडाध्यक्ष सविनकुमार चोङवाङ मेरिङदेन झरनालाई प्रमुख पर्यटकीय स्थल बनाउने विषयमा संघीय र प्रदेश सरकारले समेत सहयोग गर्ने विश्वास व्यक्त गर्छन्। ‘वडा र पालिकाका तर्फबाट गर्ने विषय हामी गर्छौं, तर यसको बृहत्तर विकासमा हाम्रो मात्र प्रयत्न पर्याप्त हुँदैन’, वडाध्यक्ष चोङवाङले भने, ‘यसको महत्व बुझेर संघीय र प्रदेश सरकारबाट समेत सहयोग प्राप्त भएमा मेरिङदेन झरना पर्यटकको रोजाइको केन्द्र बन्ने छ।’
मेरिङदेन झरनाका लागि पदमार्गको व्यवस्थापन गर्नु, व्यवस्थित होटल तथा घरवास केन्द्र (होमस्टे) व्यवस्थापन गर्नु, झरना आसपासमा पर्यटकका लागि चाहिने आवश्यक पूर्वाधार बनाउनु प्रमुख आवश्यकता रहेको वडाध्यक्ष चोङवाङको भनाइ छ। मेरिङदेन झरना पर्यटकका लागि रोजाइको केन्द्र बन्नेमा दुईमत नरहेको पर्यटकीय स्थलहरूको प्रचार र प्रवद्र्धनमा सक्रिय हेमराज निरौला बताउँछन्।
प्रकाशित: ८ माघ २०८१ ०८:५९ मंगलबार