२४ चैत्र २०८१ आइतबार
image/svg+xml ४:५४ पूर्वाह्न
समाज

भूकम्पबाट बच्न बलियो संरचना आवश्यक

भूकम्प सुरक्षा दिवसका अवसरमा बुधबार सिन्धुलीमाढीमा आयोजित प्रभातफेरी। तस्बिर: अनिल/ नागरिक

भूकम्पबाट बच्न बलियो संरचना बनाउनुको विकल्प नभएको सरोकारवालाले बताएका छन्। २७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा बुधबार प्रभातफेरी तथा सचेतनामूलक कार्यक्रम गर्दै सरोकारवालाले भूकम्पले भन्दा पनि आफूले बनाएको संरचनाले क्षति गर्ने बताएका हुन्।

सहरी विकास तथा भवन कार्यालयको संयोजन तथा जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आयोजनामा भूकम्पसम्बन्धी सचेतना तथा प्रभातफेरी कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको सहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख दुर्गा घिमिरेले जानकारी दिए। ‘भूकम्प जस्ता प्राकृतिक प्रकोप कहिले आउँछ त्यो थाहा हुँदैन’, उनले भने, ‘त्यसैले हामीले पूर्वतयारी गर्नुपर्छ।’

सहरी विकास कार्यालयले भूकम्पसम्बन्धी जनचेतनामूलक पम्प्लेटसमेत वितरण गरेको थियो। सो अवसरमा प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले भूकम्पले भन्दा पनि मानवीय संरचना बलियो नहुँदा क्षति हुने गरेको बताए।

मापदण्डअनुसार आवास तथा भवन बनाउनुपर्ने बताए। ‘स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारले बनाएका नियम पालना गर्न सके हामी आफैं सुरक्षित हुन्छौं’, उनले भने, ‘भूकम्पबाट बच्न पहिल्यै सावधानी अपनाउनुपर्छ र भूकम्पप्रतिरोधी संरचना बनाउन सबैले ध्यान दिनुपर्छ।’

भूकम्पसम्बन्धी सचेतनामूलक प्लेकार्डसहित जिल्ला रेडक्रस शाखाको भवनअगाडिबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमा गरी लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख, सुरक्षाकर्मी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

प्रकाशित: ३ माघ २०८१ ०९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App