आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा गल्लीहरूमा काठमाडौँ महानगरपालिकाले ड्राइराइजर प्रणाली जडान गरिरहेको छ। यो कार्य विपद व्यवस्थापन विभागको पहलमा भइरहेको छ, जहाँ केन्द्रबाट हुने योजना र वडाहरुले आफ्नै बजेटबाट प्रणाली जडान गरिरहेका छन्।
वडा नं. ३ को सुरुङ् गल्ली, वडा नं. ६ को संगम टोल, वडा नं. ७ को कुटी गल्लीसहित वडा नं. १०, १५, १६, र १७ का विभिन्न गल्लीहरूमा ड्राइराइजर जडान भएको छ। महानगरका अनुसार, वडा नं. १० मा मंगल गल्ली, मुल्मी गल्ली, घण्टी गल्ली, तीनधारा गल्ली, र कलाकार गल्लीमा पाइप जडान भएको छ।
जडान भएका पाइपको परीक्षण जुद्ध बारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रकहरूले गरिरहेका छन्। दमकल नपुग्ने साँघुरा सडक र गल्लीमा आगो निभाउन ड्राइराइजर प्रयोग गरिन्छ, जुन सुख्खा पाइप लाइन हो। नियमित पानी बगेमा यसलाई वेटराइजर भनिन्छ।
ड्राइराइजरमा दुवैतर्फ इनलेट भल्व र ४५-७५ मिटरमा आउटलेट हुन्छ। दमकलको पानी इनलेटमा राखी, आवश्यकताअनुसार आउटलेटबाट पानी लिन सकिन्छ। डेलिभरी होर्जबाट आगो नियन्त्रण गरिन्छ र ८ बार प्रेसरमा पानी ७ तले भवनसम्म पुग्न सक्छ।
प्रकाशित: २ माघ २०८१ ०८:४७ बुधबार