सवारी दुर्घटना मुद्दामा केन्द्रीय कारागार काठमाडौंमा पुर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिको मृत्यु भएको छ। काभ्रेको पाँचखाल नगरपालिका–१ का लालबहादुर तामाङको सोमबार राति मृत्यु भएको हो ।
उनी झन्डै दुई वर्षदेखि थुनामा थिए। २०७९ फागुन २७ गते ओखलढुङ्गाबाट काठमाडौँ आइरहेको बा २ ख ६५९६ नम्बरको बस सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा भित्तामा ठोक्किएर दुर्घटना भएको थियो । सो घटनामा ६ जनाको ज्यान गएको थियो ।
सिन्धुली बस दुर्घटना: ६ जनाको मृत्यु, ३० जना घाइते | Nagarik News
लालबहादुर त्यहीँ बसका चालक हुन्। उनैले चलाएका बेला त्यो दुर्घटना भएको थियो । त्यहीँ दुर्घटनाको मुद्दामा जिल्ला अदालत सिन्धुलीले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
परिवार स्रोतका अनुसार बस मालिकले समयमै मृतकलाई क्षतिपूर्ति नदिलाइदिँदा मुद्दाको अन्तिम सुनुवाइमा ढिलाइ हुँदै आएको थियो ।
उक्त दुर्घटनामा चालक लालबहादुर पनि घाइते भएका थिए । उनको टाउकामा सिसा रहेको स्रोतले बतायो । जसको उनी उपचार गरिरहेका छन् । दुर्घटनाको केही समय उनी सिन्धुली कारागारमै थुनामा थिए।
उपचारका लागि भन्दै अदालतको अनुमति लिएर उनी पछिल्लो ८÷९ महिनायता केन्द्रीय कारागारमा जेल सरुवा भएर आएका थिए । लालबहादुरका छिमेकी शेखर बजगाईँका अनुसार सोमबार दिउँसो लालबहादुर सामान्य थिए ।
लालबहादुरलाई भेट्न श्रीमती विनीता तामाङले तीन बजे कारागार पुगेकी थिइन् । करिब एक घण्टा उनी श्रीमतीसँग गफिएका थिए । उनले श्रीमतीसँग ‘आफ्नो स्वास्थ्य अवस्था राम्रो रहेको’ र ‘जेलमा पनि केही नराम्रो नरहेको, आनन्द छ’ भनेका थिए ।
त्यसपछि राति ३ बजे अकस्मात् जेलबाट उनको मृत्युको खबर परिवारसम्म पुग्यो। दिउँसो सामान्य अवस्थामा भेटिएका लालबहादुरको मृत्युबारे आफन्तले शङ्का गरिरहेका छन् ।
यता केन्द्रीय कारागार प्रशासनले भने लालबहादुरको मृत्यु हृदयाघातका कारण भएको बताएको छ । कारागार प्रशासनका अनुसार उनलाई राति १२ बजे हृदयाघात भएको थियो । लगत्तै ड्युटीमा रहेको टोलीले उनलाई कारागारभित्रै रहेको अस्पतालमा लगेको थियो । तर, उनको ज्यान भने जोगाउन नसकिएको केन्द्रीय कारागारका प्रमुख कृष्णबहादुर कटुवालले बताए ।
‘उहाँलाई त्यहाँ रहेको टोलीले समयमै लगेर उपचार गराउन कोसिस गरेको हो । बचाउन सकिएन,’ उनले भने। परिवारमा देखिएको शङ्का वा असन्तुष्टि सामान्य नै रहेको उनी बताउँछन् ।
‘परिवारलाई दुःख लाग्नु स्वाभाविक हो । तर, यहाँ हाम्रो केही कमजोरी छैन । हामीले उहाँको बस्ने,सुत्ने, खाने सबै कुरा देखाइदियौँ । उहाँले गरेको शङ्का अब दूर भएको हुनुपर्छ,’ उनले भने, ‘यसै गरी हामीकहाँ दिनहुँ वा तीन चार दिनमा कोही न कोहीको मृत्यु भइराख्छ । चार हजार मान्छे भएको ठाउँ हो ।’
लालबहादुरको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको छ ।
प्रकाशित: १ माघ २०८१ १७:११ मंगलबार