४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

सिन्धुली बस दुर्घटना: ६ जनाको मृत्यु, ३० जना घाइते (अपडेट)

ओखलढुङ्गाबाट काठमाडौँ तर्फ जाँदै गरेको बस मध्य पहाडी राजमार्गमा दुर्घटना हुँदा सहचालक सहित ६ जनाको मृत्यु भएको छ भने बसका चालक सहित ३० जना घाइते भएका छन्।

ओखलढुङ्गाबाट काठमाडौँ तर्फ आइरहेको बा २ ख ६५९६ नम्बरको बस मध्य पहाडी राजमार्गस्थित सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुइभिर भन्ने स्थानमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जिवी दाहालले जानकारी दिए।

दाहालका अनुसार राजमार्गको भित्तामा बस ठोक्किएर दुर्घटना हुँदा तीन महिला १ र तीन पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा बसका सहचालक ओखलढुङ्गा जिल्ला मानेभन्ज्याङ गाउँपालिका ६ का २४ वर्षीय देवबहादुर सार्की, सोही जिल्लाको सिद्धिचरण नगरपालिका २ बस्ने २९ वर्षीय पेशल भुजेल, उदयपुर जिल्लाको कटारी नगरपालिका २ की अन्दाजी ३५ वर्षीय कुमारी क्याप्छाकी मगर, ओखलढुङ्गा सिद्धिचरण नगरपालिका ५ की ३२ वर्षीय जोशना राई, ओखलढुङगाकै चिसंखु गाउँपालिका ४ को संजित राई, र ओखलढुङ्गा सिद्धिचरण गाउँपालिका ५ की ४० वर्षीय राधा भुजेको रहेका छन्।

यस्तै दुर्घटनामा परि तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। गम्भीर घाइते हुनेमा सोलु जुगु गाउँपालिका बस्ने शान्ता सेन्चुरीको छोरा वर्ष ३ को सनिम सेन्चुरी, ओखलढुङ्गा मानेभन्जयाङ गाउँपालिका ६ बस्ने २४ वर्षीय श्रीदेवी राई र एक जना नाम नखुलेका पुरुष गम्भीर घाइते भएको र उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जिवी दाहालले जानकारी दिए। अन्य २६ जना घाइतेलाई सिन्धुलीको गोलञ्जोर गाउँपालिका खुर्कोटस्थित शुभजिवन अस्पताल तथा सुनकोसी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बसका चालक काभ्रे पाँचखाल नगरपालिका १ का ४५ वर्षीय लालबहादुर तामाङ दाहिने आँखामाथि चोट रहेको र सामान्य उपचार पश्चात् थप उपचारका लागि केएमसी अस्पताल सिनामङगल काठमाडौँ पठाइएको डिएसपी दाहालले जनाए।

बस भित्तामा ठोक्किएकाले बसको देब्रे साइडका यात्रुको मृत्यु भएको स्थानीय गंगाराम पहाडीले जानकारी दिए। भित्तामा बस ठोक्किएर यात्रु चापिएपछि फिक्कल गाउँपालिकाको जेसीभी मेसिनले बस तानेर मृतकका शव तथा घाइतेलाई निकालिएको थियो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बस तीव्र गतिका कारण आफै अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बस दुर्घटनामा परि मृत्यु भएका पाँच जनालाई ओखलढुङ्गा र एक जनालाई जिल्ला अस्पताल सिन्धुलीमा पोष्टमाटमका लागि पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ फाल्गुन २०७९ १४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App