२ माघ २०८१ बुधबार
image/svg+xml
समाज

सगरमाथा आरोही भट्टराईलाई गृह जिल्ला ताप्लेजुङमा सम्मान

दुई-दुई पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने ताप्लेजुङको हाङदेवाका अनिल भट्टराईलाई गृह जिल्लामा सम्मान गरिएको छ। जिल्ला समन्वय समिति ताप्लेजुङ र नेपाल नेत्रज्योति संघले भट्टराईलाई सम्मान गरेको हो।

पर्यटन व्यवसायी समेत रहेका भट्टराईले सन् २००५ को जुन ४ तारेखका दिन पहिलो पटक र सन् २००८ को अप्रिल २३ तारेखका दिन दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। भट्टराई ब्राह्मण समुदायबाट सगरमाथाको सफल आरोहण गर्ने पहिलो व्यक्तिको रूपमा कहलिएका छन्। जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, उपप्रमुख कृष्णप्रसाद लिङखिम, निमित्त जिल्ला समन्वय अधिकारी युवराज पौडेल तथा जिल्ला समन्वय समितिका सदस्यहरूले भट्टराईलाई सम्मानपत्र हस्तान्तरण गरेका छन्।

उता नेपाल नेत्रज्योति संघ ताप्लेजुङ तथा संघद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले पनि भट्टराईको साहसको कदर गर्दै सम्मान पत्र हस्तान्तरण गरेको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिए। भट्टराईले सगरमाथाका अलावा ८ हजार २ सय १ मिटर उचाइको चोयू र ६ हजार ४ सय ७० मिटर उचाइको मेरा पिक हिमालको समेत सफल आरोहण गरेका छन्।

भट्टराईले पहिलो पटक कम उमेरमा सगरमाथा आरोहण गर्ने बेलायती नागरिकको कामदारका रूपमा उत्तरी मोहडाबाट सगरमाथाको आरोहण गरेका थिए। दोस्रो पटक भने उनले दुई ब्राजिलियन आरोहीहरूको सहयोगीकै रूपमा दक्षिणी मोहडाबाट सगरमाथाको सफल आरोहण गरेका थिए।

ताप्लेजुङमै छँदा २०५१ सालतिर सोलुखुम्बुका एक शेर्पा साथीसँगको चिनजानपछि २०५१ सालदेखि उनी ट्रेकिङतर्फ होमिएका थिए। सुरुमा विदेशीको भरिया सहयोगी बनेर हिमालतर्फ लागेका भट्टराईले केही समय विदेशी आरोहीको ‘कुक’को रूपमा समेत काम गरेका थिए। पछि भने उनले आफैँ सगरमाथाको सफल आरोहण समेत गरेर नाम कमाए।

हिमाल चढ्दा चढ्दै उनले आरोहण कम्पनी हिमालय एस्कासिटी समेत स्थापना गरेर सञ्चालन गरिरहेका छन्। उनी काठमाडौँमा होटल व्यवसाय समेत सञ्चालन गर्छन्।

प्रकाशित: २९ पुस २०८१ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App