२९ पुस २०८१ सोमबार
image/svg+xml
समाज

सिक्टाको ‘अकलघरुवा’ शाखा नहर सञ्चालन

सिक्टा सिचाई आयोजनाको पश्चिम मूल नहर अन्तर्गत रहेको अकलघरुवा शाखा नहर। तस्बिर: सिक्टा सिचाई आयोजना

सिक्टा सिँचाई आयोजनाको पश्चिम मूल नहर अन्तर्गत रहेको ‘अकलघरुवा’ शाखा सञ्चालनमा ल्याइएको छ।

आयोजना कार्यालयका अनुसार पश्चिम मूल नहर अन्तर्गत ७ वटा शाखा नहर रहनेछन्। यी मध्ये अकलघरुवा शाखा नहर निर्माणको काम सम्पन्न गरेर सञ्चालनमा ल्याइएको आयोजना निर्देशक राजु आचार्यले जानकारी दिए।

उनका अनुसार उक्त शाखा नहरको लम्बाई ४ दशमलव ९९० किलोमिटर रहेको छ। ‘चण्डी सैनामैना आयुस जेभी’ कोहलपुर बाँकेले आर्थिक वर्ष २०७९/०८० मा ठेक्का सम्झौता गरेर काम अगाडी बढाएको थियो।

आयोजना निर्देशक आचार्यले अकलघरुवा शाखा नहर सञ्चालनमा आएसँगै किसानले हिउँदे बालीमा सिँचाई गर्न पाउने बताए। ‘किसानलाई अहिले हिउँदे बालीनालीमा सिचाई गर्न पानी आवश्यक छ, उहाँहरूको मागलाई मध्यनजर गर्दै हामीले शाखा नहर सञ्चालन गरी पानी छाडेका हौं,’ आचार्यले नागरिकन्यूजसँग भने।

उक्त शाखा नहरमार्फत १ हजार ३ सय ५८ हेक्टर जमिनमा सिँचाई गर्ने लक्ष्य राखिएको छ। कुल ११ करोड ७२ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त शाखा नहरबाट कोहलपुर नगरपालिका वडा नम्बर-६, ९, १५ र १६ तथा खजुरा गाउँपालिकाको वडा नम्बर-४ र जानकी गाउँपालिकाको वडा नम्बर-६ का किसान लाभान्वित हुने आयोजना कार्यालयले जनाएको छ।  

आयोजनाको पश्चिम मूल नहर अन्तर्गत पर्ने ७ वटा शाखा नहर मध्ये डुडुवा शाखा नहरको हालै मात्र ठेक्का खोलिएको छ, भने सिधनवा, पेडारी, टिहिरिया लगायत शाखा नहरको काम निर्माणाधीन अवस्थामा रहेको छ।

डुडुवा शाखा नहरमा यसअघि लामो समयसम्म ठेकेदारसँग चलेको विवादलाई अदालतले टुंगो लगाएपछि पुनः ठेक्का खोलिएको हो। आयोजनाले पश्चिम मूल नहर निर्माणको काम भने यसअघि नै सम्पन्न गरिसकेको छ।

तर, शाखा नहरहरूमा निर्माणका काम भने पुरा हुन सकेका छैनन्। पर्याप्त बजेट विनियोजन नहुनु, मुआब्जा विवाद लगायत विभिन्न कारणले गर्दा शाखा नहर निर्माणको काम समयमै पुरा हुन नसकेको यहाँका कर्मचारी बताउँछन्।

आयोजनाको पूर्वी मूल नहरको काम पनि अधुरै रहेको छ। पूर्वी मूल नहरको नरैनापुर क्षेत्रमा काम रोकिएको हो। आयोजना कार्यालयका अनुसार पश्चिम मूल नहरमार्फत ३३ हजार ७ सय ६६ हेक्टर र पूर्वी मूल नहरमार्फत ९ हजार हेक्टर क्षेत्र गरी कुल ४२ हजार ७ सय ६६ हेक्टर क्षेत्रमा सिचाई गर्ने सरकारको लक्ष्य रहेको छ। आयोजनाले बाँकेको राप्ती सोनारी–२ अगैयास्थित पश्चिम राप्ती नदीमा ब्यारेज निर्माण गरेको छ।

प्रकाशित: २८ पुस २०८१ १९:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App