३ माघ २०८१ बिहीबार
image/svg+xml
समाज

युद्धभूमिका सिपाही पृथ्वीनारायण शाह

सन्दर्भ: पृथ्वीजयन्ती

आधुनिक नेपालको इतिहासमा पृथ्वीनारायण शाहको व्यक्तित्वलाई सिपाहीको आँखाले विशिष्ट स्थानमा राख्छ। करिब ३१ वर्षको राज्यकालमा १८०० सालदेखि १८२५ सालसम्म पृथ्वीनारायण शाह नेपाल एकीकरणको युद्धभूमिमै थिए।

नेपाल एकीकरण र विदेशी विस्तारवादविरुद्ध युद्ध सञ्चालन गर्न १५ वर्षजति दहचोक–इन्द्रदहमै मुकाम गरे। थाहा भएका मात्र करिब १० वटा युद्धको नेतृत्व गरी आफैं लडे। १८२६ सालमा काठमाडौं उपत्यका पूरै एकीकरण गरेपछि सुनकोसीपूर्व टिस्टा–मोरङका युद्धहरूको खटनपटन र व्यवस्थामै व्यस्त रहे। १८३१ सालमा उनको मृत्यु भयो। चीनका सैन्य रणनीतिज्ञ सुन्जु र पृथ्वीनारायण शाहको रणनीतिलाई तुलनात्मक अध्ययन गर्ने हो भने पृथ्वीनारायण शाहको महानता संसारले बुझ्नेछ।

२०/२१ वर्षे ठिटो राजालाई मोजमस्ती गरेर बस्नुभन्दा राज्य विस्तार गरी अन्ततः नेपाल एकीकरण सुरु गर्न मन लाग्यो। उसबखत टिस्टा नदीपश्चिम र महाकाली (काली) नदीपूर्व झन्डै ६० वटा साना राज्य थिए। ती सबै राज्य विशाल नेपाल टुक्रिएर बनेका नेपालभित्रकै साना नेपाल थिए।

१८२५ सालसम्म पनि ती ६० साना राज्यभित्र नेपाल भन्ने राज्य कुनै थिएन। बोलाइ र सम्बोधनका रूपमा काठमाडौं उपत्यकालाई नेपाल भनिन्थ्यो। तर त्यहाँ पनि भक्तपुर, ललितपुर र कान्तिपुर नामका राज्य थिए। गोर्खा, लमजुङ, कान्तिपुर, मकवानपुर, जुम्ला आदि सबै साना राज्य नेपाल नै थिए। तिनै छरिएका टुक्रे नेपाललाई एउटै माला बनाई बृहत् नेपाल अर्थात् ग्रेटर नेपाल बनाउने काम गोर्खा राजवंशीय द्रव्य शाहका सन्तानले नै सुरु गरी आधुनिक नेपाल निर्माणमा नेतृत्व लिएकै हुन्। सो काममा सम्पूर्ण नेपालीको उत्तिकै सहयोग र साझेदारी छ।

१८०० सालमा उनले कान्तिपुर राज्यको नुवाकोटमाथिको हमला असफल हुनुको कारणबारे भारदारसँग विश्लेषण गरे र बनारस पुगी हातहतियार, गोली, बारुद बनाउने कालीगढहरू ल्याई हतियार, गोलीसमेत खरिद गरे। बलियो सैनिक संगठन बनाए। उनका पिता नरभूपाल शाहको पालामा र उनकै पालामा भएको नुवाकोटमाथिको दुवै असफल हमलामा विशेषगरी गोर्खाका पन्त बाह्मण तथा मगर सैनिक भारदारबिच भएको मनमुटाव नै थियो। सो कुरा बुझेर अब हुने नुवाकोटमाथिको हमला आफू र आफ्ना भाइहरूकै नेतृत्वमा गर्ने निर्णय गरे। किनकि हाम्रो पुरानो युद्ध रणनीति रामायण र महाभारतकालीन थियो। अर्थात् राजाले नै लडाइँको नेतृत्व गर्ने परम्परा थियो।

यो कुरा राजा पृथ्वीनारायण शाहले बुझेका थिए। त्यसैले उनले ज्यानको माया नगरेर लडाइँको नेतृत्व लिएका थिए। यो परम्परा नेपाली सेनामा धेरै पछिसम्म थियो। अर्थात् राजाका ठाउँमा सेनापतिहरू लडाइँमा अघि लाग्थे। जब नेपाली सेनाले पहिलो विश्वयुद्धमा भाग लिन भारत पुगी ब्रिटिस युद्धकला सिके, हाम्रो परम्पराको ठ्याक्कै उल्टो लडाइँको कला देशमा भित्रियो। अर्थात् ठुला सैनिक कमान्डर पछाडि बस्ने र लडाइँका अगाडिको मोर्चामा साना कमान्डरलाई लगाउने परम्परा बस्न थाल्यो।

 ब्रिटिसका हजारौं काला सिपाही, एसियाका सिपाहीलाई चारपाँच जना गोराले नेतृत्व गर्थे। अनि गोरा लडाइँको पछाडि बसी ज्यान जोगाउँथे। यो सैनिक युद्धकला नेपालीका लागि अहिले पनि गल्ती छ। हामीले हाम्रो रगतअनुसारको पृथ्वीनारायणकालीन अर्थात् कमान्डर अगाडि लागि लडाइँको नेतृत्व लिने परम्परा अँगाल्नैपर्छ।

पृथ्वीनारायणले सोहीअनुसार त्रिशूली खोलाको शुभघाटबाट त्रिशूली तरेर नुवाकोटमाथि तीन दिशाबाट अर्थात् मल्टिडाइरेक्सनल एट्याक गर्ने योजनाअनुसार एक दिशाबाट राजा स्वयं र अरू दुई दिशाबाट उनको सहोदर दुई जना भाइहरूले नेतृत्व लिए। यो हमलामा आआफ्नो वंशको इतिहास लेख्ने र पैसा लिएर इतिहास लेख्ने विद्वान्हरूले युद्धको नेतृत्व पाण्डे–थापा–बस्न्यातहरूले गरेकोबारे विविधता पाइन्छ।

यस विजयलाई विफल पार्न कान्तिपुरे फौज काजी जयन्त रानामगरको नेतृत्वमा नुवाकोट किल्लाबाट करिब तीन कोस दक्षिणमा रहेको बेलकोट गढीमा थुप्रिएको र नुवाकोटमा काउन्टर अट्याक अर्थात् प्रत्याक्रमण गर्ने तयारी गर्दै गरेको थाहा पाउनासाथ दुईतीन दिनभित्रै पृथ्वीनारायणले बेलकोट गढीमाथि हमला गर्ने निर्णय सुनाए। यो उनको एकल निर्णय थियो। यो निर्णय भाइ भारदारले मानेनन्। मूलकाजी कालु पाण्डेले पनि मानेनन्।

पृथ्वीनारायणले कसैको कुरा नसुनी फौज मार्च गरे। भारदार–मन्त्री पछि लागे। काजी जयन्त राना नेतृत्वको फौजले लडाइँमा गोर्खालीलाई ठुलो क्षति पुर्‍याए। राजा पृथ्वीनारायणमाथि ढुंगा–मुढा–गोली बर्सिन थाले। उनका वरिपरि नै आफ्नै फौजका झन्डै ७० जना मरे। मुख्य मन्त्री कालु पाण्डेले युद्धबाट भागौं भन्दा राजा पृथ्वीनारायणले उनलाई झपारे र एक्लै अघि बढी लड्दा फौजले छाडेन। अन्ततः उनकै साहस र वीरतामा बेलकोट गढी कब्जा भयो। वास्तवमा उनले ठुलो दुर्घटना छलेका थिए। यो विजय पृथ्वीनारायणकै साहसका कारण सम्भव रह्यो।

दहचोक विजय भएपछि उनले करिब १५ वर्ष यहाँ मुकाम गरी युद्ध मुख्यालय र खलङ्गा चलाए। इन्द्र दहको पानीको मुहाननजिक ब्यारेक खडा गरी उनले मकवानपुर, काभ्रे, कीर्तिपुर, नगरकोट, कान्तिपुर विजय गरे भने १८१९ सालमा मकवानपुरमा भएको मुगल सम्राटका सेनापति मिर कासिम नेतृत्वको फौज र १८२४ मा बृटिस सम्राटका सेनापति क्याप्टेन जर्ज किनलक नेतृत्वको फौजविरुद्ध अन्तर्राष्ट्रिय युद्ध यहींबाट सञ्चालन गरे।

मकवानपुर विजय गरेको केही महिनापश्चात नै मुगल फौजले पहिला मकवानपुर विजय ग¥यो अनि काठमाडौं उपत्यका छिर्ने उद्देश्य लिएर करिब दुई बाहिनी फौज मकवानपुर हमला गर्न बढ्दै गरेको खबर पाउनासाथ उनले तुरुन्तै मकवानपुरमा थप फौज पठाई दुस्मनविरुद्ध प्रत्याक्रमणको योजना बनाए। उनी फौजसँगै लड्न मकवानपुर हिँडे। तर भाइ भारदारले उनको सुरक्षाको कारण देखाई उनलाई मकवानपुरको ठिंगनभन्दा अगाडि जान दिएनन्।

मकवानपुर दरबारबाट करिब चार कोस टाढा रहेको ठिंगनमै उनले युद्ध मुख्यालय खडा गरी आफ्ना भाइहरू तथा सेनापतिलाई आदेश दिए। १८१९ सालमा गोर्खाली सेनाले मुगल सेनामाथि विजय प्राप्त गर्‍यो। महान् सिपाही पृथ्वीनारायणलाई यस युद्धबाट करिब पाँच सय राइफल, गोली, बारुद र दुई नाल तोप पनि प्राप्त भयो। आधुनिक इतिहासमा नेपालले जितेको यो पहिलो अन्तर्राष्ट्रिय युद्ध थियो।

नेपाल एकीकरणको सिलसिलामा मकवानपुर राज्यअन्तर्गतको तिमालकोट काभ्रेमा सेन राजाको ठुलो फौज थियो। यहाँ स्थानीय प्रशासकमा तामाङ जातका रेन्जेन दोर्जे थिए। झन्डै ३१ दिनको एकीकरण युद्धपछि सेन फौज हारेर भाग्यो र वर्तमान सिन्धुली गढीमा बस्यो। त्यहाँ पुग्दा पृथ्वीनारायण साथमै थिए। पटकपटक सेन फौजसँग युद्ध भयो सिन्धुली डाँडामा।

अन्ततः पृथ्वीनारायणकै नेतृत्वमा १८१९ असोज २० गते सिन्धुलीमा विजय प्राप्त भयो। केही फौज त्यहीं राखी पृथ्वीनारायण फौजसहित हरिहरपुर दरबार (हाल गढी भनिन्छ) तर्फ लागे। त्यसपछि करिब २० घन्टाजति हिँडेपछि गोर्खाली फौज हरिहरपुर दरबार पुग्यो। मकवानपुर दरबार युद्धमा पराजय भई भागेका पृथ्वीनारायणका जेठान राजा दिग्बन्धन सेन त्यहीं बसेका थिए। समयको बरबाद नगरी पृथ्वीनारायणले त्यहीं पुगी हमला गर्ने निर्देशन दिए। ठुलो युद्ध भयो। अन्ततः १८१९ असोज २२ गते मकवानपुर दरबार पनि विजय प्राप्त भयो भने राजा दिग्बन्धन सेन भागे। वास्तवमा पृथ्वीनारायण शाह कहिल्यै नथाक्ने सिपाही थिए।

एकपछि अर्को सफलता मिलेपछि पृथ्वीनारायणले अब कीर्तिपुर सहरलाई कब्जा गर्नका लागि सैन्य खलंगा सार्ने योजना बनाए। यहाँ हमला गर्ने दिनको घोषणा आफैंले गरे। त्यो दिनमा हमला गर्न हुन्न भनी मूल काजी कालु पाण्डेले भने। उनले युद्ध गर्न मान्दै मानेनन्। ज्योतिषीको साइतमा अशुभ भन्दै कालु पाण्डे लडाइँमा जान राजी थिएनन्।

पृथ्वीनारायणले ढिपी गरे। सत्य तितो हुन्छ नै। युद्धभूमिमा खटिएका कमान्डरले कहिल्यै फौजका अगाडि साइत छैन भन्ने कुरो गर्दैन, ‘म मरेँ भने मेरो जन्मस्थानतर्फ देखिने गरेर जलाउनु वा सद्गद गर्नु’ भन्दैन। कालु पाण्डेले त्यसो भने भन्ने कुरामा लेखकलाई एक रत्ति विश्वास छैन। पछि इतिहास लेख्नेले फूलबुट्टा भरिदिए। तर यी कुरा त इतिहासमा जताततै लेखिएका छन्। युद्धभूमिका कमान्डरले त्यस्तो बोल्ने हो भने यसबाट लड्ने फौजको मनोबल ह्वात्तै गिर्नेछ र लडाइँ हारिनेछ।

युद्धमा पृथ्वीनारायण शाह आदेश दिँदै बढे। सुरुमा फौजले सफलता पाए तापनि कान्तिपुर, पाटन र भक्तपुरको संयुक्त र विशाल फौजका अगाडि गोर्खाली फौजको केही लागेन। दुर्भाग्यवश मूलकाजी कालु पाण्डे मारिए। उता पृथ्वीनारायण शाह पनि झन्डै काटिए। तैपनि उनले हरेस नखाई फौजलाई दहचोक फर्काए। उनका भारदारलाई मर्छु भन्ने डर थियो। तर उनलाई मर्छु भन्ने कायरता कहिल्यै पलाएन। उनले जहिले पनि अग्रपंक्तिमै रहेर युद्धको नेतृत्व गरे।

गजबको कुरो के हो भने महत्त्वपूर्ण अन्तर्राष्ट्रिय युद्धहरू उनैले सञ्चालन गरे। कान्तिपुर राजा जयप्रकाश मल्लको निमन्त्रणामा भारतमा रहेको बृटिस सरकारको कप्तान जर्ज किनलकको नेतृत्वमा एक बाहिनी गोर्खा फौजलाई नष्ट गर्ने उद्देश्यले कान्तिपुर आउँदै थियो।

सिन्धुली माडी, ढुंगे भन्ज्याङ, पौवा गढी, सिन्धुली गढी, खुर्कोट हुँदै पनौती पुग्ने भए। यो खबर इन्द्र दह खलंगामा नै थाहा पाएपछि उनले अंग्रेजलाई प्रतिहमला गर्ने योजना बनाई थप फौजका साथ आफैं सिन्धुली डाँडाको खनिया खर्क पुगी युद्ध मुख्यालय खडा गरे।

सिन्धुली बजारको कमला नदी, सिन्धुली माडी, ग्वाङ खोला, ढुंगे भन्ज्याङ, पौवा गढी, सिन्धुली गढीमा फौज तैनाथी गराई थुप्रै धराप (मल्टिपल एम्बुस) थापे। उनको योजनाअनुसार अंग्रेज फौज विभिन्न धरापमा परे। सात सयभन्दा बढी सिपाही मरे तर ११ सय मरेका लेखिएको छ। चार सय नालभन्दा बढी हतियार, गोलीगट्ठा हात पारे। १९२४ असोज ९ गते भएको यो पहिलो नेपाल–अंग्रेज युद्ध थियो। विजयपछि उनले ढुङ्ग्रे भन्ज्याङमा रहेको भद्रकाली मन्दिरमा दर्शन गरी गुठी–पैसा दानसमेत गरेका थिए।

यो युद्धले नेपालीलाई युरोपमा नै बहादुर भनी चिनायो। वास्तवमा पृथ्वीनारायण कै साहस र दृढताले यो युद्ध सफल भएको थियो।अंग्र्रेज सेना धेरै बलिया छन्। आमुन्नेसामुन्ने लड्न सकिन्न। एम्बुस थापेर लुकीलुकी मार्नुपर्छ भनी यही युद्धमा पृथ्वीनारायणले महान् रणनीति सुरु गरे। उनले त्यस युद्धका क्रममा भनेका छन्, ‘जाइ कटक नगर्नू, झिकी कटक गर्नू’। यो युद्ध रणनीति हाल पनि जीवन्त छ।

यतिखेरसम्म कीर्तिपुर गोर्खालीले कब्जा गरिसकेका थिए। थोरै फौज कीर्तिपुरमा र धेरै फौज इन्द्र दह, दहचोकमा नै थिए। दुवैतिरको फौज एकत्रित गरी कान्तिपुरमाथि टुँडीखेलको महांकाल, नरदेवी र भीमसेनस्थान (परोपकार नेर) गरी तीनतिरबाट एकैपटक हमला गर्ने योजना बन्यो। भीमेसनस्थान मोहडाको मुख्य हमलाको नेतृत्व पृथ्वीनारायण आफैंले गरे। अन्य मोहोडामा उनका भाइहरू थिए।

१८२५ सालको इन्द्रजात्राका दिन कान्तिपुर राज्य गोर्खामा विलय भयो। त्यसपछि राजा पृथ्वीनारायणले विजय गरेको सबै भूभागलाई नेपाल भने। यो उनको महानता र नेपाल एकीकरण गर्ने मनले गर्दा नै हो। अन्यथा, आज नेपालको सट्टा नेपालको नाम गोर्खा हुन सक्ने विकल्पमा कुनै शंका छैन। कान्तिपुरपछिका युद्धहरूमा पृथ्वीनारायण स्वयं उपस्थित रहेको प्रमाण लेखकसँग छैन। त्यसपछि पाटन र १८२६ सालमा भक्तपुरमाथि विजयप्राप्त गरे। त्यसपछि सुनकोसी पूर्वका टिस्टा, मोरङका युद्धहरूमा उनलाई फौज खटाउन, युद्ध सामग्री जुटाउन धौ धौ पर्‍यो। सिक्किमसँग युद्ध गर्नुपर्‍यो। बाँकी पाँच वर्षमा उनले नेपालको सीमा टिस्टा पुर्‍याए। चौबिसे राज्यमाथि थुप्रै असफल हमला सञ्चालन गराए। दुःखैदुःखमा १८३१ माघ १ गते उनले वीरगति पाए। यहाँ इतिहासकार विद्वान्हरूले मनन गर्नैपर्छ कि उनी राजा थिए कि युद्धभूमिका सिपाही?

सैनिक आँखाबाट केलाउँदा पृथ्वीनारायण शाहको सबैभन्दा महत्त्वपूर्ण पक्ष सैनिक रणनीति नै हो। गोर्खाजस्तो सानो राज्यबाट सुरु गरेर एक विशाल राष्ट्र सैनिक बाहुबलकै आडमा खडा गर्नु सानो कुरो थिएन। विश्वमा यस्ता उदाहरण विरलै पाइन्छन्। पृथ्वीनारायण शाहलाई हाम्रो परम्परामा कौटिल्य, चीनका महान् पौराणिक रणनीतिकार सुन जु, इटालीका मेकावेली, जर्मनीका विस्मार्क आदिको संयुक्त रूपमा हेर्न सकिन्छ।  

प्रकाशित: २७ पुस २०८१ ०६:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App