३ माघ २०८१ बिहीबार
image/svg+xml
समाज

ताप्लेजुङमा म्याद गुज्रिएका सामग्री जफत गर्दै बजार अनुगमन समिति

नियमित बजार अनुगमन गरिरहेको ताप्लेजुङ जिल्लाको बजार अनुगमन समितिले ‘म्याद सकिएको’भनेर जनाउ गरेर राखेका वस्तु बाहेक बिक्री स्थलमा रहेका म्याद गुज्रिएका सबै सामान जफत गर्ने भएको छ।

बिक्री स्थल र गोदाम घर समेतको अनुगमन गरिरहेको अनुगमन समितिले म्याद सकिएका सामग्री जफत गर्न थालेको हो। फुङलिङ नगरपालिकाका अधिकृत (सातौं) प्रकाश तामाङका अनुसार म्याद गुज्रिएका, उपभोग गर्न नमिल्ने सामग्री बिक्री स्थलबाट जफत गरिन्छ।

‘उपभोक्ता अधिकारमैत्री व्यवसाय सञ्चालनका लागि पटक–पटक आग्रह गरिसकिएकोले अब विधि विपरीतको कार्यमा छुट नदिने गरी अनुगमन समिति एक्सनमा गएको हो,’ तामाङले भने। उनले अहिलेसम्मका अनुगमनका क्रममा देखिएको अवस्थाको सरोकारवाला पक्षबीचमा विश्लेषणसंगै अनुगमन कार्यलाई निररन्तरता दिने समेत जानकारी दिए।

अनुगमन समितिले आवश्यक कागजात पुगेर पनि दर्ता प्रकृयामा नआएका व्यवसायीलाई स्थलगत रूपमै व्यवसाय दर्ता गरी प्रमाणपत्र दिन थालेको छ। नगरपालिकाका कर्मचारी तुलसा निरौलाले आवश्यक कागजात नभएका व्यवसाय सञ्चालकलाई दर्ता प्रकृयाका लागि आवश्यक प्रकृया बुझ्ने प्रयोजनमा ७ दिनभित्र फुङलिङ नगरपालिकामा सम्पर्क गर्न लिखित पत्र समेत छाडिएको जानकारी दिइन्। अनुगमनका बेला पसलमा नभेटिएका पसल सञ्चालकको सबै विवरण टिपोट गरी नगरपालिकाका उपस्थित हुन म्याद समेत प्रदान गर्ने कार्य भइरहेको अनुगमन टोलीले जनाएको छ।

म्याद सकिएका वस्तुलाई बिक्री स्थल र गोदाम घरबाट झिकी म्याद सकिएको संकेत गरेर राख्न, म्याद सकिएका तर फिर्ता हुने सामान भए बिक्री स्थलबाट बाहिर राखी म्याद सकिएको संकेत गर्न समेत अनुगमन टोलीले व्यवसायीलाई जनाएको छ। एउटै पसलबाट अलग–अलग प्रकृतिको व्यवसाय सञ्चालन भइरहेको अवस्थामा व्यवसायको प्रकृति अनुसार दर्ता तथा नवीकरण प्रकृयामा सामेल हुन समेत अनुगमन समितिले व्यवसायीलाई जानकारी गराएको छ। 

उपभोग्य म्याद नलेखिएका सामग्रीको थोक बिक्रेता केन्द्रलाई समेत अनुगमन समितिले उपभोग्य म्याद स्पष्ट गरी बिक्रीवितरणको प्रबन्ध गर्न समेत सचेत गराएको जनाएको छ। बिक्री स्थलमा सबैले देख्ने गरी मूल्य सूची टाँस तथा मूल्य सूचीलाई नियमित अद्यावधिक गर्न, प्रचलित दररेट भन्दा बढी मूल्यमा बिक्रीबितरण नगर्न समेत व्यवसायीलाई जानकारी गराईएको अनुगमन समितिले जनाएको छ।

उपभोक्ताले समेत सामान खरिद गर्ने बेलामा उपभोग्य म्याद भए नभएको यकिन गरेर मात्र खरिद गर्न, आफूले खरिद गरेको सामानको अनिवार्य बिल लिने जस्ता विषयमा अनुगमन समितिले उपभोक्ताहरूलाई समेत अभिमुखीकरण गर्ने योजना बनाएको बताएको छ।

प्रकाशित: २६ पुस २०८१ १०:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App