३ माघ २०८१ बिहीबार
image/svg+xml
समाज

जाडोमा पर्साका विपन्न तीन सय जनालाई कम्बल

जिल्ला प्रशासन कार्यालयले शीतलहरूबाट प्रभावित बहुदरमाई नगरपालिकाका अति विपन्न दलित तथा असहाय परिवारका सदस्यलाई कम्बल वितरण गरेको छ।

उक्त कार्यालयले अति विपन्न तथा गरिब परिवारलाई एक द्वार प्रणालीमार्फत मानवीय सहायता उपलब्ध गराउने योजना अनुरूप बुधबार बहुदरमाई नगरपालिका–२ का गरिब, विपन्न, असहाय, दलित, एकल महिला तथा लक्षित वर्गलाई समेट्ने गरी तीन सय थान कम्बल वितरण गरेको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट सङ्कलन भएको तीन सय थान कम्बल दलित तथा आर्थिक अवस्था कमजोर भएका लक्षित वर्गलाई वितरण गरिएको जानकारी दिए।

‘बहुदरमाई नगरपालिका-२ को सिफारिसमा लक्षित वर्गका समुदायलाई जाडोमा न्यानो प्रदान गर्नका लागि कम्बल वितरण गरेका हौँ,’ उनले भने, ‘आजदेखि न्यानो कम्बल वितरण अभियान सुरुवात गरेका छौँ। यो अभियान लक्षित वर्गलाई समेट्ने गरी निरन्तर रूपमा अघि बढाउँदै लैजानेछौँँ।’

बहुदरमाई नगरपालिका–२ समपती चमइनले जाडोले सताइरहेको अवस्थामा कम्बल पाउँदा खुसी लागेको बताए। ‘चिसोले सताइरहेको थियो। कम्तीमा एउटा भए पनि कम्बल पाउँदा केही राहतको महसुस गरेका छौंँ,’ उनले भने।

त्यस्तै, सोही वडाकी सुदामा देवीले पनि शीतलहरको चलिरहेको बेला कम्बल पाउँदा न्यानो हुने बताइन्। ‘धेरै रात चिसोमा नै बितायौँ,’ उनले भनिन्, “यसले केही भए पनि राहतको महसुस गराएको छ।”

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपति राधेश्याम धिमालले सशस्त्र प्रहरी बलले प्रभावितको लागि आवश्यक सहजीकरण गरिएको बताए।

बहुदरमाई नगरपालिका–२ का वडाध्यक्ष जीतेन्द्र पटेलले वडामा रहेका दलित तथा अन्य समुदायको आर्थिक अवस्था कमजोर भएकाले पनि न्यानो लुगाको अभाव भइरहेको अवस्थामा कम्बल वितरणले केही हदसम्म भए पनि यहाँका जनताले राहतको महसुस गरेको सुनाए।

‘यहाँका जनता जाडोले समस्यामा परिरहनुभएको थियो,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालय र सशस्त्र प्रहरी बलको संयोजनमा वितरण गरिएको कम्बलले केही हदसम्म भए पनि जनता लाभान्वित हुनुभएको छ।’

वडाध्यक्ष पटेलले नगरपालिकाको विवादको कारणले लक्षित वर्गका कार्यक्रम अघि बढाउन नसकिएको बताए।

पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको अध्यक्षता मङ्गलबार बसेको बैठकले जिल्लामा एक द्वार प्रणालीमार्फत वितरण गर्ने निर्णय गरेको थियो।

सो बैठकले शीतलहरूबाट बच्नको लागि राहत सामग्री वितरण गर्न चाहने सङ्घ संस्थालाई जिल्ला विपद् व्यवस्थापन र ‘क्विक रेस्पोन्स टिम’सँग समन्वय गरेर वितरण गर्न अनुरोधसमेत गरेको थियो।

बैठकले स्थानीय तहले वितरण गर्ने राहत सामग्रीसमेत क्विक रेस्पोन्स टिम’ लाई जानकारी गराएर मात्र वितरण गर्न सम्बन्धित पालिकाहरूलाई अनुरोध गर्ने निर्णय गरेको थियो।

प्रकाशित: २४ पुस २०८१ २३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App