३ माघ २०८१ बिहीबार
image/svg+xml
समाज

कोहलपुरमा चिसोबाट बच्‍न दाउरा वितरण

शीतलहरसँगै चिसो हावा र हुस्सुले अत्यधिक चिसो बढेपछि कोहलपुर नगरपालिकाले सार्वजनिक स्थानमा दाउरा वितरण सुरु गरेको छ ।  

सर्वसाधारणको बढी भीड हुने र आवतजावत हुने चोक तथा सार्वजनिक स्थानहरुमा नगरले दाउरा वितरण गरेको हो । चिसो अत्यधिक भएपछि आवतजावत गर्ने नागरिक र ज्यालादारी काम गर्ने मजदुरहरु बढी लाभान्वित हुने नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए । बुधबार पहिलो दिन २५ स्थानमा दुई चट्टा दाउरा वितरण गरिएको उनले जानकारी । 

हवल्दारपूर, पिपिरी, हाइस्कुल चोक, पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुर चौराहलगायतका स्थानमा दाउरा वितरण गरिएको कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रहरी सहायक निरीक्षक डिल्ली चन्दले जानकारी दिए । उनका अनुसार यसभन्दा थप दुई ठाउँमा मृतकका घरमा पनि दाउरा वितरण गरिएको छ । ‘मृतकका घरमा मान्छेहरुको जमघट हुने भएकाले दुई घरमा दाउरा वितरण गरेका छौं,’ उनले भने, ‘चिसो बढेकाले मान्छे धेरै जम्मा हुने ठाउँहरुमा दाउरा वितरण गरेका छौं ।’

नगरले दाउरा वितरण गरेपछि आवतजावत गर्ने नागरिक र मजदुर अझ बढी लाभान्वित भएका छन् । ई–रिक्सा चलाउने रिक्सा चालक पनि यसबाट बढी लाभान्वित भए । ‘बिहानैदेखि दुई÷चार पैसाका लागि रिक्सा लिएर सडकमा आउँछौं,’ रिक्सा चालक कपिल खड्काले भने, ‘दिनभरि रिक्सा चलाउँदा अत्यधिक चिसो हुन्छ । अझ बढी हातमा बढी चिसो हुन्छ । न्यायोका लागि घर पनि जान सकिँदैन । नगरले ठाउँठाउँमा दाउरा वितरण गरेपछि चोकचोक गएर आगो ताप्न पाइएको छ । जसले रिक्सा चलाउन अझ बढी सहज भएको छ ।’

उनको जस्तै ज्यालादारी काम गर्ने मजदुरको पनि भनाइ छ । उनीहरु पनि पायक पर्ने ठाउँमा गएर आगोको न्यानो लिने गरेको बताएका छन् । चिसोबाट आजित नागरिकलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ । दाउरा वितरण गरेका स्थानमा आगो ताप्न नागरिकको भीडभाड हुने गरेको छ । पहिलो दिन बुधबार २५ ठाउँमा वितरण गरे नियमित दाउरा वितरण गरिने नगरपालिकाले जनाएको छ । बिहीबारदेखि अन्य स्थानमा पनि दाउरा वितरण हुने प्रहरी सहायक निरीक्षक चन्दले जनाए ।

सोमबार साँझदेखि बाँकेको नेपालगन्ज, कोहलपुर, खजुरालगायतका स्थानमा चिसो हावासँगै शीतलहर सुरु भएको छ । बाँकेका अन्य पालिकाले पनि सर्वसाधारणको धेरै भीडभाड हुने क्षेत्र, चोकलगायतका स्थानमा दाउरा वितरण गर्ने तयारी गरेका छन् । चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । यहाँका नागरिक चिसोबाट बच्न दाउरा, गुइँठा बालेर आगो ताप्ने गरेका छन् । चिसोका कारण सहरबजारमा मान्छेको चहलपहल कम देखिएको छ ।

 

प्रकाशित: २४ पुस २०८१ १८:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App