१० माघ २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाली सेनाले ८५ किलोमिटर पैदल यात्रा गर्दै

नेपाली सेनाको पदयात्रा गन्तव्य तालिका। तस्बिरः महेश्वर चामलिङ राई/नागरिक

नेपाली सेनाको पशुपतिप्रसाद गणले आज (आइतबार) देखि पैदलयात्रा सुरु गर्ने भएको छ। सेनाले पुरानो सदरमुकाम उदयपुरगढीदेखि विभिन्न भूगोल चहार्दै जिल्लाका दुई गढी क्षेत्रमा पैदलयात्रा गर्न लागेको हो।  

जिल्लाका ऐतिहासिक, पर्यटकीय तथा सामरिक महत्वका स्थानहरू चिनाउँदै जिल्लावासी नागरिक र सेनासँगको सम्बन्ध सुमधुर बनाउँदै लैजाने उद्देश्यले पैदलयात्रा गर्न लागेको जनाइएको छ। जसअनुसार गाईघाट बोक्सेस्थित गणबाट सुरु हुने पैदलयात्रा ऐतिहासिक पर्यटकीयस्थल उदयपुरगढी हुँदै अर्को ऐतिहासिक तथा पर्यटकीय स्थल चौदण्डीगढी पुगेर समापन हुनेछ।

पैदलयात्राका क्रममा ८५ किलोमिटर महाभारत श्रृङ्खला पार गर्ने गन्तव्य तय गरिएको गणले जनाएको छ। पुस २१ देखि २८ गतेसम्म चल्ने पदयात्राको क्रममा जिल्लाको मध्येभागमा पर्ने उदयपुरगढी ५ स्थित ऐतिहासिक उदयपुरगढीदेखि अर्को ऐतिहासिक स्थल चौदण्डीगढी नगरपालिका १ को चौदण्डीगढीसम्म रहने गणपति प्रमुख सेनानी शिवप्रसाद वाग्लेले बताएका छन्।

पैदलयात्रामा नेपाली सेनाबाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि, व्यापारी व्यवसायी, साइकलयात्री तथा सर्वसाधारणसमेतको सहभागिता रहने बताइएको छ। गणपति वाग्लेका अनुसार पैदलयात्राले जिल्लावासी सर्वसाधारण नागरिकसँग भेटघाट, कुराकानी र सदभाव आदानप्रदान गर्दै पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।  

पैदलयात्राबारे १ महिनाअघि नै तयारी बैठक गरिसकेको सेनाले यात्रालाई अर्थपूर्ण र उपलब्धिमूलक बनाउन सरोकारवालाहरूसँग सुझावसमेत लिएको जनाएको छ। साताव्यापी यात्राका क्रममा बाटोमा पर्ने विभिन्न गाउँबस्ती, विद्यालय र सार्वजनिक स्थलमा स्थानीयसँग भेटघाट, कुराकानी गरी आत्मीयता बढाउने योजना पनि सेनाले बनाएको छ।

सेनाले तय गरेको पैदलयात्राको रुटअनुसार जिल्लाको पहाडी भेग (चुरे महाभारत) को भूभाग उदयपुरगढी र रौतामाई गाउँपालिका, त्रियुगा र चौदण्डीगढी नगरपालिका गरी ४ वटा स्थानीयतहको भूगोल यात्राले छिचोल्ने छ। पैदलयात्रामा सहभागी हुन स्थानीयतहका नगरप्रमुख, गाउँपालिका अध्यक्ष, अन्य जनप्रतिनिधि, होटल तथा पर्यटन व्यवसायी, साइकलयात्री तथा पत्रकारहरूलाई पनि सहभागी गराइने छ।

यात्राको तालिका अनुसार सेनाले इतिहासको संरक्षण र प्रवर्द्धन गर्न स्थानीय तहहरूमा हाजिरी जवाफ, निबन्ध लेखन, बक्तृत्व कला र कविता प्रतियोगितासमेत सञ्चालन गर्ने जनाएको छ। यात्रालाई बहुआयामिक, प्रभावकारी र उपलब्धिमूलक बनाउन यस्ता अतिरिक्त क्रियाकलापहरू समावेश गरिएको गणले जनाएको छ।

यात्रा सुरु भएको दिन उदयपुरगढीमा उद्घाटन गरी हिँड्ने टोली उदयपुरगढी ४ स्थित डुम्रेमा पुगेर बास बस्ने छ। त्यस्तै दोस्रो दिन उदयपुरगढीकै ५ नं. वडाको ढुङग्रे (भिरगाउँ) पुगेर बास बस्ने कार्यतालिका रहेको छ भने तेस्रो दिन रौतामाई गाउँपालिका ८ को पुवाँरे भञ्ज्याङमा बास बस्ने तालिका बनाइएको गणले जनाएको छ।  

त्यसैगरी यात्राको चौथो दिन रौतामाई गाउँपालिकाकै ४ नं. वडा पोखरीमा बास बसेर पाँचौ दिन यात्री टोली त्रियुगा नगरपालिका १४ साउनेको निपाने पुग्नेछ। छैटौँ दिन चौदण्डीगढी ८ को सिम्ले पुग्ने टोली यात्राको अन्तिम सातौँ दिन चौदण्डीगढीकै ७ नं. वडा वीरेन्द्रबजार हुँदै १ नं. वडाको ऐतिहासिक चौदण्डीगढी पुग्ने कार्यक्रम तय भएको छ। चौदण्डीगढी पुगेर सोही दिन यात्रा समापन गर्ने कार्यतालिका रहेको गणपति वाग्ले बताएका छन्।  

टोलीले हरेक दिन ५ देखि १५ किलोमिटरसम्म दूरी पैदल हिँड्ने कार्यतालिका बनाएको जनाइएको छ। चैदण्डीगढीमा आयोजना हुने समापन समारोहमा स्थानीय तह स्तरीय हाजीरी जवाफ, कविता, बक्तृत्व कला र निबन्ध लेखन प्रतियोगिताका विजयी श्रष्टाहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ। त्यसैगरी यात्राको समीक्षा गर्दै योगदान दिनेहरूलाई सम्मान, मायाको चिनो वितरणजस्ता कार्यक्रम गर्ने गणले जनाएको छ।

प्रकाशित: २१ पुस २०८१ ०८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App