४ माघ २०८१ शुक्रबार
image/svg+xml
समाज

‘सन् २०२५ उद्यमीका लागि अझै अप्ठेरो वर्ष’

राजनीतिक उथलपुथलका कारण सन् २०२५ मा उद्यमी/व्यवसायीले अझ बढी अप्ठेरो झेल्नुपर्ने एउटा अध्ययनले देखाएको छ। अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले कार्यभार समालेपछि परराष्ट्र नीतिमा व्यापक फेरबदल ल्याउने आशंका गरिएको छ। उनले यही जनवरी २० मा राष्ट्रपतिको कार्यभार सम्हाल्दै छन्। अमेरिकाको एउटा नीतिमा आउने फेरबदलले संसारभरिका उद्यमी/व्यवसायीलाई असर पार्ने गर्छ।

त्यसो त केही उद्यमी/व्यवसायी भने ट्रम्पको शासन अवधिमा खासै धेरै फरक नपर्ने बरु उल्टो फाइदा हुन सक्नेतर्फ आशावादी देखिएका छन्। यो वर्ष सबैभन्दा बढी ध्यान अमेरिका र चीनबीचको व्यापार तनावले उनीहरूको सम्बन्ध कस्तो हुनेछ भन्नेमा सबैको चासो भने चुलिएको छ।

अमेरिका मात्र होइन, फ्रान्स, सिरिया र दक्षिण कोरियाली राजनीतिमा देखिएको अस्थिरताले पनि संसारभर असर गर्ने गोल्डम्यान साकका प्रमुख वित्त अधिकारी डेनिस कोलेमनको भनाइ छ। उनी भन्छन्, ‘संसारमा हुने जुनसुकै अस्थिरताले अन्ततः संसारकै आर्थिक उन्नतिमा बाधा पुग्नेछ।’

गत नोभेम्बरमा कन्सल्टिङ संस्था भेरिस्क म्यापलक्रफ्टले गरेको विश्लेषणअनुसार संसारभर व्यापार गर्दा बढेको घाटा १० वर्षकै सबैभन्दा बढी रहेको देखिएको छ। खासगरी सबै देशले भूमण्डलीकरणभन्दा स्थानीयकरणको नारा लगाइरहेका छन्।

समग्र हितभन्दा आफूलाई के फाइदा हुन्छ, त्यसतर्फ अधिकांश देशको ध्यान केन्द्रित हुन थालेको छ। यस्तो ‘डिग्लोबलाइजेसन’ले व्यवसायहरू खतरामा परेका छन्।

‘त्यसै पनि पछिल्ला वर्षहरूमा कोभिड १९ को महामारी, युक्रेन–रुस युद्ध, युरोपका दुई ठुला अर्थतन्त्र भएका देश फ्रान्स र जर्मनीमा देखिएको राजनीतिक अस्थिरता, मध्यपूर्वको तनाव, बढ्दो लोकरिझ्याइँ, संरक्षणवादको बढ्दो बोलवालाका कारण संसारभर व्यवसाय गर्नु अप्ठेरो हुन थालेको छ,’ भेरिस्क म्यापलक्रफ्टकी एसिया प्रमुख रीमा भट्टाचार्य भन्छिन्, ‘यस्तोमा पुरानो शैलीले जसरी व्यापार चलिरहेको थियो, त्यो पुरै उल्टिएको छ। बजारको आकार घटेको छ, मूल्य दिनदिनै बढ्न थालेको छ भने छरितोपना घटेर हैरान छ।’

चीनका उत्पादनले अमेरिकामा प्रतिबन्ध खेपिरहेका छन् । त्यसको बदलामा चीनले पनि अमेरिकाका विभिन्न उत्पादनलाई बजारमा छिर्न कसिकसाउ गरेको छ। एनभिडिया र पिभिएचजस्ता कम्पनीमाथि चीनले एकाधिकार विरोधी कानुन लगाएर नाथ्री चेप्दैछ।

ठुला कम्पनी त भइहाले, साना र मझौला कम्पनीले पनि निकै ठुलो बाधा खेपिरहेका छन्। कन्सल्टिङ कम्पनी म्याकिन्से एन्ड कम्पनीले नौ सयभन्दा बढी कार्यकारीमाझ गरेको सर्भेका क्रममा उनीहरूले व्यवसायका लागि सबैभन्दा ठुलो खतरा भूराजनीतिक अस्थिरता प्रमुख रहेको बताएका छन्। उक्त अस्थिरताले वैश्विक वृद्धिलाई नै खतरामा पार्ने उनीहरूको भनाइ छ।

सन् २०२५ मा अर्को खतरा विभिन्न देशहरूले विभिन्न देशका उत्पादनमाथि लगाउने नयाँ करको दर पनि हो।

मोर्निङ स्टारले ट्रम्पले मेक्सिको र क्यानडाजस्ता देशलाई तिनको उत्पादनमा साँध लगाउने घोषणा गरिसकेका अवस्थामा भविष्यमा ती दुई देशको उत्पादकत्वमा ठुलो ह्रास आउने सम्भावना रहेको जनाएको छ।

‘संसारभर उथलपुथलका बीच कसैसँग पनि गतिलो प्ले बुक होला भन्ने मलाई लाग्दैन,’ विश्लेषक डेभिड के. योङ भन्छन्, ‘यो संसारमा एक्लो घटना केही पनि हुँदैन। सबै कुरा सबैसँग जोडिएका छन्। हामी एकअर्कामा यस्तोसँग जोडिएका छौं कि संसारको एउटा कुनामा हुने सानो घटनाले पनि संसारभरि प्रभाव पार्ने क्षमता राख्छ।’

प्रकाशित: २१ पुस २०८१ ०७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App