४ माघ २०८१ शुक्रबार
image/svg+xml
समाज

बेनीका घरघरमा क्युआर कोडसहितको डिजिटल नम्बर

म्याग्दीको बेनी नगरपालिकाले क्युआर कोडसहितको डिजिटल घर नम्बर प्रणाली प्रयोगमा ल्याएको छ। त्यसबाट नगरवासीको सूचना संकलन तथा सहयोगका लागि सहज भएको छ। युएनडिपी नेपाल र बेनी नगरपालिकाको आर्थिक सहयोग तथा संगम म्याग्दीको व्यवस्थापनमा नगरवासीका घरपरिवारको सूचना तथा विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक गरेसँगै सेवा प्रवाह सहज भएको छ।

नगरपालिकाको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा नगर प्रमुख सुरत केसीले १० वटै वडामा डिजिटल घर नम्बरिङले नगरबाट प्रदान गरिने हरेक प्रकारका सेवाहरू तथा समस्यामा परेका नगरवासीलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन सहज भएको बताए। ‘नगरवासीलाई समस्या पर्दा तत्काल उद्धार गर्न हामीलाई सहज भएको छ। एउटै व्यक्तिले अनेक अनुदान लैजाने कार्य पनि रोकिएको छ,’ उनले भने।

उनले आर्थिक तथा अन्य सहायता निवेदकको घरपरिवारको विवरणमा रुजु गरी वितरण गर्ने गरिएको उनको भनाइ थियो। बेनी नगरपालिकामा कुल घर संख्या सात हजार चार सय ४० छ। कुल जनसंख्या २८ हजार नौ सय ६७ रहेकोमा पुरुष १५ हजार एक सय ३३, १३ हजार आठ सय ३० महिला र चार जना यौनिक अल्पसंख्यक छन्।

नगरपालिकाभित्र तीन महिनाभन्दा कम खाद्य निर्भरता भएका १४ सय ७८ घरधुरी, घरमै पिउने पानीको सुविधा नभएका ६ सय ७५ घरधुरी, नदी किनारामा रहेका दुई सय ५६ घरधुरी, आफ्नै घरमा शौचालय नभएका एक सय २२ घरधुरी, समुदायमा रहेको पिउने पानीमा निर्भर पाँच सय २२ घरधुरी, बिजुली जडान नभएका ३७ घरधुरी, सिँचाइ सुविधा नपुगेका ५१ सय ५७ घरधुरी, खाना पकाउन काठदाउराको प्रयोग गर्ने घरधुरी ४६ सय ९ जना छन्।

नगरभित्रका सबै घरधुरीमा डिजिटल घर नम्बर प्रणाली जडान गरेपछि घरपरिवारको परिचय, घटना दुर्घटना तथा विपत्तको सूचनाका साथै तत्काल सहयोगका लागि समेत सहज भएको छ। घरदैलोमा पु्गेर तयार गरेको विवरणमा व्यक्तिका शैक्षिक योग्यता, आर्थिक अवस्था, अपांगताको अवस्था, खानेपानी, स्वास्थ्य, शौचालय, घरधुरीबाट स्वास्थ्य संस्था, शैक्षिक तथा अन्य सेवा लिन सकिने संघसंस्थासम्म पुग्ने दुरीसमेत हेर्न सकिन्छ।

नगरपालिकाबाट सेवा लिनेहरूको विवरणसमेत घर नम्बरमै अपडेट हुने प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए। उनले तत्कालै सहयोग आवश्यकता परेकालाई सदरमुकाम बेनीबाट जाँदा जिपिएका आधारमा घरमै पुग्न सहज भएको बताए।

घरमा डिजिटल नम्बरिङपछि सेवासुविधाको दुरूपयोग रोक्न सकिने, आफ्नो सूचनाहरू वडा तहबाटै अपडेट गर्न सकिने, सुत्केरी, गर्भवती तथा जटिल रोग र बिरामी परेको अवस्थामा आवश्यक औषधि तथा एम्बुलेन्स, सुरक्षा व्यवस्थापनका कामहरूमा सहजता हुने र पाहुनाले समेत गुगल म्यापबाट घर पत्ता लगाउन सकिने बताइएको छ।

डिजिटल नम्बरिङसँगै नगरपालिकाले आर्थिक सहायताका लागि आर्थिक तथा सामाजिक रूपमा विपन्न, पूर्ण रूपमा अपांगता भएका, एकल महिलाहरूलाई जीविकोपार्जन र औाषधि उपचारमा सहयोग गर्न युएनडिपी नेपाल, संगम म्याग्दी र राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा घरदैलोमै पुगेर तीन सय ४० महिलालाई बिनासर्त २७ हजार नगद सहयोग गरिएको छ।

२०८१ साउनदेखि लागु भएको परियोजनाले विपन्न महिलाको राष्ट्रिय वाणिज्य बैंकमा समृद्धि बचत खाता खोलेर दुई किस्तामा २७ हजार आर्थिक सहयोग गरिएको छ। बेनी नगरपालिकाले वडास्तरमै पुगेर छनोट गरेका आर्थिक तथा सामाजिक रूपमा विपन्न, संकटापन्न तथा सामाजिक सुरक्षाका लागि निकै सहज भएको संगम म्याग्दीका कार्यकारी प्रमुख दीपक पौडेलको भनाइ छ।

प्रकाशित: २० पुस २०८१ ०८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App