भक्तपुरको पहिचान बनेको भादगाउँले कालो टोपी संकटमा परेको छ। देशविदेशमा प्रख्यात यो टोपी अब इतिहास बन्ने जोखिममा छ। भक्तपुरमै टोपी बनाउने व्यवसाय सीमित घरधुरीमा मात्र टिकेको उद्योगीहरूको गुनासो छ।
पहिले सरकारी कार्यालयका कर्मचारीलाई अनिवार्य रूपमा टोपी लगाउने नियम थियो। नियम खारेज भएपछि भादगाउँले टोपीको मागमा तीव्र गिरावट आएको छ। भादगाउँले कालो टोपी उद्योग संघ भक्तपुरका अनुसार नगरका विभिन्न वडामा झन्डै एक दर्जन घरधुरीले मात्र यो टोपी बनाउने पेसा गर्दै आएका छन्। ती पनि घरेलुस्तरमा सीमित छन्, जसका कारण अधिकांश भक्तपुरेहरूले नै टोपी बनाउने स्थानबारे जानकारी राख्दैनन्।
उद्योगीहरूले यो मौलिक टोपीलाई बचाउन सरकारसँग नीतिगत कदम चाल्न माग गरेका छन्। संघका अध्यक्ष सीताराम श्रेष्ठले टोपीलाई सरकारी स्तरमा अनिवार्य गर्नुपर्ने बताए। "कम्तीमा भक्तपुर नगरपालिकाले आफ्ना कलेजका विद्यार्थीलाई भादगाउँले टोपी अनिवार्य लगाउन भनेको भए पनि यो पहिचान बाँच्छ," उनले सुझाव दिए।
भक्तपुर नगरपालिकाले ख्वप ब्रान्डमा आठ वटा कलेज सञ्चालन गरिरहेको छ। जहाँ दश हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। संघका उपाध्यक्ष रत्नकाजी छुँजूले पनि नगरपालिका तथा सरकारी कार्यालयहरूमा टोपी अनिवार्य गराए संरक्षणमा टेवा पुग्ने धारणा राखे।
भक्तपुर नगरपालिकाले भादगाउँले टोपीसहित अन्य मौलिक उत्पादनहरू संरक्षण गर्न पहल थालेको छ। नगर प्रमुख सुनिल प्रजापतिका अनुसार आगन्तुकलाई टोपी उपहार दिने परम्परा सुरु गरिएको छ। "पहिले उद्योगीहरूको संगठन नहुँदा योजना बनाउन कठिन थियो, अब संघ गठन भएपछि छलफल सहज भएको छ," उनले बताए।
हालै गठन भएको संघमा ३० जना साधारण सदस्य छन्। उनीहरुले टोपी संरक्षणका लागि सामूहिक प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्।
भादगाउँले टोपीले न केवल भक्तपुरको पहिचान झल्काउँछ, यसले पर्यटन र स्थानीय उद्योग प्रवर्द्धनमा पनि भूमिका खेल्छ। नगरपालिका स्वदेशी तथा विदेशी विशिष्ट पाहुनालाई टोपीसँगै जुजु धौ, मौलिक थैली, र मयुरको झ्याल उपहार दिन थालेको छ।
संघका सल्लाहकार विश्वराम दुवालले यो परम्परागत पहिरनलाई जीवन्त राख्न तत्काल प्रयास जरुरी रहेको बताए। उद्योगी र नगरपालिकाको सामूहिक प्रयासले भादगाउँले टोपीलाई संकटबाट जोगाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १७ पुस २०८१ १९:०३ बुधबार