बिदेसिने नेपाली विद्यार्थीको संख्या बढ्दै गएको छ। केही दशकअघिसम्म नेपालबाट सम्भ्रान्त परिवारका सन्तान मात्र उच्च शिक्षा हासिल गर्न विदेश जाने गरेकोमा केही वर्षयता सामान्य परिवारका पनि सोही प्रयोजनका लागि बिदेसिन थालेका छन्।
पहिले नेपालमा पढाइ नहुने विषय अध्ययनका लागि विदेश जाने गरिन्थ्यो भने अहिले नेपालमै पढाइ हुने विषय पढ्न विद्यार्थी बिदेसिन थालेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)’ शाखा प्रमुख रमेश घिमिरे बताउँछन्।
पछिल्लो चार वर्षमा नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि एक सय ११ देशमा जान एनओसी लिएका छन्। यस अवधिमा तीन लाख ३८ हजार ९ सय ७४ जना विद्यार्थीले एनओसी लिएका छन्। उच्च शिक्षा अध्ययनका लागि एनओसी लिनेको मुख्य लक्ष्य विदेशमा अवसरको खोजी नै रहेको पाइएको घिमिरेले बताए।
शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार चार वर्षको अवधिमा पनि आर्थिक वर्ष (आव) २०८०/८१ मा सबैभन्दा बढीले एनओसी लिएका छन्। आव २०८०/८१ मा उच्च शिक्षा अध्ययनका लागि विभिन्न एक सय ११ देशमा जान एक लाख १२ हजार पाँच सय ९३ जनाले एनओसी लिएका छन्। पछिल्ला चार वर्षमा एनओसी लिनेको तथ्यांक हेर्दा बिदेसिने विद्यार्थीको संख्या बढ्दै छ।
गत साउन १ देखि पुस १४ गतेसम्म ४६ हजार सात सय ८५ जनाले एनओसी लिएका छन्। चालु आवको अन्त्यसम्म पुग्दा यो संख्या अघिल्लो वर्षको भन्दा बढी हुने अनुमान घिमिरेको छ। ‘दैनिक औसत चार सय हराहारी विद्यार्थीले एनओसी लिने गरेका छन्।
हुन त एनओसी लिने सबै विदेश जाँदैनन्। तर पनि यसले बिदेसिन खोज्ने प्रवृत्ति बढ्दो देखाउँछ’, घिमिरेले भने ,‘आश्चर्यको कुरा नेपालमै पढाइने विषय पढ्न पनि विदेश जाने गरेको देखियो, जुन चिन्ताजनक छ।’
उनले अगाडि थपे मन्त्रालयमा दर्ता भएका विदेशी कलेजले समेत त्यहाँको शिक्षा यहाँ उपलब्ध गराइरहेकै छन् तर पनि नेपाली विद्यार्थीमा विदेश मोह बढ्दै जानु चिन्ताजनक नै हो। कक्षा १२ मात्र पास भएका विद्यार्थीको एक हातमा शैक्षिक योग्यताको प्रमाणपत्र र अर्को हातमा विदेशको भिसा छ। विद्यार्थी सानै उमेरमा शिक्षासँगै अवसरका लागि विदेश जान खोजेको यसले बुझाउँछ।’
शाखाको तथ्यांक अनुसार आव २०८०/८१ को एनओसी तथ्यांकले सबैभन्दा धेरै विद्यार्थीको रोजाइ जापान, क्यानाडा, अस्ट्रेलिया, अमेरिका, बेलायत र कोरिया देखाएको छ। उक्त अवधिमा एनओसी लिएका एक लाख १२ हजार पाँच सय ९३ जनामध्ये जापानका लागि ३४ हजार सात सय ३१ छन्। त्यसपछि क्यानडा १५ हजार नौ सय ८२, अस्ट्रेलिया १४ हजार तीन सय ७२, बेलायत १३ हजार तीन सय ३९, अमेरिका ११ हजार दुई सय ६१ र कोरियाका लागि ६ हजार ८ सय ८९ जनाले एनओसी लिएका छन्।
यसैगरी आर्थिक वर्ष २०७९/८० मा एक लाख दुई हजार ६ सय १० थान एनओसी जारी भएको देखिन्छ। जसमध्ये सबैभन्दा धेरै २८ हजार ७९ जनाले अस्टे«लियामा उच्च शिक्षा अध्ययनका लागि एनओसी लिएका थिए।
यसैगरी सोही वर्ष क्यानाडा पढ्न जानका लागि २० हजार आठ सय १० जनालो एनओसी लिएका थिए। त्यस्तै चार हजार ९८ जनाले अमेरिका, १० हजार दुई सय ८० जनाले बेलायत र २१ हजार ६ सय ४१ जनाले जापानका लागि एनओसी लिएको देखिन्छ।
आव २०७७/७८ मा २८ हजार दुई सय ३९ जनाले विभिन्न देशमा जान एनओसी लिएका थिए। त्यस वर्ष पनि सबैभन्दा धेरै आठ हजार सा सय ७७ जनाले जापानका लागि एनओसी लिएका छन्। त्यस्तै चार हजार ६ सय ६९ जनाले अस्ट्रेलिया, दुई हजार चार सय ७० जनाले बेलायत, दुई हजार चार सय ६८ जनाले क्यानाडा र एक हजार दुईस ६६ जनाले अमेरिकाका लागि एनओसी लिएको देखिन्छ।
त्यस्तै आव २०७८/७९ मा सरकारले ९५ हजार पाँच सय ३२ वटा एनओसी जारी गरेको थियो। त्यस वर्ष अस्ट्रेलियाका लागि ५० हजार ३ सयजनाले एनओसी लिएका थिए। त्यसपछि जापान १६ हजार ६ सय ९५, क्यानाडा पाँच हजार दुई सय ६८, अमेरिका ६ हजार तीन सय ८१, बेलायत पाँंच हजार एक सय ५१ र कोरियाका लागि एक हजार दुई सय ५१ जनाले एनओसी लिएका थिए।
‘एनओसी लिनेहरू धेरैजसो व्यवस्थापन, आइटी, मेडिकल साइन्स, मानविकी, कानुन, नर्सिङ, इन्जिनियरिङ क्षेत्रका विद्यार्थी छन्,’ प्रमुख घिमिरेले भने, ‘अब राज्यले विदेश अध्ययनमा गएकामध्ये कतिले अवसर पाए, कति नेपाल फर्किए, कति उतै बसे भन्नेतर्फ खोजी गर्नुपर्छ। पहिला हुनेखाने मात्र विदेश अध्ययन गर्न जाने गरेका थिए भने कमजोर परिवारका मान्छे पनि अवसरको खोजीमा जायजेथा बेचेर विदेश जाने गरेको पाइयो। कतिले अवसर पाए त्यो त खोजीको विषय हो।
प्रकाशित: १७ पुस २०८१ ०७:२८ बुधबार