उनलाई कुनै समय हजार रूपैयाँको मुख देख्न पनि मुस्किल थियो। अहिले योमरी र बारा बिक्रीबाटै उनले छिनमै हजारौं कमाउँछिन्, मासिक लाखौं रूपैयाँ। ती र यी दिनको तुलना गर्दा उनलाई आफ्नै जिन्दगी सपनाजस्तै लाग्छ।
यो कथा हो असन, इन्द्रचोकस्थित ‘आकाश भैरव बारा पसल’ की सञ्चालक ४८ वर्षीया मन्दिरा महर्जनको। काठमाडौंको डल्लुमा माइतीघर भएकी मन्दिराको करिब ३४ वर्षअघि इन्द्रचोकका रूपेन महर्जनसँग पे्रम विवाह भयो। पुरानो घर इन्द्रचोक भए पनि बिहेदेखि नै उनको परिवार स्वयम्भूमा रहेको अर्काे घरमा बस्दै आएको थियो।
मन्दिराका केही वर्ष स्वयम्भूकै घरमा बिते। स्वयम्भूमै छोराछोरी जन्मे र ठुला भए। त्यतिबेला उनी घरमा खाना पकाउने, बालबच्चाको हेरचाह गर्ने गर्थिन्। दिउँसो छोराछोरी स्कुल गएका बेला चोकमा उनीसहित अन्य महिलाहरू जम्मा भएर टोपी, मोजा बुन्दै दिन बित्थ्यो। उसो त यो काम उनले माइतीघरमै सिकेकी थिइन्।
नानीहरू हुर्किंदै गए। परिवार धान्ने खर्चको जोहो गर्न धौधौ हुँदै गयो। उनका श्रीमान्को मूर्ति बनाउने कारखानामा सानोतिनो जागिर थियो। मुस्किलले उनको महिनाको दुई हजार रूपैयाँ कमाइ हुन्थ्यो। त्यो कमाइले महिना दिन धान्न मुस्किल थियोे। जुन दिन उनका श्रीमान्को तलब आउँथ्यो, एक बोरा चामल र प्याज किनिहाल्थिन्। यति जोहोले पनि कम्तीमा परिवारलाई महिनाभर दालभात खान पुर्याउनु थियो। दुुःखका दिन जारी थिए। पैसाको दुःखले छाडेको थिएन। आम्दानीको थप बाटो खोज्ने र केही गर्ने उद्देश्यले स्वयम्भूबाट मन्दिरा र उनका श्रीमान् असन मूलघरमा सरे। त्यो सयौं वर्ष पुरानो घर थियो। पानी पर्यो कि चुहिन्थ्यो। खासमा माटोले बनेको उक्त घर बस्न लायक थिएन।
असन बस्न सुरु गरेको केही समयमै मन्दिराका पतिले साथीहरूसँग मिलेर इन्द्रचोक मन्दिरअघि बारा बनाएर बिक्री गर्न थाले। साथीहरूले भने बिचैमा छाडे। आम्दानीको यो बाटो पनि रोकिएपछि यो परिवारलाई थप संकट पर्यो। अब यो दम्पतीले पसल एक्लै खोल्ने विषयमा सोच्न थालिसकेको थियो।
सोहीअनुरूप २०६० सालतिर महर्जन दम्पतीले एक्लै बारा र योमरी पसल खोल्ने सल्लाह गरे। त्यतिबेला मन्दिरा अगाडि सडकमा गएर व्यवसाय गर्ने भन्ने कुरा लाजको विषय थियो। तर त्यति नै बेला, असनको इन्द्रचोक मन्दिर परिसरमा कसैले चिया, कसैले बारा र योमरी बनाएर बिक्री गर्ने गर्थे। उनका पतिले कैयन्ले पसल थापेर आम्दानी गरेको कुरा सुनाएर मन्दिरालाई हौसाए। अन्ततः उनीहरूले एक्लै व्यवसाय गर्ने निर्णय गरे। उनीसँग बारा पिस्ने मेसिन र केही ठुला भाँडा त थिए तर एकै पटक धेरै बारा बनाउन यथेष्ट सामान थिएनन्।
यो पनि पढ्नुहोस्
छुटै हिसाबले व्यवसाय सुरु गरेको पहिलो दिन उनले आधा किलो दाल सिलौटोमै पिसिन् र बारा बनाइन् अनि श्रीमान्लाई इन्द्रचोकमा बिक्री गर्न पठाइन्। पहिलो दिन नै एक सय ८० रूपैयाँ कमाइ भयो। त्यो कमाइले उनी दङ्ङ भइन्। ‘सायद म त्यो दिन सबैभन्दा बढी खुसी भएकी थिएँ,’ उनले भनिन्।
यो उत्साहसँगै उनले व्यवसाय जारी राख्ने निधो गरिन्। तर उनीसँग दाल पिस्ने कुनै नयाँ प्रविधि अथवा मेसिन थिएन। सुरुका दिनमा सिलोटोमै पिस्नुपर्ने बाध्यता थियो। उनको दुःख देखेकी उनकी बहिनीले एक दिन दाल पिस्ने हाते मेसिन ल्याइदिइन्। मन्दिराले रातभरि दाल पिसेर बिहानदेखि बारा बनाउँथिन्। दाल पिस्दा हल्ला भयो भनेर कहिलेकाहीं पति रिसाउँथे। तर उनले काम छोडिनन्। भाग्यले, त्यस चोकमा अरूको भन्दा उनको पसलमा बढी बिक्री हुन थाल्यो। यो देखेर आफन्त र छिमेकीले रिस गर्न थालिसकेका थिए। तिनै ईर्ष्यालु छिमेकीले महानगरलाई खबर गरिदिए। महानगरले त्यहाँ पसल राख्न दिएन।
त्यसपछि उनले इन्द्रचोकनजिकै कोठा भाडा लिएर पसल गर्न थालिन्। भाडाको घरमा ग्राहकको भिड हुन थाल्यो। तर त्यहाँ पनि घरबेटीले भिड भयो भनेर बस्न दिएनन्। त्यसपछि २०७० सालतिर आफैं बसेको गल्लीभित्रको घरमा आफ्नो पसल सारिन्। यति भित्र गल्लीमा ग्राहक आउलान् भन्नेमा आशंका उनमा थियो। तर, उनको आशंका विपरीत चोकको पसलमा जत्तिकै घरमा पनि ग्राहकको भिड लाग्न थाल्यो।
‘मलाई खोज्दै ग्राहकहरू घरमै आइपुग्नुभयो, म छक्क परेँ,’ उनले भनिन्। यसरी पसल चलिरहेकै थियो। २०७२ सालको भूकम्पले इन्द्रचोकको घर भत्कियो। त्यसपछि उनले इन्द्रचोकमा अरूको घर भाडामा लिएर बारा र योमरी बिक्री गर्न थालिन्। केही वर्षमै उनले इन्द्रचोकको पुरानो घर भएको ठाउँमा चार तले नयाँ घर बनाइन्।
यो घर बनाउन करिब एक करोड रूपैयाँ खर्च लाग्यो। नयाँ घर बनेपछि २०७४ सालदेखि फेरि आफ्नै गल्लीभित्रको घरमै बारा र योमरी पसल सारिन्। ग्राहकको जिब्रोमा मन्दिराले बनाएका योमरी र बाराको स्वाद बसिसकेको थियो। यसरी मन्दिरा जता जान्थिन् ग्राहक त्यतै आउने भइसकेका थिए।
यसबीच २०७५ सालमा पतिको मृत्यु भयो। तर मन्दिराले आफ्नो सङ्घर्ष छोडिनन्। छोराछोरी हुर्किंदै गए। अहिले छोरीले क्याम्पस पढाउँछिन् भने छोरा एक निजी कम्पनीमा काम गर्छन्। छोरीको हालै विवाह भयो। अहिले मन्दिरा र छोरा त्यही घरको माथिल्लो तलामा बस्छन्। भुइँ र पहिलो तलामा योमरी र बाराको कारखाना छ, जहाँ दैनिक हजारौंको संख्यामा बारा र योमरी बनाइन्छन्।
यस अवधिमा मन्दिरा र ग्राहकबिच एक आपसमा अन्योन्याश्रित सम्बन्ध बनिसकेको छ। आफूलाई ग्राहकले पछ्याएको र विश्वास गरेको मन्दिरालाई राम्रो हेक्का छ। आफूलाई ग्राहकले नै प्रेरणा दिएको र लगातार व्यवसाय गर्न प्रेरित गरेको बुझेकी मन्दिरा बाँचुन्जेल बारा र योमरी बनाएरै खुवाउने बाचा गर्छिन्। ‘हातखुट्टा चलुन्जेल बनाउँछु, नसकेपछि छोडुँला,’ उनी भन्छिन्।
पेसागत इमानदारीमा उनले कहिल्यै सम्झौता गरिनन्। बारा होस् या योमरी बनाउँदा चाहिने सामान र मेहनतमा कहिल्यै कुनै सम्झौता नगरेको उनी सुनाउँछिन्। आफूले दिने सामान कमजोर नभएकाले ग्राहक स्वतः सन्तुष्ट र आकर्षित भएको उनलाई लाग्छ। ‘मैले बारा–योमरी बनाउने दाल–चामल विशेष ठाउँबाट मात्र किन्छु,’ उनी भन्छिन्।
स्थानीय दुई दिदीहरू उनका सुरुदेखिकै ग्राहक रहेका र तिनै दिदीहरूले सुरुमा मन्दिरालाई सडकमा बारा बनाउँदा लाज नमान्न भन्दै व्यवसायका लागि हौस्याएको उनी स्मरण गर्छिन्। यी दुई दिदीबाहेक अन्य कैयन् नियमित ग्राहकले उनलाई निरन्तर काम गर्न सधैं प्रेरणा दिइरहेका छन्।
यही मेहनत र विश्वासका कारण अहिले उनको कमाइ लोभलाग्दो छ। अहिले आफ्नै घरको पसलमा बनेको बारा र योमरीबाट दैनिक औसत ६० हजार कमाइ हुन्छ। यस हिसाबले मासिक १८ लाख आम्दानी हुन्छ भने वर्षमा दुई करोड १६ लाख रूपैयाँ। कमाएको सबै पैसा भने उनीसँग सञ्चित र नाफा भने हुँदैन। ठुलो आकारको बारा कम मूल्यमा बिक्री गर्दा धेरै नाफा नहुने उनी बताउँछिन्। ‘जति मात्रा दैनिक आम्दानी हुन्छ, उति नै सामान किन्न, कारखानामा काम गर्ने सहकर्मीलाई तलब दिन र इन्धनमा खर्च हुन्छ,’ उनी भन्छिन्।
ग्राहकको सन्तुष्टिलाई उनी सबैभन्दा धेरै महत्त्व दिन्छिन्। त्यसैले उनी ठुलो आकारको बारा र यमोरी बनाएर बिक्री गर्छिन्। तर यसबापत उतिसारो नाफा नहुने उनको कथन छ। ‘पैसा यतै घुमिरहन्छ, मुख्य कुरा ग्राहक खुसी छन्’ उनी भन्छिन्।
दैनिक हजारौं ग्राहक उनको पसलमा पुग्छन्। कोही बारा र अचारको स्वाद लिन्छन्, कोही योमरी र अचारको स्वाद लिएर सन्तुष्ट हुन्छन्।
गुणस्तरमा छैन सम्झौता
मन्दिराको बारा पसलमा ग्राहक त्यत्तिकै झुम्मिएका भने होइनन्। मन्दिराको साढे दुई दशकको निरन्तर मेहनत मुख्य कारण हो।
उत्पादनको गुणस्तरमा कुनै सम्झौता नगरेको प्रसङ्ग उधृत गर्दै उनी भन्छिन्, ‘गुणस्तरीय चामलको पिठोले राम्रोसँग बनेको योमरी मात्र स्वादिष्ट हुन्छ।’ त्यसैले उनले महँगो र राम्रो चामलको पिठोले मात्र योमरी बनाउँछिन्। ‘पिठो पिस्ने आफ्नै मिल छ, एउटै र खास ठाउँबाट दाल चामल मगाउँछु,’ उनले भन्छिन्।
योमरी र बारा ग्राहक अघाउने आकार र आयतनमा हुने भएकाले पनि ग्राहक खुसी हुने गरेको उनी सुनाउँछिन्। ‘कति त एउटै योमरी खाएर अघाउँछन्,’ उनले भन्छिन्।
पहिला बाध्यताले यो व्यवसाय सुरु गरेकी मन्दिरालाई अहिले ग्राहकको मायाले दैनिक खटिरहन पे्ररित गर्छ। व्रत, विवाहदेखि भोजसम्म उनकै बारा र योमरीको माग भइरहन्छ। यही कारण पनि उनको पसल साताभरि नै खुला रहन्छ।
बन्द गरिहालेमा त्यसपछि खोलेको पहिलो भेटमै उनले ग्राहकको गाली खानुपर्छ। यस्तो गाली गर्नेहरू असन बजार घुमेर आउनेहरू बढी हुन्छन्। यिनै ग्राहककै कारण उनी लगभग सातै दिन खट्छिन्।
यो पनि पढ्नुहोस्
राज्य खोज्दै मुसहर समुदाय : न गाँसको टुंगो न बासको ठेगान
‘अस्ति छोरीको बिहेमा पसल बन्द भयो। ढोका खोल्नेबित्तिकै गाली खानुपर्यो,’ उनले भनिन्। मन्दिराका यस्ता पनि ग्राहक छन् जो उनको पसलबाहेक अन्यत्र कतै जान मान्दैनन्। ‘कति ग्राहक त असन बजारमा सपिङको सट्टा बारा–योमरी खाने योजनाले आउँछन्। पसल खुलेन भने उनीहरू दुःखी हुन्छन्,’ उनले भनिन्।
श्रीमान्को मृत्युपछि उनी एकल बनिन्। निरन्तरको व्यस्तताले उनलाई दुःखी बन्न दिएन। व्यवसायको साथले दिन बित्न सहयोग गरेको छ। ‘बिहानदेखि नै व्यस्त हुँदा दिन बितेको पत्तै पाउँदिनँ, नयाँ–पुराना ग्राहकसँग निरन्तर भेट हुँदा रमाइलो लाग्छ,’ उनले भनिन्।
संघर्षसँगै हुर्केका छोरा–छोरी अब सक्षम भइसकेका छन्। एक महिनाअघि छोरीको विवाह भयो। छोरा उनीसँगै बस्छन्। उमेरले ४८ वर्ष पुगेकी मन्दिरा आफ्नो जीवनको आधार काम र सन्तान रहेको बताउँछिन्।
वर्षौंदेखि आफूलाई खोज्दै आउने ग्राहकको मायाले मन जितेको उनी सुनाउँछिन्। ‘मेरै पसलमा बारा–योमरी खाने सोचले आउने हजारौं छन्, उनीहरूलाई कसरी फिर्ता पठाऊँ ? पैसा त जति भए पनि पुग्दैन। ग्राहकको मायाले मलाई बाँधेको छ,’ उनले भनिन्।
२०७५ सालमा श्रीमान्को मृत्यु भएपछि मन्दिराले यो पसल एक्लै सञ्चालन गरेकी छिन्। यो अवधिमा ग्राहकको संख्या र पसलको आयतन दुवै फराकिलो भएको छ। बिहान दश बजेदेखि साँझ सात बजेसम्म मन्दिराको पसलमा ग्राहकको धुइरो लाग्छ। यति भिड हुन्छ कि ग्राहकले लाइनमा बसेर मात्र बारा–योमरी पाउँछन्।
१४ महिलालाई रोजगारी
मन्दिराले रोजगारी दिएकी नरदेवीकी ३५ वर्षीया राधा महर्जनले यो पसलमा काम गर्न थालेको दुइ वर्ष भइसकेको छ। यहाँ जागिर खानुअघि उनी कपडा पसलमा काम गर्थिन्। कपडा पसलमा काम गर्दा उनको नियमित तलब थिएन। कामको मात्राअनुसार आम्दानी निर्धारण हुन्थ्यो। मन्दिराको पसलमा काम गर्न थालेपछि नियमित आम्दानी हुन थालेको राधाले सुनाइन्। यो जागिरले बालबच्चाको पढाइ खर्चसमेत धानेको छ। यो काम गरेबापत उनले मासिक १६ हजार तलब पाउँछिन्। आवश्यकताअनुसार खाजा र अन्य खर्च पनि पाउने गरेको उनले सुनाइन्।
सोही पसलको एक कुनामा अन्डाबारा बनाउन व्यस्त देखिएकी असनकै मिना डंगोलले विगत चार वर्षदेखि नियमित काम गरिरहेको बताइन्। यो काम गर्नुअघि उनी बेरोजगार थिइन्। उनले पनि त्यहाँबाट मासिक १६ हजार कमाउँछिन्। बारा बनाउने काम गर्न थालेपछि सजिलै समय बितेको उनको अनुभव छ। नियमित आउने तलबले आत्मविश्वास बढेको उनी बताउँछिन्। ‘पहिला यत्तिकै समय बिताउँथेँ, अहिले पैसा पनि कमाइ हुन्छ, समय पनि सुटुक्कै बितेको छ,’ उनले भनिन्।
पसलकै अघिपट्टि मन्दिरासँगै अचार र बारा बिक्री गर्न व्यस्त देखिन्छन् इन्द्रचोककै मुना खड्का। उनको यो पसलसँग सम्बन्ध जोडिएको १४ वर्ष भयो। मन्दिरा र उनको पसलमार्फतको सम्बन्ध सिधा जागिरसँग मात्र नभएर आफन्त अर्थात् दिदीबहिनीका रूपमा बढी भएको सुनाइन।
‘जागिरै खान भन्दा पनि दिदीलाई पहिलादेखि नै सघाउँदै आएका छौं। हामी नजिकका नाता पनि हौं,’ उनले भनिन्। ३५ सय रूपैयाँबाट सुरु त्यहाँको आफ्नो कमाइ अहिले धेरै बढेको उनले सुनाइन्।
यी तीन प्रतिनिधि दिदीबहिनीसहित मन्दिराको बारा–योमरी उद्योगमा काममा खट्ने दैनिक १४ जना छन्। जाडोमा बढी माग हुने कारण बढी कामदार हुने र गर्मीमा कामदारको संख्या केही घट्ने गर्छ।
पहिलो स्वाददेखि नै नियमित ग्राहक
गत सोमबार मन्दिराको पसलमा योमरी खाइरहेका बेला भेटिइन् कोटेश्वरकी रन्जना श्रेष्ठ। उनी मन्दिराको पसलमा आउन थालेको पाँच वर्ष भयो। सुरुमा साथीभाइमार्फत थाहा पाएपछि मन्दिराको योमरीको स्वाद लिएकी थिइन्। अहिले पनि उनी असन बजार आयो कि मन्दिराको पसलमा योमरी नखाई फर्किन मनै लाग्दैन। ‘किनमेल सकेर यता पसेँ। यता आएपछि योमरी खाएरै जान मन लाग्छ,’ उनले भनिन्। मन्दिराको पसलमा स्वादिलो ताजा योमरी र सफाइको व्यवस्थापनले खास आकर्षण हुने गरेको श्रेष्ठले सुनाइन्।
योमरी खाइरहेकी अर्की ग्राहक लाम्पाटीकी सलिसा थापा असन बजारमा किनमेल सकेपछि मन्दिराको पसलमा पुग्छिन्। उनी भन्छिन्, ‘बजारमा किनमेल सकेपछि सधैं पस्छु।’ स्वादिलो योमरी र बारा खाँदा मन भरिने गरेको उनले सुनाइन्। ‘सफा पनि छ, मिठो पनि। अरूतिर यति धेरै अनि यति सस्तोमा पाइँदैन,’ उनले भनिन्।
यो पनि पढ्नुहोस्
महिला खेलाडीले सम्हालेको अन्तर्राष्ट्रिय प्रतियोगिता !
रिपोर्टिङको क्रममा मन्दिराको बारा पसलमा अनौपचारिक कुराकानी गर्दै गरेका काठमाडौं जोरपाटीका गोविन्द अधिकारी भेटिए। उनले घरमा लैजानका लागि बारा अर्डर गरिरहेका थिए। अधिकारी र बारा पसलका कर्मचारीहरूबीचको वार्तालाप कुनै परिचित व्यक्ति र आफन्तबीच हुने कुराकानीजस्तो देखिन्थ्यो। तर उनी आफन्त नभएर नियमित ग्राहक थिए। यो पसलमा बन्ने योमरी–बाराको स्वादले नै आफू तानिएको अधिकारी बताउँछन्। ‘माछामासुको लसपस छैन। उहाँहरूको बनाउने तरिका नै भिन्नै छ,’ उनले भने।
मौलिक उत्पादनको प्रवर्धनमा महिला
अर्थशास्त्री कल्पना पौडेलका अनुसार नेपालसहित विश्वभरका महिलाले अनौपचारिक क्षेत्रको आर्थिक गतिविधिमा योेगदान पु¥याएका छन्। तर राष्ट्रिय आयमा समेटिन नसकेका कारण यो योगदानको मूल्यांकन नभएको उनको तर्क छ। अन्तर्राष्ट्रिय तथ्यांकअनुसार कुल उत्पादनको ३५ देखि ४० प्रतिशत अर्थतन्त्र अनौपचारिक क्षेत्रले धानेको छ। पछिल्लो तथ्यांकअनुसार नेपालमा ४१ प्रतिशत अर्थतन्त्र अनौैपचारिक क्षेत्रले धानेको अर्थशास्त्रीहरू बताउँछन्।
नेपालमा जमिनमाथि महिलाको स्वामित्व कम छ। ठुला उद्योगमा महिला सहभागिता न्यून छ। यद्यपि कृषि, स्थानीय उत्पादन, मौलिक खाना, लुुगा तथा अन्य सामग्री उत्पादन गर्ने साना तथा कुटिर उद्योगमा महिला सहभागिता बढी भएको अर्थशास्त्री पौडेल बताउँछिन्।
पौडेलेका विचारमा नेपालबाट युवावर्ग वैदेशिक रोजगारीमा जानुको प्रमुख कारण यहाँका उद्योगधन्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने स्थितिमा नहुनु हो। यस्तो स्थितिमा महिलाहरूले सञ्चालन गरेका साना उद्योेग तथा उत्पादन युवावर्गका लागि रोजगारीको विकल्प बनेको छ।
‘यस्ता उद्योगबाट रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्र बढाउने अबको नीति हुनुपर्र्छ। यसका लागि महिलाले खोलेका साना तथा मौलिक उद्योगलार्ई उठ्न नसक्नेगरी करको दायरामा समेट्नु हुँदैन। करमा समेटिहालेमा सुरुमा कडाइ गर्नु हुँदैन। यसका साथै भविष्यमा साना उद्योग ठुलो स्केलमा जाने सम्भावना देखिएमा राज्यले ऋणको व्यवस्था गर्नुपर्छ,’ पौडेल भन्छिन्।
राज्यले दिने विभिन्न अवसर या कार्यक्रमका विषयमा महिलाहरूमा सूचनाको पहुँच कम हुने र पहुँच भए पनि सुविधा लिने प्रक्रिया नजान्ने समस्या महिला उद्यमीहरूमा रहेको उनी बताउँछिन्। राज्यले अर्थतन्त्र विकासका लागि बनाएका नीति तथा कार्यक्रमका विषयमा सूचनाको पहुँच विस्तार गर्ने साथै आवश्यक सहयोग गर्ने संयन्त्र हुनुपर्ने उनको तर्क छ।
प्रकाशित: १७ पुस २०८१ ०७:०७ बुधबार