२० पुस २०८१ शनिबार
image/svg+xml
समाज

आजदेखि सन् २०२५ आरम्भ: नयाँ वर्ष, नयाँ आशा

जोरपाटीका निश्चल घिमिरेले नेपाली नयाँ वर्ष २०८१ धुमधामसँग मनाए। निजी संस्थामा कार्यरत उनी अंग्रेजी नयाँ वर्ष पनि उत्साहका साथ मनाउने गर्छन्। ‘नयाँ वर्ष नयाँ आशा बोकेर आउँछ,’ उनी भन्छन्, ‘त्यसैले यस्ता उत्सवमा रमाउने गर्छौं ।’ अंग्रेजी वर्ष अहिलेको जीवनको अभिन्न अंग भएको बताउँदै उनले गतेसँगै तारिख पनि याद रहने सुनाए। ‘कहिले तारिखको कुरा हुन्छ, कहिले गतेको,’ उनले हाँस्दै भने, ‘त्यही भएर नेपाली क्यालेन्डरमा पनि अंग्रेजी तारिख राखिएको होला।’

निश्चलले जस्तै अन्यले पनि नयाँ वर्ष धुमधामसँग मनाउने योजना सुनाए। नेपाली संस्कृतिलाई माया गर्ने उनीहरू अंग्रेजी नयाँ वर्ष पनि सँगसँगै हिँडेको सुनाउँछन्। ‘म नेपालमा बसेर विदेशको काम गर्छु,’ सफ्टवेयर इन्जिनियर कुमार दवाडी भन्छन्, ‘मलाई त अचेल गतेभन्दा तारिख बढी याद हुन्छ।’

कास्की घर भई हाल काठमाडौं बस्दै आएका रोशन गुरुङ पनि जुनसुकै समुदायको भए पनि नयाँ वर्षले खुसी दिने सुनाउँछन्। सोमबार टुँडिखेलमा गुरुङ समुदायको नयाँ वर्ष तमू ल्होसारमा रमाएका उनी बुधबारको अंग्रेजी नयाँ वर्ष विशेष बनाउन योजना बुन्दै छन्।

‘पोहोर हामी नयाँ वर्ष मनाउन नगरकोट गएका थियौं,’ उनले भने, ‘यसपटक राजधानीमै रमाउने योजनामा छौं ।’ नयाँ वर्षको अघिल्लो दिन दरबारमार्ग क्षेत्रमा रमाएका उनी नयाँ वर्षका दिन साथीभाइसँग घुम्न निस्कने सुनाउँछन्। ‘नयाँ वर्षले नयाँ बाटो पनि देखाउँछ,’ उनले भने, ‘यो वर्षले पनि खुसी दिने विश्वास बोकेका छौं।’

आम मानिसमा पनि नयाँ वर्ष भन्नासाथ खुसी र उमंग सञ्चार हुन थाल्छ। उत्सवका रूपमा मनाइने भएकाले नेपाली लोक जीवनमा नयाँ वर्षको विशेष स्थान छ। नयाँ वर्ष मनाउने सबैको आ–आफ्नै तरिका भए पनि यो उत्सव शुभ होस् भन्ने साझा उद्देश्यका साथ मनाइन्छ। यो मानव वा कुनै पनि संघसंस्थाले गरेका वर्ष दिनको कामको समीक्षा पनि हो। त्यसैले यो दिनमा विगतबाट पाठ सिक्दै वर्तमान राम्रो बनाउन प्रयत्न गरिन्छ।

क्रिसमसको रमझम सकिन नपाउँदै अंग्र्रेजी नयाँ वर्ष २०२५ को स्वागतमा उनीहरूजस्ता थुप्रै किशोरकिशोरीले नाचगान र पार्टीमा सहभागी हुने योजना सुनाए। विदेशी पर्यटकको चहलपहल हुने ठमेल, दरबारमार्गका होटेल–रेस्टुरेन्टले मात्र होइन, सपिङ मलहरूले पनि मंगलबार साँझबाटै ‘न्यु इयर इभ’का लागि विशेष कार्यक्रमहरू गरे। यस्ता कार्यक्रममा युवापुस्ता, त्यसमा पनि किशोरकिशोरीको सहभागिता उल्लेख्य थियो। न्यु इयर इभ’मा तारे होटेलहरूले कलाकारको सहभागितामा सांस्कृतिक प्रस्तुति पनि राखे।

पश्चिमा संस्कृतिले केही वर्षयता नेपाली युवा पिँढीलाई आकर्षित गर्दै आएको छ । रमाइलो गर्ने र खुसी साट्ने कुनै पनि अवसरलाई उनीहरू छुटाउन चाहँदैनन् । अंग्रेजी नयाँ वर्षको थालनी खासमा मार्च २५ बाट भएको थियो, जुन क्रिस्चियन पर्व अनुन्सिएसन हो । पोप ग्रेगोरियन १३औंले ग्रेगोरियन पात्रो सुरु गरेपछि नयाँ वर्षलाई जनवरी १ मा सारिएको हो।

अचेल संसारभरिका मुलुकले ग्रेगोरियन पात्रो चलाउँछन्। नेपालमै पनि धेरैले नेपाली र अंग्रेजीलाई अपनाउँछन्। अझ अन्तर्राष्ट्रिय सम्पर्क र सम्बन्धका हिसाबले यो पात्रोको प्रयोग नियमित मात्र हुँदैन भूमण्डलीकरणका प्रभाव पनि यसमा छ। विश्व एउटा गाउँमा अनुदित भएको यो समयमा संसारको गतिसँग नेपालको लय हुनु स्वाभाविक हो।

‘अहिले चाँडपर्व सबैको साझा बन्दै गएका छन्,’ उद्भव निरौला भन्छन्, ‘यही नै नेपाली समाजको पहिचान हो।’

कतिपय भने पश्चिमा संस्कृतिले नेपाली संस्कृतिलाई ओझेलमा पार्दै गएकोमा चिन्ता व्यक्त गर्छन्। ‘नेपाली नयाँ वर्ष नमाउनेहरू पनि अंग्र्रेजी वर्षमा रमाएका देखिन्छन्,’ प्रभात अधिकारी भन्छन्, ‘जुनसुकै संस्कृतिमा रमाए पनि आफ्नो मूल बिर्सनुहुँदैन।’

मानवशास्त्रीहरू पनि पछिल्लो समयमा समाज सहिष्णु बन्दै गएको सुनाउँछन्। त्रिभुवन विश्वविद्यालय केन्द्रीय मानवशास्त्र विभागका प्रमुख प्राध्यापक विनोद पोखरेल पछिल्लो समय समाज ‘ग्लोबल भिलेज’का रूपमा विकसित हुँदै गएको र यसले सबै धर्म तथा जातका संस्कृतिलाई स्विकार्न थालेको बताउँछन्। ‘आयातित भन्ने कुरा हटिसकेको छ, सबैले सबैका पर्वलाई स्विकार्न थालेका छन्,’ उनले भने, ‘भूमण्डलीकरणसँगै समाजमा स्वीकार भाव विकसित भएको छ।’ यस्तोमा नेपालीले अंग्र्रेजी नयाँ वर्ष मनाउनु कुनै नौलो कुरा नभएको उनको बुझाइ छ।

नेपालमा विभिन्न किसिमका नयाँ वर्ष मनाइन्छन्। ती मध्ये विक्रम संवत् एक हो। नेपालको राष्ट्रिय पात्रो पनि हिन्दु पञ्चांगमा आधारित विक्रम संवतनुसार छ। यो इस्वी संवत्को पात्रो भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि छ। विक्रम संवत् नेपालमा आधिकारिक रूपमा चन्द्र शमशेरको पालामा सुरु भएको हो।

धर्मसंस्कृति विज्ञ डा. नारायण गौतमका अनुसार हामीकहाँ नयाँ वर्षले धार्मिक स्वरूप मात्र ग्रहण नगरी सामाजिक प्रचलनलाई समेत अँगालेर समाजमा नयाँ उत्साह सञ्चार गराउँदै आएको छ। आफ्नो परम्परा, धर्म, संस्कृति एवं सभ्यताको रक्षाका लागि नयाँ वर्ष मनाउनु त छँदै छ, त्यसबाहेक वर्षभरिका तितामिठा पलहरूलाई बिसाएर नवीन उत्साहका साथ नयाँ दिन थाल्ने र सुरुको दिन राम्रो बनाएपछि वर्षभरि नै राम्रो हुने विश्वास बोकेर नयाँ वर्ष मनाउनुपर्ने उनको बुझाइ छ।

त्यसैगरी नेपाल संवत्लाई नेपालको मौलिक संवत् पनि मानिन्छ। यसको सुरुआत शंखधर साख्बाले गरेका थिए। यो संवत् नेपालमा चन्द्रशमशेर राणाको कार्यकालसम्म औपचारिक रूपले प्रचलनमा रह्यो। यो संवत्को पहिलो दिन विक्रम संवत्को कात्तिक शुक्ल पक्ष प्रतिपदाका दिनमा हुन्छ। यो दिनलाई विशेषतः नेवार समुदायले न्हुदँ अर्थात् नयाँ वर्षका रूपमा मनाउने गर्छन्।

त्यसै गरी तामाङ, शेर्पा, गुरुङ, थकाली आदि जातिले नयाँ वर्षको आरम्भका रूपमा मनाउँछन्। ‘ल्होसार’ शब्दमा ‘ल्हो’को अर्थ वर्ष वा साल हुन्छ भने ‘छार’ वा ‘सार’को अर्थ नयाँ भन्ने हुन्छ। यसैले ल्होसारको अर्थ नयाँ वर्ष वा नयाँ साल भन्ने हुन्छ। ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात् वर्ष बाह्रवटा भएको विश्वास गर्छन्। नेपालमा ल्होसार पनि तमू, सोनाम र ग्याल्पो गरी तीन प्रकारका छन्। यी ल्होसार फरक–फरक समयमा मनाइन्छन्।

इस्लाम क्यालेन्डर वा मुस्लिम क्यालेन्डरअनुसार हिजरी संवत् मनाइन्छ। यो चन्द्रमानमा आधारित क्यालेन्डर हो। इस्लामिक धार्मिक पर्व यसै पात्रोअनुसार मनाइने हुँदा यो संवत् इस्लामिक मुलुकहरूका साथै विश्वभर छरिएर रहेका मुस्लिमहरूले जानकारीमा राखेका हुन्छन्। हजरत मुहम्मद मक्काबाट मदिना फर्किएको दिनदेखि हिजरी संवत् सुरु भएको मानिन्छ। नेपालमा पनि मुस्लिम समुदायले यो संवत् मनाउने गरेका छन्। ‘समग्रमा नयाँ वर्षहरूले नयाँ उत्साह र खुसी दिन्छन्,’ डा. नम्रता पाण्डे भन्छिन्, ‘एकअर्कालाई सम्मान गर्दै नयाँ वर्ष मनाउँदा समग्र मानव जीवन उत्सवमय बन्नेछ।’

प्रकाशित: १७ पुस २०८१ ०६:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App