काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विकासका राम्रा कामको नेतृत्व गरेको चर्चा भइरहे पनि बजेट खर्चको मामलामा महानगर कमजोर देखिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा महानगरले मात्र १६ प्रतिशत बजेट खर्च गर्न सकेको छ।
महानगरले चालु आवका लागि कुल २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो। तर, पुस पहिलो सातासम्म चार अर्ब एक करोड चार लाख ५६ हजार रुपैयाँ मात्र खर्च भएको छ। यो कुल विनियोजनको करिब १६ प्रतिशत हो। चालु खर्चतर्फ २३.५८ प्रतिशत र पुँजीगत खर्चतर्फ १०.९२ प्रतिशत मात्र खर्च भएको छ।
राजस्व संकलनमा पनि लक्ष्यअनुसार छैन प्रगति
महानगरले चालु आवमा १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर, पुस दोस्रो सातासम्म जम्मा चार अर्ब नौ करोड ८९ लाख ३६ हजार रुपैयाँ मात्र उठाउन सकेको छ।
- आन्तरिक राजस्व: दुई अर्ब ६१ करोड ५५ लाख ४३ हजार
- राजस्व बाँडफाँड: ५९ करोड ८९ लाख ४१ हजार
- सशर्त अनुदान (संघ र प्रदेश सरकार): ८८ करोड ४४ लाख ५१ हजार
खर्चको तुलनामा राजस्व बढी भए पनि लक्ष्यअनुसार संकलन हुन नसकेको महानगरले स्वीकार गरेको छ।
लक्ष्यअनुसार बजेट खर्च गर्न नसकेपछि महानगरले बजेट संशोधनको प्रक्रिया अघि बढाएको छ। नगरसभाको १६औँ अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले चालु आवको बजेट र कार्यक्रम संशोधनको प्रस्ताव अघि सारेकी छन्।
बजेट खर्च र राजस्व संकलनमा देखिएको यो कमीले महानगरको योजनामा पुनःनिर्धारण र प्राथमिकतामा परिवर्तन आवश्यक रहेको देखाएको छ।
प्रकाशित: १५ पुस २०८१ १७:२२ सोमबार