११ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

बेरोजगारीले विक्षिप्त युवा: बुबा र भाइ मारे, आफू मर्न खोजे !

बालकोट घटना

आमाबाबुले छोरामा देखेको ‘सरकारी जागिरे’ सपना जब पूरा हुन्न बुबा डिप्रेसनमा जान्छन् । त्यो देखेको बेरोजगार विक्षिप्त छोरो कतिसम्म अन्धो हुन्छ भने मृत्युमा मात्रै ‘शान्ति र समाधान’ देख्छ ।

प्रसङ्ग भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित फिकाधारा घटनाको हो । सोमबार फिकाधाराको डेरा गरी बस्ने खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्य डेराभित्रै मृत फेला परेका थिए । जुन घटनाले अहिले धेरैको मुटु हल्लाइरहेको छ । 

उक्त हत्या आचार्यका जेठा छोरा मिलनले गरेको खुलेको छ । मङ्गलवार बिहान प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरेपछि मिलनले बुबा र भाइको हत्या आफूले गरेको स्वीकारेका छन् । 

यो घटनाको प्रारम्भिक अनुसन्धान गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सानुराम भट्टराई मिलनबाटै बुबा र भाइको हत्या भएको बताउँछन् ।  ‘सँगै बस्ने एक छोरा(मिलन) बेपत्ता छन् । बुबा र भाइको हत्या भएको छ । त्यसैले सुरुदेखि नै उनीमाथि नै हाम्रो आशङ्का थियो,’ उनले भने, ‘पक्राउपछि उनी आफैले स्वीकार गरेका छन् । अन्य प्रमाणले पनि उनीबाटै हत्या भएको देखाइरहेका छन् ।’ 

हत्याको कारणमा मिलनले प्रहरीलाई दिएको बयान यो समाचारको सुरुवात भनिएको ब्यहोरा देखिन्छ । प्रहरीलाई दिएको प्रारम्भिक बयानमा मिलनले आमाबाबुले छोराहरू सरकारी जागिर खाएको हेर्न चाहन्थे । उनका बुबा कुलप्रसाद(मृतक) स्वयं सरकारी जागिरे हुन् । उनी जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त प्रमुखसमेत रहेको प्रहरी बताउँछ । 

कुलप्रसादले मिलनलाई लोकसेवा तयारी गराउन र प्रवीणलाई बिएस्सी पढाउन बालकोटमा डेरा गरी बसालेको देखिएको छ । कुलप्रसाद छोराहरूलाई भेट्न केही दिन अघि मात्रै खोटाङबाट आएको प्रहरी अनुसन्धानले देखाउँछ । 

मिलनले स्नातक उत्तीर्ण गरेका छन् । स्नातकपछि उनले आमाबाबुको चाहना अनुरूप ६/७ पटक खरिदार र नायब सुब्बाको लोकसेवा परीक्षा पनि दिएको बयान दिएका छन् । ‘यत्रो समय परीक्षा दिँदा आफू सफल नभएपछि बुबा डिप्रेसनको बिरामी भएको मिलनले भनिरहेको छ,’ एसएसपी भट्टराईले भने, ‘भाइ(प्रवीण) पनि कुलतमा लागेकाले आमाबाबुको सपना उसबाट पनि पूरा नहुने देखेपछि आफूलाई तनाव भएकाले घटना घटाएको बयान छ।’ बुबा कुलप्रसादले पनि खोटाङमै एक पटक आत्महत्याको प्रयास गरेको बयान मिलनले प्रहरी समक्ष दिएका छन् । 

एकातिर बुबा डिप्रेसनमा, अर्कातिर आफू बेरोजगार, जत्ति प्रयास गर्दा पनि लोकसेवामा नाम निस्किएन । भाइ पनि कुलतमा लागेर बाटो बिराएको लागेपछि एकमुस्ट शान्ति र मुक्तिका लागि सबैलाई मारेर आफू पनि मर्न चाहेको मिलनले प्रहरीसमक्ष प्रारम्भिक बयान दिएका छन् ।

हत्या गर्दा पनि मिलनले योजना बनाएरै बुबा र भाइलाई मारेको बताएका छन् । उनले गत दसैँमा घर गएका बेला आमाबाबुलाई उतै मार्ने अनि आफू मर्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएका छन् । 

यस पटक बुबा भक्तपुर आएको मौका छोपेर भाइसँगै मारेको र आफू मर्न भक्तपुरको बिरुवातर्फ लागेको बयान दिएका छन् । घटना उनले शनिवार रातिको हो । आइतबार बिहान ३ बजे उनी स्कुटरमा चढेर निस्किएको देखिएको छ । 

बिरुवा पुगेर गलबन्दीको पासो लगाएर रुखमा झुन्डिएर फुत्किएर बाँचेको बयान दिएको प्रहरीले जनाएको छ । त्यसपछि ‘आमा ज्युँदै छन् रेखदेख गर्नुपर्छ भन्ने लागेर’ नमरेको बयान दिएको अनुसन्धानमा खटिएका अधिकारी बताउँछन् । 

त्यहाँबाट दिनभर भक्तपुर दरबार स्क्वायर गएर बिताएको प्रहरी समक्ष बयान दिएका छन् । आइतबार राति र सोमबार राति बसेको ठाउँबारे भने उनले प्रहरीका फरक–फरक ठाउँमा फरक–फरक बयान दिएका छन् । महाराजगन्ज वृत्तमा उनले आफू पशुपति गौशालामा रात बिताएको भनेका छन् भने, अपराध अनुसन्धान कार्यालयमा पुगेर चाबहिलको एक होटेलमा बसेको भनेका छन् । 

अपराध अनुसन्धान कार्यालयले मङ्गलवार बिहान मिलनले महाराजगन्ज वृत्तमा पुगेर आत्मसमर्पण गरेको बयान दिएको बताएको छ । तर, महाराजगन्ज वृत्त र जिल्ला प्रहरी परिसर, काठमाडौंले भने उनी पक्राउ परेको जनाएको छ । 

‘हाम्रो रेकीअनुसार महाराजगन्जको भाटभटेनीमा उनी भेटिएका हुन् । त्यहीँ हामीले पक्राउ परे लगत्तै उनले बुबा र भाइको हत्या स्वीकारेका थिए,’ एक जना प्रहरी अधिकारीले भने । 

मिलन पक्राउ परेपछि उनलाई थप अनुसन्धानसहित कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भक्तपुरको जिम्मा लगाइएको छ । भक्तपुर प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक(एसपी) माधवप्रसाद बुढाथोकीले उनलाई ठिमी वृत्तको हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए । 

‘प्रारम्भिक बयानमा उनले हत्या स्वीकारेका छन् । हत्याको कारण पनि खुलाएका छन्,’ एसपी बुढाथोकीले भने, ‘तर, ती कारणको तथ्य जाँच भने भइसकेको छैन । त्यही कारण हुन कि थप अन्य कारण पनि छन् भनेर अनुसन्धानबाट खुलेपछि मात्रै भन्न सकिन्छ ।’ 

एसपी बुढाथोकीका अनुसार मिलन बाहिरी किसिमले धेरै अस्वस्थ भने देखिन्नन् । ‘हेर्दा तन्दुरुस्त नै छन् । बोली, व्यवहार हेर्दा सामान्य देखिन्छन् । मानसिक अवस्था कस्तो छ ? मेडिकल रिपोर्ट आएपछि थाहा होला,’ उनले भने।

प्रकाशित: ९ पुस २०८१ १७:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App