११ पुस २०८१ बिहीबार
image/svg+xml
विचार

गगनसँगको जनअपेक्षा

टाकुरामा पुग्न जति सजिलो होला, त्यहाँ टिक्न त्योभन्दा चुनौतीपूर्ण हुन्छ। व्यक्तित्वको उचाइ पाउने र जोगाउने सवालमा यही मान्यता लागु हुन्छ। भविष्य बोकेका जुनसुकै राजनीतिज्ञका लागि सफलताका अवसर र योग्यता जाँच्ने चुनौती आइरहन्छन्। योग्य र कुशल नेताले हरेक चुनौतीलाई अवसरका रूपमा लिन्छ भने नालायक नेताले हरेक अवसरलाई चुनौतीका रूपमा बुझ्छ।

मानवीय मूल्य र मान्यताको राम्रो सुझबुझ भएका नेताका निम्ति कुनै मान्छे पनि अयोग्य हुँदैन, आफू अनुकूल बनाएर अगाडि बढ्ने निरन्तर चेष्टा लिइरहन्छ। संस्कृतमा श्लोक छ– नमन्त्रम् अक्षरं नास्ति, नास्ति मूलम् नऔषधम्/अयोग्यः मनुष्य नास्ति योजक तत्र दुर्लभः। (मन्त्र नभएको अक्षर हुन्न, औषधि नहुने जरो हुँदैन, कुनै व्यक्ति अयोग्य हुँदैन, योग्य संयोजकको चाहिँ अभाव हुन्छ)।

यी पंक्तिको सन्दर्भ, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई उदाहरणमा राखेर नयाँपुस्ताका उदाउँदा र होनहार नेताहरूको कुशलता र सफलताको चर्चा गर्ने प्रयास हो।

नेतृत्वकर्ता पात्र र प्रवृत्ति (चरित्र) कै परिवर्तन जनताले खोजेका हुन्, अनुहारमात्र होइन भन्ने वास्तविकता नवोदित पार्टीका उदीयमान नेताहरूले निर्वाचनद्वारा संसद्, संघीय, प्रदेश र स्थानीय सरकारहरूमा सहभागी हुन पाएको अवसरले नै बताउँछ। ठूला पार्टीहरूभित्र पनि पुरानो पुस्ता क्रमशः किनारीकृत र नयाँपुस्ताको उदय व्यापक हुँदैछ। तर वैकल्पिक शक्तिका रूपमा आशा गरिएका नवोदित पार्टीहरूले जनअपेक्षा अनुरूपका व्यवहार र चरित्र प्रदर्शन गर्नुको सट्टा ठूला पार्टीका नेताहरूको भन्दा गतिछाडा व्यवहार देखाउन थालेपछि जनताको ध्यान पुरानै पार्टीहरूतिर फर्किन थालेको यथार्थ, गत मंसिर १६ गतेको उपनिर्वाचन परिणामले पनि पुष्टि गर्दछ।

सबै पार्टीमा धेरै युवानेताको उदय भइरहेको छ। समकालीन युवानेताहरूमध्ये सर्वाधिक अग्लो व्यक्तित्वका रूपमा नेपाली काँग्रेसका महामन्त्री गगन थापा भएको तथ्य, विभिन्न मत सर्वेक्षणबाट पुष्टि हुँदैआएको छ। उनलाई नयाँपुस्ताले सेलिब्रेटीका रूपमा पनि लिने गर्छन्। गगन सम्बन्धित विषयवस्तुमा गहिरो ज्ञान राख्छन्, ज्ञानलाई जनताको चित्त बुझ्ने गरी व्यक्त गर्नमा अब्बल मानिन्छन्।

मुलुक बनाउनका लागि यस्ता नेता धेरै खोजेर पाइन्न। योग्यताबिहीन धेरै नेता हुनु पनि अभिशाप नै हुन्छ। ‘नेता नै नहुनुले नास गर्छ तर धेरै नेता हुनुले पनि नास गर्छ’ (अनायकः नष्यति नष्यन्ति बहुनायकाः) भन्ने संस्कृतको हितोपदेषझैँ राष्ट्रलाई सार्थक र सफल नेतृत्व दिने सवालमा धेरै नेता हुनु तर उनीहरूलाई कुनै न कुनै भ्रष्टाचार, आपराधिक गतिविधि तथा कुशासनको कारणी वा संरक्षक भएको गम्भीर दोष लाग्नुले परिवर्तन नै अभिशापसिद्ध भएको भुक्तभोगी नेपाली जनता नै छन्।

यस प्रसंगमा महामन्त्री थापाका पनि कमीकमजोरी नदेखिएका होइनन्। नेता सर्वगुण सम्पन्न भगवानको अवतार जस्तो हुनुपर्छ भनेको होइन। मानवोचित कमी–कमजोरी सबै मानिसमा मात्रात्मक रूपमा हुनु स्वाभाविक कुरा हो। जसलाई सहजरूपमा लिनुपर्छ। तर नेताको साख र जनविश्वास नै तलवितल वा घात पर्नेखालका कमी–कमजोरी वा दोषलाई निजले नै नियन्त्रण गर्नु अनिवार्य हुन्छ।

केही उदाहरण सम्झौँ। गगनले सार्वजनिकरूपमा बोल्दा पूर्वराजा ज्ञानेन्द्रलाई ‘मूर्ति चोर’ भन्नेसम्मको दोष लगाए। सबभन्दा ठूलो र जिम्मेवार पार्टीको जिम्मेवार पदाधिकारी नेताले सार्वजनिकरूपमा बोल्दा प्रमाणबिहीन झुटो अभिव्यक्ति दिएर आफ्नो उचाइ खस्ने असावधानी देखाउनु हुँदैनथ्यो।

जसरी गगनजीलाई कुनै अभियोग वा दोष लगाउने ठाउँ नपाएपछि कपोलकल्पित ‘बाख्राकाण्ड’ को लाञ्छना भिराएर चरित्रहत्या गर्ने र बेदाग छवि बिगार्ने खतरनाक षड्यन्त्रका खेताला सल्बलाइरहेका छन्, त्यही स्तरको लाञ्छना ज्ञानेन्द्रमाथि थोपर्नुले गगनका लागि प्रत्युत्पादक अभिव्यक्ति हो। उनीजस्तो उचाइ भएको जिम्मेवार व्यक्तित्वले व्यक्ति विशेषलाई एकोहोरो विरोध गर्नु पनि शोभनीय मानिन्न।

अमेरिकी अनुदानसम्बन्धी एमसीसी सम्झौता संसद्बाट पारित गरेको समयमा पनि उनले बोलेका कुरामाथि व्यापक आलोचना भएको थियो। आवश्यकताभन्दा बढी वा अवाञ्छित प्रतिबद्धता र स्पष्टीकरण दिने कमजोरीबापत स्वतः परिणामका रूपमा आलोचना गुञ्जियो। शेरबहादुर देउवाको खुबी भन्नु, उनी सार्वजनिक रूपमा व्यक्तिविशेषको विरोधमा आक्रामक अभिव्यक्ति दिँदैनन्। त्यसैले जनस्तरमा जतिसुकै आक्रोश र विरोध भएपनि राजनीतिक वृत्तमा उनी नै सहज पात्र मानिन्छन्।

गगनले राजनेताका रूपमा नेपालको राष्ट्रिय नेतृत्व सम्हालेको हेर्न चाहने विशाल जमात काँग्रेसभित्र र देशव्यापीरूपमा तयार भइसकेको छ। कांग्रेसका अर्का लोकप्रिय महामन्त्री विश्वप्रकाश शर्माले समेत ‘नयाँपुस्ताबाट हुने प्रथम प्रधानमन्त्री’ का रूपमा सार्वजनिक अभिव्यक्तिद्वारा स्वीकार गरिसकेकाले गगनका प्रतिस्पर्धी काँग्रेसमा हाललाई कोही देखिएका छैनन्। तर काँग्रेसभित्र र कांग्रेसबाहेकका पार्टीहरूबाट उनीमाथि शाब्दिक हमला, खुट्टा तान्न र बदनाम गर्ने षड्यन्त्र लरतरो छैन।

षड्यन्त्रका कन्सल्ट्यान्टहरू उनको राजनीतिक जीवन विसर्जन गरिदिने योजना बोकेर कुदिरहेका छन्। यति हुँदा पनि उनको लोकप्रियता डग्मगाएको छैन।

राष्ट्रलाई सार्थक र सफल नेतृत्व दिनसक्ने चिन्तन, दृष्टिकोण र आत्मविश्वास बढ्दै गएका गगनजस्ता नेताले जनसम्पर्कलाई व्यवस्थित र प्रभावकारी बनाउनु जरुरी छ। निजी स्वार्थका लागि सम्पर्क गर्न खोज्नेहरूको गुनासोलाई छाडौँ, निस्वार्थी र शुभेच्छुक, महत्वपूर्ण व्यक्तिहरू समेत फोन सम्पर्क हुन नसकेको गुनासो कहिलेकाहीं होइन, बारम्बार व्यक्त गरिरहन्छन्। उनले बिपी कोइरालाले बनाएको राजनीतिक मार्गचित्रबाट देश र काँग्रेस पार्टीलाई नेतृत्व दिन तयार हुनु जरुरी छ।

२०३८ सालमा केही खुकुलो, उदार र लचिलो नीति लागु भएपछि बिपी कोइरालाले पनि आफ्नै नाममा पत्रिका दर्ता गर्ने क्रममा त्यसको औचित्यबारे भन्नुभएको थियो– “नेतृत्व गर्नेले निरन्तररूपमा जनतालाई आफ्नो उपस्थितिको आभास दिइरहनुपर्छ।”

नेता असल छ तर ढुङ्गाखानीभित्र हिरा लुकेझैँ लुकेर बस्नु नेताको कमजोरी ठहर्छ। नेता खुला किताब हो। राजनेता व्यक्तिमात्र होइन, संस्था नै हो। उसको रहनसहन, बस्त्र, बोली, शारीरिक भाषा आदि अरूका लागि शिक्षा, प्रेरणा र अनुकरणको स्रोत हुन्छ।

प्रसिद्ध राजनेताहरूले समाजका अतिसामान्य मानिससँग हेलमेल गरेको, उनीहरूका बालबच्चा बोकेको वा झुपडीको चुलोमा पाकेको खाना खाएको जस्ता गतिविधि गरेर आफू जनसाधारणकै बीचमा भएको सन्देश र प्रभाव दिन्छन्।

देशमा नेताहरूको खाँचो छैन तर राष्ट्रको आवश्यकता बोकेर हिँड्नसक्ने नेता नगण्य छन्। वर्षौँसम्म जेल बसेका धेरै नेताले पनि आफ्नो साख, छवि र जनविश्वास जोगाउन सकेनन्। उनीहरूले आफूमा निहित कमी–कमजोरी र खोटलाई बेलैमा सच्याउन सकेनन् वा चाहेनन्।

जनताले आशा–अपेक्षा गरेका कतिपय नेताको भित्री नियत उदाङ्ग भएर प्रहरी हिरासत वा जेलको हावा खाएर बसिरहेको परिस्थितिमा सबै पार्टीका गगनजस्ता नयाँ पुस्ताका स्वच्छ छवियुक्त नेताहरूले देशको जिम्मेवारी सम्हाल्नु जरुरी छ।  

२००७ सालदेखि आजसम्म हेर्दैआउँदा जसोतसो सत्ता हस्तान्तरण मात्र हुँदैआयो, रूपान्तरण र पुस्तान्तरण हुन सकेन।

सधैँभरि मुलुक यथास्थिति र हचुवाको भरमा चलिरहन सक्दैन। जिम्मेवारी र दोष अन्यत्र पन्छाउने, श्रेय र अवसरमात्र आफू खोज्ने, बहानाबाजी र दिग्भ्रमित पारेर गफ मात्र गर्ने प्रवृत्तिमा वशिभूत भएको नेता अब स्वीकार्य हुँदैन। त्यसैका लागि उपलब्धमध्ये जो सर्वमान्य, लोकप्रिय र आशालाग्दो छ, उसैले मुलुकको दुरावस्था सम्हाल्नु आवश्यक छ। त्यसका लागि गगन थापाभन्दा अग्लो व्यक्तित्वको युवानेता अरू देखिएनन्। तर गगनले आफूमा रहेका कमीकमजोरी र खोटलाई सच्याएमात्र त्यस्तो गम्भीर अभिभारा बहन गर्न सक्छन्।

प्रकाशित: ११ पुस २०८१ ०५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App